मेलम्चीको बाँकी काम सिनो हाइड्रोलाई

समाधान संवाददाता २०७६ भदौ ४ गते १३:२२

समाधान संवाददाता
काठमाडौं

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । मंगलबार मेलम्ची खानेपानी विकास समितिले बैक ग्यारेन्टीसहित प्रकिया पुर्‍याएर सम्झौता गर्न आउन पत्र पठाएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार ऋणदाता एसियाली विकास बैक(एडिबी)ले चिनियाँ कम्पनीलाई दिन स्वीकृति दिएसँगै सम्झौंताका लागि बोलाइएको हो । सुरुङमार्ग फिनिसिङ र हेडवक्र्स निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाईड्रोले पाएको हो ।

आयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीलाई उत्कृष्ट ठहर गर्दै स्वीकृतिका लागि एडीबी पठाएको थियो । करिब १ साता अध्ययन गरेर १२ अगस्टमा एडीबीले चिनियाँ कम्पनीबाट काम गराउन स्वीकृति दिएको हो । आयोजनाले १३ अगस्टमा आयोजनाले निकालेको ठेक्कामा निर्माण व्यवसायी छनोट चित्त नबुझेमा ७ दिनभित्र दाबी, विरोध अथवा उजुरी गर्न भन्दै ७ दिने सार्वजनिक सूचना निकालेको थियो । सोमबारसम्मका लागि दाबी विरोध र उजुरी समय तोकिएको थियो । कुनै उजुरी नपरेपछि आयोजनाले चिनियाँ कम्पनीलाई सम्झौताका लागि बोलाएको हो ।

Advertisement

बोलपत्र अनुसार २८ दिनभित्र सम्झौता गरिसक्नुपर्ने हुन्छ । आयोजनाले भने जतिसक्दो छिटो प्रक्रिया सकेर आउन आग्रह गरेको पन्तले जानकारी दिए । चिनियाँ कम्पनी आएपछि उसको बैक ग्यारेन्टी भेरिफिकेसन गरिने उनले बताए । सम्झौता भएको १ महिनाभित्र ठेकदार कम्पनीले काम सुरु गरिसक्नुपर्छ । तामाकोशी हाईड्रोपावरको काम सकेर मेसिनरी र जनशक्तिसहित तयार अवस्थामा रहेकाले छिट्टै काम सुरु हुने विश्वास गरिएको छ । आयोजनाले दशैं अघिनै काम सुरु गराउने तयारी गरेको छ ।

चिनियाँ कम्पनी सिनो हाईड्रो र नेपाली कम्पनी हाइ हिमालय हाईड्रोर रमण जेभीले आयोजनाका काम गर्न इच्छा देखाएका थिए । चिनियाँ कम्पनीले कम कबोल गरेपछि सिनोले ठेक्का पाएको हो । आयोजनाका अनुसार चिनियाँ कम्पनीले इस्टिमेटभन्दा करिब २५ प्रतिशतमा कममा ठेक्का हालेको छ भने नेपाली कम्पनीले इस्टिमेटमा काम गर्न नसकिने भन्दै थप बढी मूल्य राखेर आर्थिक प्रस्ताव हालेको थियो । सार्वजनिक खरिद नियमावली अनुसार कम कबोल गर्ने चिनियाँ कम्पनीले ठेक्का पाएको हो । हेडवक्र्सका लागि करिब १ अर्ब १२ करोड रुपैयाँ र सुरुङमार्गका लागि ९५ करोड रुपैयाँ इस्टिमेट गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया