लेकसाइड रातभरि खोल्ने पक्षमा छौंः खनाल

समाधान संवाददाता २०७६ भदौ ४ गते १२:५९

समाधान संवाददाता
पोखरा

पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्ने कि राति ९ बजेपछि बन्द गर्ने भन्ने विषयमा व्यवसायीबीच बहस भइरहेको छ । यसबारे पक्ष विपक्षमा वहस भइरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी रातभरि लेकसाइड चलाउने पक्षमा रहेको बताएका छन् ।

स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्र लगायत होटल व्यवासायीले साँझको ९ बजेपछि सञ्चालन हुने डान्स बार, डान्स, क्याबिन रेन्टुरेन्ट, दोहोरी साँझ, गजल, स्पा, डिस्को क्लब बन्द गराउनुपर्ने मागसहित उच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ । संघीय प्रहरी इकाइ कार्यालय पोखराको कार्यालय भवन उद्घाटन तथा ब्यारेक भवन मंगलबार शिलान्यास गर्दै प्रहरी महानिरीक्षक खनालले आफू २९ वर्ष पहिले प्रहरी निरीक्षक हुँदा ठमेललाई २४ घन्टा खुल्ला राख्न पर्ने पक्षमा वकालत गरेको स्मरण गरे । ‘पर्यटनलाई उद्योगको रुपमा विकास गर्न लेकसाइडलाई रातभर चलाउनुपर्छ,’ उनले भने, ‘लेकसाइडलाई रातभरि चलाउँदा नेपाल प्रहरीको काम शान्ति सुरक्षा प्रदान गर्ने हो ।’

Advertisement

डिस्को र डान्स बारले होहल्ला गरेर अरुलाई डिस्टर्ब गर्न नहुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले ती सबैलाई साउन्ड प्रुफ बनाउनुपर्ने सुझाव दिए । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी, स्थानीय प्रशासन, पोखरा महानगरपालिका र पर्यटन व्यवसायी सामूहिक छलफलमा जुटेर निर्णयमा पुग्नुपर्ने उनको तर्क छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा पौडेलले डिस्को तथा डान्सबारमा हुने होहल्ला रोक्न प्रहरी गणबाट ५० जना प्रहरी परिचालन गरेको जानकारी दिए । उनले नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायीसँगको परामर्शमा डान्सबार डिस्कोहरुका लागि आचारसंहिता निर्माण भइरहेको जानकारी दिए ।

Advertisement

फरक प्रसंगमा प्रहरी महानिरीक्षक खनालले विकृति विसंगति न्यूनीकरण गरी दण्डहिनता अन्त्य गर्दै नेपाल प्रहरीले आफूलाई दक्षिण एसियाको अब्बल प्रहरीको रुपमा उभ्याएको उल्लेख गरे । उनले नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिकालाई थप रचनात्मक एवं प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी अभियान चलाइएको बताए । उनले प्रहरीले यसका लागि ५६ लाख नागरिकलाई समेटेर सचेतनामूलक कार्यक्रम चलाएको जानकारी दिए । अभियानका क्रममा ७० लाख विद्यार्थी र ३५ लाख अभिभावकसँग पुग्ने योजना उनले सुनाए ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मनोहरप्रसाद खनालले नेपाल प्रहरीले सिमित स्रोत, साधनका बाबजुद शान्ति, सुरक्षा र अमनचयनका लागि प्रभावकारी काम गरेको बताए । उनले नेपाल प्रहरीको भौतिक संरचना लगायतका लागि ३६ करोड बराबरको बजेट व्यवस्था गरेको जानकारी दिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रहरीले लगाएको नीलो वर्दी प्रहरी पोसाकमात्र नभई जनताको अस्था, विश्वास एवं भरोसाको धरोहरसमेत रहेको उल्लेख गरे । संघीय प्रहरी इकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको सहयोगमा कार्यालय भवन निर्माण भएको जानकारी दिइन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका टीएसटी प्रमुख प्रहरी निरीक्षक चतुर्भुज बोहराले २ करोड ७८ लाख ७० हजार २ सय ९५ लागतमा १६ कोठाको साढे २ तले भवन निर्माण भएको जानकारी दिए । उनले नेपाल प्रहरीको उद्देश्य अनुसार आरसिसी फ्रेम स्टक्चरमा भूकम्प प्रतिरोधी भवन बनाएको बताए । उनले ३ करोड २५ लाख ७ हजार ५ सय ८६ लागतमा संघीय प्रहरी इकाइ कार्यालयको ब्यारेक भवन, मेस, स्नानगृह, शौचालय, सेफ्टी टयांकी, सोकपिट निर्माण गरिने जानकारी दिए ।

कार्यक्रममा पत्रकार महासंघ कस्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य संघ कास्की अध्यक्ष दामु अधिकारी, प्रहरी नायब उपरीक्षक कृष्ण कार्की लगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी नायब निरीक्षक गणेश पाण्डे, प्रहरी हवल्दार बुद्धि श्रेष्ठ र प्रहरी जवान गौतम कुमाललाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया