गन्धर्व संकृतिः बालबालिका सिक्दै, सिकाउँदै
विकास रोकामगर
पोखरा
कुनै समय थियो, गन्धर्व समुदायका गीतसंगीतको आफ्नै सर्वोच्च स्थान थियो । उनीहरु हातमा सारंगी लिएर घरघरै डुल्डै हिँड्थे । टाढाटाढासम्म पुगेर गीतसंगीत सुनाउँथे । गीत र सांरगी नै उनीहरुको जीविकोपार्जनको मुख्य आधार मानिन्थ्यो ।
तर, अहिले समय बद्लिएको छ । न त पहिलेजस्तो उनीहरु घरघर सारंगी रेट्दै हिँड्छन् न त अहिलेको पुस्ता नै उनीहरुबारे जानकारी राख्छन् । गन्धर्व समुदायकै पछिल्लो पुस्ताले यो पेसा अंगाल्न नचाहँदा आफ्नो पुख्र्यौली संस्कार लोप हुँदै गएको उनीहरु स्वयं स्वीकार्छन् ।
पोखराको बाटुलेचौरमा गन्धर्व समुदायको बाक्लो बसोबास छ । गन्धर्व समुदायबाटै सारंगी र मादललगायत वाद्यवादन हराउँदै गएपछि अहिले त्यहाँ पछिल्लो पुस्तालाई पुख्र्यौली संगीत सिकाउन पाठशाला नै खुलेको छ । जुन २०६६ सालदेखि सञ्चालनमा छ ।
पाठशालामा ५÷६ वर्षदेखि माथिका बालबालिकाले सारंगी रेट्न तथा मादल बजाउन सिकिरहेका छन् । बाटुलेचौरमै निशान्त गायक (१७) ले मादल बजाउन सिक्न थालेको ५ वर्षभन्दा बढी भइसकेको छ । सुरुमा मादलबाट वाद्यवादन सिक्न सुरु गरेका उनले अहिले सारंगी पनि राम्रै बजाउँछन् ।
विन्ध्यवासिनी स्कुलमा कक्षा १० मा पढिरहेका गायकको गायन क्षेत्र नै बढी रुचि छ । ‘सानैदेखि संगीतमै रुचि छ । हाम्रो संस्कृति नै यही हो भनेपछि त्यसलाई बचाउन पनि सिक्न जरुरी ठानेको हुँ,’ उनी भन्छन्, ‘हामीलाई बाजेले नै सिकाउने भएकाले झनै सजिलो भएको छ ।’
गायकका बाजे अर्थात ‘यो दाजुको मिरमिरे आँखा.., फूल मायामा नभुल..’ लगायत गीतका सर्जक धनबहादुर गायक । गायककै सक्रियतामा पहिलो पटक बाटुलेचौरमा ‘झलकमान गन्धर्व सारंगी पाठशाला’ खुलेको थियो । धनबहादुर पछिल्लो पुस्ताले आफ्नो मौलिक संस्कृति बिर्सदैं गएकाले त्यसलाई निरन्तरता दिन पनि पाठशाला खोलेको सुनाउँछन् ।
‘गन्धर्व संस्कृति खाली गन्धर्वहरुको मात्रै संस्कृति होइन । यो त राष्ट्रकै संस्कृति हो,’ धनबहादुर भन्छन्, ‘राष्ट्रकै संस्कृति लोप हुँदै जानु राम्रो होइन । त्यसलाई संरक्षण गर्नुपर्छ भनेरै पाठशाला खोलेर सिकाइराखेको छु ।’ पाठशालामा उनका छोरा दीलिप गायकले पनि संगीत सिकाइरहेका छन् ।
९ वर्षीय युनिश गायक पनि ३ वर्षदेखि पाठशालामा संगीत सिकिरहेका छन् । सुरुमै सारंगी सिक्दा गाह्रो हुने भएकाले अहिले मादल बजाउनमात्रै सिकिरहेको उनी बताउँछन् । भन्छन्, ‘अहिले बाजेले मादल बजाउन सिकाइराख्नु भाछ । अलि अलि बजाउन जानिसकेको छु । अब सारंगी बजाउन पनि सिकाउने भन्नु भाछ,’ गायकजस्तै उहिले त्यहाँ २५ जनाभन्दा बढी बालबालिकाले सारंगी, मादल लगायत बाजागाजा बजाउन सिकिरहेका छन् ।
मझेरीपाटनका सरगम गायक (१५) को पनि गीतसंगीतमा छुट्टै लगाव छ । त्यही लगावले नै पाठशालासम्म डोर्याएको उनी बताउँछन् । ‘मैले सारंगी, मादल, हार्मोनियम, गितार, ड्रमसेट सबै बजाउन आउँछ । पाठशालामा नजानेका कुरा आफैं पनि सिक्ने गरेको छु,’ उनी भन्छन्, ‘सारंगी हाम्रो संस्कृति हो भन्ने थाहा पाएपछि अझैं सिकेर राम्रो गर्न मन छ ।’
पाठशाला पुग्दा कोही मादल बजाइरहेका भेटिन्छन् त कोही सारंगी रेटिरहेका । विभिन्न गीतका धुनमा उनीहरु लिप्त भेटिन्छन् । पाठशालामा नेपालीमात्रै होइन विदेशीलेसमेत सारंगी रेट्न सिक्न आउने गरेका छन् । ‘अहिलेसम्म ५÷६ जना विदेशीले सारंगी सिकिसके । नेपालीभन्दा उनीहरु हाम्राबाजाप्रति बढी आकर्षित हुन्छन्,’ धनबहादुरले अनुभव सुनाउँछन्, ‘पाठशालामा सारंगी सिक्न जापान, कोलम्बियालगायत देशका संगीतप्रेमी आउँछन् ।’
पाठशालामा गन्धर्वबाहेकका पनि संगीत सिकिरहेका छन् । धनहादुरले लोप हुँदै गएपनि गन्धर्व संस्कृतिप्रति अन्य जातजातिको पनि उत्तिकै आकर्षण रहेको बताउँछन् । भन्छन्, ‘पाठशालाबाट अहिलेसम्म २ सय जनाभन्दा बढीले वाद्यवादन तालिम लिइसके । त्यसमा गन्धर्वमात्रै होइन, अरु जातिको पनि उत्तिकै उपस्थिति छ ।’
पोखरा चिप्लेढुंगामा खुलेको मेलोडी क्याफे एन्ड लाउन्ज बार आइतबार आफ्नो ‘औपचारिक’ सुरुआत गर्दै पाठशालालाई सारंगी तथा मादल हस्तान्तरण गरेको छ । क्याफेले पाठशालाका अध्यक्ष धनबहादुर गायकलाई ८ वटा मादल र सारंगी हस्तान्तरण गरेको हो ।
१ करोड लगानीमा पोखरा चिप्लेढुंगामा मेलोडी सञ्चालनमा आएको हो । क्याफेमा व्यवसायी सुरेश पहारी, एकराज गिरी र गायक विनोद बानियाको संयुक्त लगानी छ । क्याफे सुरुआतको अवसरमा मेलोडी नाइन्टी नाइन खाजाको प्याकेज जम्मा ९९ रुपैयाँमा उपलब्ध हुने सञ्चालक गायक विनोद बानियाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया