छुसाङ–चैले पुलमा क्षति

समाधान संवाददाता २०७६ भदौ २ गते १३:३३

एसके थकाली
जोमसोम

कालीगण्डकी नदी कटानका कारण भदौ १ गते उद्घाटन गर्ने तय भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुस्ताङ गेट स्थित छुसाङ–चैले पक्की मोटरेबल पुलमा क्षति पुगेको छ । शुक्रबार राति कालीगण्डकी नदीको पानीको वाहव उच्च हुँदा बन्दै गरेको पुलको आरसिसी पुल जोड्ने एप्रोज माटो फिलिङ गरिएको ट्र्याकमा क्षति पुगेको हो ।

नदीले पुलको एप्रोज स्लाप जोड्ने बायाँतर्फको बिम नजिकको माटो बगाएको छ । करिडोरका इन्जिनीयर अश्विनीकुमार यादव भन्छन्, ‘पुल जोड्ने एप्रोज सडकमा व्यवस्थित रुपमा ग्याबिन लगाएर माटो फिलिङ गर्न पाएनौं । बर्खाले नदीको बाहव उच्च भयो । काम चलाउमात्रै गर्‍यौ, त्यसैमा नदी कटान भयो ।’

Advertisement

यादवले केही दिनमै नदी डाईभर्सन गरी ग्याबिन भरेर पुलको काम सक्ने जानकारी दिए । नदीले क्षति गरेको स्थानमा पुनः काम गर्न करिडोरले ३ वटा डोजर परिचालन गरेको छ । उपल्लो मुस्ताङ तथा कोरलानाका जोड्ने महत्वपूर्ण पक्की पुल बनाउन लोकल रोड ब्रिज प्रोग्राम एलआरबिपीले २०७१ सालमा सुरु गरेको हो । ४ करोड ७३ लाख लागत रहेको यो पुलको लम्बाई ७६ मिटर छ । ५.५ मिटर चौडा सिंगल लेनको पुल सम्झौता अवधि ३ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको थिएन ।

पुल बन्दै गर्दा पुलकै कारण कालीगण्डकी थुनिएपछि छुसाङ बस्ती र खेतीयोग्य जमिनमा क्षति भएको थियो । एप्रोज रोड र केही नदी तटबन्धको काम बीचैमा रोकिएको अवस्थामा जनप्रतिनिधि र स्थानीयले पुल संम्पन्न गर्न जोड दिए । असार २० गते छुसाङबासी संयुक्त छलफल गरेर १ महिना भित्रै पुलको काम सक्ने प्रतिवद्धता जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया