उच्च अदालत पोखराका न्यायाधीशको राजीनामा

समाधान संवाददाता २०७६ भदौ ३ गते ११:५२

समाधान संवाददाता, काठमाडौं

क्षेत्राधिकार मिचेर गोर्खा ब्रुअरीको अन्तःशुल्क सम्बन्धी मुद्दामा आदेश गरेका पोखरा उच्च अदालतका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा गरेका छन् । न्यायपरिषदमा उनले राजीनामा बुझाएका हुन् ।

क्षेत्राधिकार मिचेर फैसला गरेको आरोप लागेका पोखरा उच्च अदालतका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानबिन तथा कारबाही गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले गएको साउन ८ गते आदेश दिएको थियो ।

Advertisement

आदेशअनुसार न्यायपरिषदले सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको संयाजकत्वमा १ सदस्यीय समिति बनाएको थियो । न्यायाधीश अधिकारीले केही दिनअघि समिति समक्ष आफ्नो स्पष्टीकरण पेस गरेका थिए ।

उच्च अदालतका तीन न्यायाधीशले भरतपुर आन्तरिक राजस्व कार्यालयले गरेको निर्णयविरुद्ध प्रादेशिक क्षेत्राधिकार बाहिर गएर पोखरा उच्च अदालतमा दर्ता हुन आएको रिटमाथि सुनुवाइ गर्दै आदेश दिएका थिए । आन्तरिक राजस्व कार्यालय भरतपुरले निर्धारण गरेको ८८ करोड ८१ लाख भन्दा बढी अन्तःशुल्क तिर्न पठाएको पत्रविरुद्ध गोर्खा बु्रअरीले बदर माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

Advertisement

रिटमाथि सुनुवाइ गर्दै नरबहादुर शाही र जीवनहरि अधिकारीको इजलाशले असार ११ गते आन्तरिक राजश्व कार्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । जिल्ला न्यायाधीश कार्कीको भने ललितपुर जिल्ला अदालतमा हुँदा एक मुद्दामा आर्थिक लेनदेन गरेको आरोप लागेको छ ।

तपाईको प्रतिक्रिया