भिक्षु बस्ने ५ सय वर्ष पुरानो घर
एसके थकाली
मुस्ताङ
बेनी–जोमसोम विस्तारित सडक पूर्व मुस्ताङ सदरमुकाम जोमसोम पुग्न मार्फा गाउँको साँघुरो गल्ली छिचोेल्नु पथ्र्यो । माटोले निर्मित प्राचीन शैलीको घर , साँघुरो गल्ली र छतमाथि लस्करै पाँजिएका दाउराका कलात्मक दृश्यले मार्फाको ऐतिहासिकता स्पष्ट झल्किन्छ ।
मुस्ताङको मार्फा गल्ली हुँदै जोमसोम निक्लने विदेशी पर्यटक अहिले पनि टुटेका छैनन् । मार्फाको पहिलो गेट कटे लगत्तै साँघुरो गल्ली आउँछ । लस्कर ढुङ्गा बिछ्याइएको २ सय मिटर लामो साँघुरो गल्ली चहार्दै जाँदा देब्रेतिर भित्ताको आड लगाई बनाइएको पुरानो २ तले जीर्ण घर देखिन्छ । गाउँ पसेपछि ३० सेकेन्डमै जापनिज पर्यटक यही घर छेउ टक्क रोकिन्छन् । घरको मुलद्वारको भित्तामा ३ प्रकारका भाषामा लेखिएको शिलालेख छ । जुन पढेपछि सहजै अनुमान हुन्छ, त्यो घर जापनिज भिक्षु इकाइ कावागुची बसेकै घर हो । इकाइ कावागुची पैदलै सन् १९०० मा यही घरमा ३ महिना बिताएका थिए ।
इकाइ कावागुची बसेको घर मार्फा निवासी सुवर्ण लालचनको हो । उनका बराजु अदम नारायणले त्यस समय भिक्षु इकाइ कावागुचीलाई यही घर प्रयोग गर्र्न दिएका थिए । सुवर्णले यस घरलाई कावागुची होम्स नामाकरण गरेका छन् ।
घरको मुलद्वारमा अंगे्रजी अक्षरमा कावागुची होम्स लेखिएको साइन बोर्ड झुन्ड्याइएको छ । साइनबोर्डमा लेखिएका अक्षरको दायाबाँया २ देशको लोगो छ । मुलद्वार अगाडि सल्लाका ४ वटा खाँबासहित दलिन छ । घरको माथिल्लो तलाको अगाडि बार्दली छ भने छतमाथि दाउरा पाँजिएको छ । करिब ५ सय वर्ष पुरानो मानिएको उक्त घरमा कावागुची १ सय २० वर्षअघि त्यहाँ बसेका थिए ।
कावागुची होम्सका घरधनी सुवर्ण लालचन त्यस समय मार्फाका मुखिया अदम नारायणका ५ औं पुस्ताका उत्तराधिकारी हुन् । कावागुची घरमा उनले सुत्ने गरेको खाट, बस्ने कुर्ची, पूजापाठका सामान, तिब्बतीय धार्मिक पुस्तक र पूजा गर्दा बजाउने सामग्री लगायत अत्यन्तै पुराना ऐतिहासिक सामान जीवितै छन् । कावागुची निवासमा उनले प्रयोग गरेका सामग्री लगायत थकाली संस्कृति झल्कने भाँडा वर्तन र भेषभूषा सजाएका छन् । कावागुचीको पूजा कोठामा सयौं तिब्बतीयन बौद्ध सुत्रका पुस्तकहरु संग्रहित गरी राखिएको सुवर्णले बताए ।
पर्याप्त प्रचार प्रसार हुन सके जापनिज पर्यटकका साथै अन्य पर्यटक कावागुची होम्स आउने सुर्वणको दाबी छ । जिल्लामा यातायातको विकाससँगै कावागुची बसेको घर हेर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको सुवर्णले बताए । कावागुची होम्सलाई ऐतिहासिक संग्रहालय बनाउने लक्ष्य रहेको सुवर्णको भनाइ छ । जापनिज पर्यटकले कावागुचीको इतिहास खोज, अनुसन्धानका लागि आउने गरेको बताए । पछिल्लो समय कावागुचीका पछिल्ला उत्तराधिकारीले कावागुची बसेको घरको खोजी गर्न थालेको उनले खुलाए । सुवर्ण लालचनले १ सय वर्ष पुरानो पुख्र्यौली सम्बन्ध जीवित राख्न कावागुचीका उत्तराधिकारीसँग मितेरी साइनो पनि लगाएका छन् । कावागुची उत्तराधिकारीले पुर्खा बसेको घरको स्तरोन्नति गर्न सहयोग गर्ने वचनसमेत दिएको लालचन खुलाए ।
भिक्षु कावागुचीकै ऐतिहासिक सम्बन्धका कारण जापनिज दुतावासले मार्फा गाउँको आर्थिक विकासमा सहयोग गर्दै आएकोे सुवर्णका छोरा फिरोज लालचन बताउँछन् । उनका अनुसार दुतावासले कालीगण्डकी नदी नियन्त्रण तथा मार्फा सामुदायिक भवन निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।
को थिए कावागुची ?
नेपालको पर्यटन विकास जतिखेर सुरु भयो, त्यहीबेला जापनिज जैन भिक्षु कावागुची भारत हुँदै नेपाल पसे । बौद्ध धर्म प्रचार तथा तिब्बती बौद्ध सुत्रको ज्ञान प्राप्त गर्ने सिलसिलामा सन् १९९५ ताका सुटुक्क नेपाल पसेका थिए । यसपछि उनी सन् १९०० ताका पैदल यात्रा गर्दै मुस्ताङको मार्फा गाउँ आइपुगे ।
कावागुची जापानको ओसाकाको साकाइ सहरमा जन्मिएका एकाइ ओबाकु समुदायका जैन भिक्षु थिए । भिक्षु कावागुची नेपाल र तिब्बत प्रवेश गर्ने पहिलो जापनिज पनि हुन् । नेपालको प्राकृतिक सौन्दर्यका बारेमा लेखिएका इकाइ कावागुचीको दर्जनौं पुस्तकले नेपालको पर्यटन विकासमा उत्तिकै योगदान दिएको छ ।
अनुवादको बौद्ध धर्म सूत्र अपूर्ण सम्झदै मुल ग्रन्थ खोजी गर्दै कावागुची भारत पसे । भारत पसेका उनले तिब्बती भाषा सिक्न थाले । तिब्बती भाषा पढ्दै गरेका कावागुची ल्हासामा अभ्यास गरेको चिनिया भिक्षु हुँ भन्दै ढाँटेर नेपाल पसेका थिए । तिब्बत जाने लक्ष्य बनाएका कावागुचीले उपयुक्त बाटो नेपाललाई रोज्दै पोखरा हुँदै मुस्ताङको मार्फा आइपुगे ।
कावागुची मुस्ताङमा लुकिछिपी आइपुगे । बौद्ध भाषा ग्रन्थ लिपिको खोजीमा भौतारिएका कावागुचीलाई राम्ररी बौद्ध भाषा ज्ञानको अभाव थियो । पर्याप्त तिब्बती भाषाको ज्ञान नभएकाले बौद्ध सुत्रको ज्ञान प्राप्त गर्न तिब्बत प्रस्थान गर्न चाहन्थे । कावागुची अदम नारायणकै घरमा ३ महिनासम्म तिब्बती भाषा सिक्न बसे । उनलाई सोही गाउँ नजिकैको अर्को गाउँ छैरोका १ लामाको सहयोगमा तिब्बती भाषा सिकाइयोे । कावागुची हरेक दिन तिब्बती बौद्ध सूत्र पढ्थे ।
३ महिनासम्म मार्फामा बसेर तिब्बती बौद्ध सुत्रमा पोख्त बनी कावागुची मार्च १२ मा मार्फा छोडी तिब्बततर्फ हानिए । डाँडाकाँडा,भन्ज्याङको बाटो पार गर्दै पश्चिम डोल्पा र पवित्र स्थान शे गुम्बा हँुदै कावागुची तिब्बत पुगे । तिब्बतमा उनी ३ वर्ष बिताई बौद्ध सुत्रको पूर्ण ज्ञान प्राप्त गरी आफ्नै देश फर्किएको शिलालेखमा वर्णन गरिएको छ ।
तपाईको प्रतिक्रिया