डेंगुको उच्च जोखिममा पोखरा

समाधान संवाददाता २०७६ भदौ ३ गते ११:४५

समाधान संवाददाता
पोखरा

फोहरमैलासँगै पोखरामा डेंगुको संक्रमण बढेको छ । २ साताअघि पोखरा ८ शिवालयचोकका १ व्यक्तिमा देखिएको संक्रमण सोमबार साँझसम्मको रिपोर्टले १ सय १९ जनामा संक्रमण देखाएको छ । मानवबस्तीको अत्यधिक चाप रहेको पोखरा ८ र ९ मा मात्रै ६० जनाभन्दा बढीमा डेंगुको संक्रमण रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सिनियर मेडिकल अफिसर डा. भोजराज गौतमले जानकारी दिए ।

‘आइतबारसम्मको रिपोर्ट हेर्दा १ सय १ जनामा डेंगु सेरोलोजी टेस्ट पोजिटिभ देखिएको छ,’ उनले भने, ‘कतिपय अस्पतालमा उपचार गराइरहनु भएको छ । केही चिकित्सकको प्रत्यक्षमा निगरानीमा घरमै आराम गर्नुभएको छ ।’ त्यसबाहेकका १, ४, ५, ६, १०, १७ र २५ मा समेत १÷२ को संख्यामा संक्रमण देखिएको छ । आइतबार १६ र सोमबार मात्रै १८ जनामा डेंगु भेटिएको निर्देशनालयले अभिलेख राखेको छ ।

Advertisement

नियन्त्रणमा लागि ठोस योजना हालसम्म महानगर वा प्रदेशले सार्वजनिक गरिसकेको छैन । प्रकोप नियन्त्रणका लागि भने पोखरामा रहेका सबै अस्पताल प्रमुखहरुसँग बसेर छलफल गरिएको डा. गौतमले जानकारी दिए । ‘अस्पताल प्रमुखहरुसँगको छलफल पछि डेंगु नियन्त्रण गर्न खोज्ने र नष्ट गर्ने ‘सर्च एन्ड डिस्र्टोयड’ अभियान सञ्चालन गरिने भएको छ,’ उनले भने ।

गण्डकी मेडिकल कलेज र मनिपाल शिक्षण अस्पतालका विद्यार्थीले घरघरमा पुगेर डेंगु रोग र नियन्त्रणबारे जनचेतना फैलाउने काम भने गरिरहेको उनले बताए । सरकारी तबरबाट बस्तीहरुमा पुगी डेंगुको प्रकोप जाँच गर्ने गरिएको छैन । अस्पताल पुगेका बिरामीमा त्यस किसिमका लक्षण देखिएपश्चात्त मात्रै तथ्यांक संकलन हुँदै आएको छ ।

Advertisement

बसपार्क क्षेत्र पर्ने वडा ८ र ९ मा डेंगुको प्रकोप बढी रहेको हालसम्मको रेकर्डले देखाएको छ । गत वर्ष वडा ८ मै पहिलोपटक डेंगुको संक्रमण देखिएको थियो । यसवर्षपनि उक्त वडामा डेंगुका बिरामी देखिएपछि सरोकारवालाहरुले समेत ध्यानाकर्षण गराएका छन् ।

कवाडी संकलन केन्द्रमा रहेका गाडीका टायरहरुमा जम्मा भएको वर्षाको पानीका कारण लामखुट्टे बढी सक्रिय हुँदा डेंगुको संक्रमण बढेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले बताए ।

डेंगुकोबारेमा पर्याप्त जानकारी हुँदाहुँदै पनि नियन्त्रणका लागि स्वयं स्थानीय समेत जिम्मेवार नदेखिएको उनी बताउँछन् । ‘अनुगमन गर्दा वडा ८ मा गाडीको टायरमा जम्मा भएको पानी नै प्रमुख कारण हो । स्थानीयहरुले त्यस्ता प्रकोप फैलिन सक्ने गतिविधि रोक्न चासो दिँदैनन्,’ उनले भने ।

स्थानीय सरोकारवालाहरुको भने महानगरपालिकाले वास्ता नगर्दा डेंगु संक्रमण बढेको बताउँछन् । पटकपटक प्रयास गर्दा पनि महानगरले यसकिसिमका गतिविधि नियन्त्रण गर्न चासो नदिएको आमा मीलन केन्द्रकी अध्यक्ष इन्दिरा पौडेलको तर्क छ । ‘वडा ८ र ९ निकै संवेदनशील देखिएका छन् । महानगरले गम्भीररुपमा नलिए आगामी वर्ष झनै संक्रमण बढ्ने निश्चित छ,’ उनले भनिन् ।

सोमबार शान्तिका लागी नागरिक समाजको सञ्जाल, इन्सेक र आमा मीलन केन्द्रको आयोजना तथा स्वास्थ्य कार्यलय कास्कीको सहकार्यमा डेंगु सचेतना कार्यक्रममा सम्मद्ध संस्थागत धारणा राखेका थिए । इन्सेक गण्डकी संयोजक शिव खकुरेलले पर्याप्त जनचेतना फैलाउन सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

डेंगुको जोखिम दिउँसोमा बढी
यो १ प्रकारको ज्वरो हो । सामान्यतया लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने संक्रामक रोग हो । उक्त भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले डेंगु सार्ने गरेको चिकित्सक बताउँछन् । सहरी क्षेत्रमा पाइने गाडीका टायर, बाल्टी, टिन वा प्लास्टिकका भाडाहरुमा रहेको सफा जमेको पानीमा लामखुट्टेले फुल पार्दछ । २० देखि ३० डिग्रिसेल्सियस तापक्रम लामखुट्टेलाई फेबरेबल हुने हुँदा अत्यधिक फूल पार्ने गर्दछन् । पोखराको तापक्रम अहिले त्यस हाराहारीमै हुँदा संक्रमणको बढेको स्वास्थ्य निर्देशनालयका डा. गौतम बताउँछन् ।

एडिज लामखट्टे कालो रंगको हुन्छ । उसले टोकेको ठाउँमा सेतो थोप्लो पनि देखिन्छ । विशेषगरी दिउँसोमा बढी सक्रिय हुने हुँदा संक्रमणको जोमिखसमेत दिउँसोकै समयमा हुन्छ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फूल पार्छ ।

तपाईको प्रतिक्रिया