५९ हजार घुससहित मालपोत अधिकृत समातिए

समाधान संवाददाता २०७६ भदौ ४ गते १२:२१

समाधान संवाददाता
पोखरा

जिल्ला मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुससहित समातिएका छन् । छिटो जग्गा पास गरी दिने र कर छुटसमेत गरिदिने भन्दै मंगलबार सेवाग्राहीसँग ५९ हजार रुपैयाँ घुस लिँदालिँदै कुँवर समातिएका हुन् ।

सेवाग्राहीले दिएको सूचनाको आधारमा गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मुस्ताङचोकको १ रेस्टुरेन्टबाट कुँवरलाई रंगेहात पक्राउ गरेको हो ।

Advertisement

अनेक बाहाना बनाउँदै कुँवरले जग्गा पास सम्बन्धी फाइल लुकाइदिने, ढिला गरिदिने गरेका थिए । जग्गा पासमा कर छुटसमेत गरिदिने बताएपछि सेवाग्राहीले कुँवरलाई घुस दिन पुगेका थिए । साँझ ६ बजे सेवाग्राहीले गाडीबाट दिएको पैसा मोटरसाइकलबाटै गएका कुँवरको हातमा पर्नेबित्तिकै अख्तियारले समातेको हो । कुँवरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । उनलाई पोखरामै स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानका लागि बुधबार काठमाडौं पठाइने भएको छ ।

पछिल्ला दिनमा अख्तियारले स्टिङ अपरेसनलाई तीब्र बनाएको छ । यसअघि साउन २३ गते डिभिजन सडक कार्यालय पोखराका सिनियर डिभिजन इन्जिनियर हरिप्रसाद पोखरेलसहित ५ जना ९ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए । रकम लिन सेटिङ मिलाउने इन्जिनियर पवित्रपणि आचार्य, ठेकेदार कम्पनीका ऋषि गौतम र सडक कार्यालयका २ कार्यालय सहयोगी पक्राउ परेका थिए । विन्ध्यवासिनी हरिचोक सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीबाट इन्जिनियर आचार्यको मिलेमतोमा पोखरेलले उक्त रकम लिएको अख्तियारले जनाएको छ । उक्त सडक निर्माण सम्झौता गएको असरा मसान्तमा भएको थियो ।

Advertisement

साउन १२ गते जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद आचार्यसहित ४ कर्मचारी आइतबार घुस रकमसहित पक्राउ परेका थिए । निमित्त कार्यालय प्रमुख आचार्यसहित, स्टोरकिपर (अधिकृत छैटौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन् । गएको आर्थिक वर्षमा सम्पन्न कार्यक्रम वापतको पेस्की फछ्र्योट गरिदिने वाहनामा लिएको १ लाख ३० हजार रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । सेवाग्राहीले दिएको सूचनाका आधारमा पोखराबाट गएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।

असार १७ गते खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर वासी अख्तर मोहम्मद मंगलबार घुस रकमसहित पक्राउ परेका थिए । उपभोक्ता समितिबाट ४ लाख रुपैयाँ घुस लिँदै गर्दा उनी स्याङ्जाबाटै पक्राउ गरेको हो ।

गत मंसिर १६ गते गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पोखराकै बुद्धचोकबाट पक्राउ परेका थिए । लोकसेवा आयोग पोखरा कार्यालयबाट लिइएको अहेवको लिखित परीक्षा उत्तीर्ण १ युवाबाट १ लाख रुपैयाँ घुस लिँदैगर्दा अख्तियार टोलीले पौडेललाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया