म्याग्देकाे ४ सामुदायिक वनमा तेजपात पकेट क्षेत्र

समाधान संवाददाता २०७६ भदौ ३ गते १२:४७

समाधान संवाददाता
दमौली

तनहुँको म्याग्दे गाउँपालिका ५ स्थित विभिन्न सामुदायिक वनमा तेजपात (दालचिनी) का बिरुवा रोपिएको छ । सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यले डिभिजन वन कार्यालय तनहुँको सहयोगमा ४ सामुदायिक वनमा तेजपातको बिरुवा लगाइएको हो ।

उत्तर फर्केका तथा चिसो हावापानी भएको क्षेत्रमा अन्य बिरुवाभन्दा तेजपातको राम्रो सम्भावना भएकाले मल्याङ, कवादी सालडाँडा, धुसेनी र बसनखन्डी सामुदायिक वनमा ३४ हजार ४ सय तेजपात रोपिएको डिभिजन वन प्रमुख केदार बरालले बताए । अनावश्यक झाडी भएको क्षेत्रको सदुपयोग गरी कम लगानी, थोरै मेहनत र छोटो अवधिमा सामुदायिक वनले राम्रो आम्दानी लिनसक्ने भएकाले खाली क्षेत्रमा तेजपात रोपेर पकेट क्षेत्र बनाउन लागिएको हो ।

Advertisement

सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार बसनखन्डी सामुदायिक वनको ४ हेक्टरमा ६ हजार ४ सय, मल्याङ सामुदायिक वनको १० हेक्टरमा ११ हजार, साल्डाँडा धुसेनीमा १२ हजार र कवादी सामुदायिक वनको ३ हेक्टरमा ५ हजार बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयको सहयोग र उपभोक्ताको सहभागितामा तेजपातको बिरुवा रोपिएकाले उक्त बिरुवा गोडमेल र संरक्षणको जिम्मेवारी उपभोक्ताको रहेको मल्याङ सामुदायिक वन समूहका अध्यक्ष खडनन्द पौडेलले बताए ।

तेजपातको उचित संरक्षण र सम्वद्र्धन गरी यसबाट हुने आम्दानी ४ वटै सामुदायिक वनले शतप्रतिशत उपभोग गर्न पाउने डिभिजन वन कार्यालयका प्रमुख बरालले बताए । डिभिजन वन कार्यालयले आफ्नै नर्सरीमा तयार गरेको बिरुवाको बजार मूल्य प्रतिबिरुवा १० पर्ने भए पनि ती सामुदायिक वनलाई निःशुल्क उपलब्ध गराइएको छ । रोपेको पाँचौँ वर्षबाट नै उत्पादन दिन सक्ने तेजपातको बजार भाउ पनि राम्रो छ । व्यावसायिक रूपमा तेजपात खेती गर्नसके स्वदेश तथा विदेशका विभिन्न जडीबुटी कम्पनी तथा मसला कम्पनीमा यसको उच्च माग छ ।

Advertisement

तेजपातको बोक्रा र पात मसलाका रुपमा घरायसी प्रयोजनका लागि उपयोगी मानिन्छ । तेजपातलाई तरकारी, मासु, पुलाउ आदिमा स्वाद र बास्नाका लागि प्रयोग गर्ने गरिन्छ । साथै पातबाट निकालिएको सुगन्धित तेल औषधि, खाद्य पदार्थ र पेय पदार्थलाई बासनादार बनाउन प्रयोगसमेत गरिन्छ । पात खाना पचाउन, पेटको दुखाई कम गर्न, आउँ परेको वाकवाक लाग्ने अवस्था रोक्न तथा यसको तेल दाँत दुखेको औषधिका रुपमा पनि प्रयोग गरिन्छ ।

तपाईको प्रतिक्रिया