सागका ७ खेल पाेखरामा, कुन खेल कहाँ खेलाउने अझै अन्याेलमा

समाधान संवाददाता २०७६ भदौ ५ गते १२:३६

अमृत सुवेदी
पोखरा

पोखरा रंगशाला धमाधम निर्माण भइरहेको छ । तयारी हो, १३ औं एसियाली खेलकुद प्रतियोगिता (साग)को । मंसिर १५ गतेबाट नेपालमा हुने एसियाली खेलकुद प्रतियोगिताका २७ खेलमध्ये ७ खेल पोखरामा हुने पक्का छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आएरमात्र रंगशालामा धमाधम निर्माण हुँदा केही अभ्यास खेल प्रभावित भइरहेको छ । साग अगाडि नै मैदान चिरिच्याट्ट पार्नुपर्ने दबाबका साथ रंगशालामा धमाधम काम भइरहँदा केही प्रतियोगिता कहाँ खेलाउने अझै अन्योल छ । प्याराग्लाइडिङ र भारत्तोलनको खेल कहाँ खेलाउने अझै निश्चित भइसकेको छैन । निर्माण भइरहेको मैदानमा पनि बजेट अभावले द्रूत गतिमा हुन सकिरहेको छैन ।

Advertisement

प्याराग्लाइडिङ, भलिबल, आर्चरी, महिला फुटबल, ह्यान्डबल, भारत्तोलन, र ट्रायथलन प्रतियोगिता पोखरामा गराउन अहिले भौतिक पूर्वाधार निर्माणदेखि तयारी प्रशिक्षण भइरहेको छ ।

रंगशाला निर्माण र साग तयारीबारे बुझ्न बुधबार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा पोखरा रंगशालाको निरीक्षणमा पुगेका छन् । सरोकारवालाले साग प्रतियोगिता हुने मैदान निर्माण, अभ्यास खेल लगायतमा बजेट उपलब्ध नभएकाले प्रभावित भइरहेको बताए ।

Advertisement

बजेटकै कारणले निर्माण कार्य र खेल प्रभावित नहुने भन्दै खेलकुदमन्त्री विश्वकर्माले निश्चिन्त भएर तयारीमा जुट्न आग्रह गरे । ‘बजेटको अख्तियारी भइसकेको छ । केही दिनमै आउँछ,’ उनले भने ‘चिन्ता लिनु पर्दैन, काम गर्नुस् ।’

मन्त्री विश्वकर्माले पूर्वाधार निर्माण तयार सकेर पोखरामा सागका खेल हुने कुरामा विश्वस्त रहन आग्रह गरे । ‘पूर्वाधार निर्माणको चरणलाई हेर्दा पनि समयमै साग हुन्छ भन्ने ढुक्क हुनुस्,’ मन्त्री विश्वकर्माले भने, ‘यो प्रतिष्ठासँग जोडिएको विषय पनि हो ।’

पोखरामा साग खेलाउन पोखरेली खेलप्रेमी उत्साही छन् । उनीहरुको एउटै चिन्ता हो, ‘कतै पूर्वाधार निर्माण नसकिएर खेल रोकिने त होइन ?’ मन्त्री विश्वकर्माले निर्माण व्यवसायीलाई कात्तिकभित्रै निर्माण सकेर हस्तान्तरण गर्न भनेको जानकारी दिँदै तयारी थाल्न आग्रह गरे । सबैजसो खेलमैदानको पूर्वाधार निर्माण र प्रशिक्षणमा बजेट निकासा नै नभएकाले आर्थिक समस्या खेप्नुपरेको छ ।

नेपाल खेलकुद परिषदबाट बजेटको निकासा नभएका कारण पोखरामा हुने खेलहरुको तयारी प्रभावित भएको सरोकारवालाको भनाइ छ । प्रतियोगिताका लागि खेलकुद मन्त्रालयमार्फत बजेट छ्ट्याइएको भए पनि तयारीका लागि बजेट निकासा नभएको हो ।

प्याराग्लाइडिङको स्थलमा अझै सहमति जुटेन
प्याराग्लाइडिङको विश्वकै उत्कृष्ट गन्तव्यमध्येमा पोखराको सराङकोट पर्ने सरोकारवालाको दाबी छ । यही ठाउँमा १३ औं एसियाली खेलकुल प्रतियोगितामा प्याराग्लाडिङ खेल पनि हुँदैछ । तर, अहिलेसम्म न ठाउँ पक्का भइसकेको छ, न त खेलाडीका लागि जाने, आउने सुविधा र बजेटको व्यवस्था छ ।

सराङकोट र तोरीपानीबाट उडाउने बताइए पनि त्यसको निर्णय भइसकेको छैन । ‘न त टेकअफ र ल्यान्डिङको टुंगो लागेको छ न त अरु संरचना बनाउने काम नै अगाडि बढ्न सकेको छ,’ नेपाल प्याराग्लाइडिङ तथा ह्यान्ड ग्लाइडिङको महासचिव शैलेन्द्र राउतले भने, ‘असुविधाकै बीच पनि बन्द प्रशिक्षण गराइरहेका छौं ।’ प्याराग्लाइडिङको तयारी तथा व्यवस्थापनको जिम्मा क्षेत्रीय खेलकुद विकास समितिले पाएको छ ।

समितिका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठले महानगरसँग छलफल चलिरहेको र केही दिनमै टुंगो लगाउने बताए । पोखराका ४ ठाउँबाट प्याराग्लाइडिङ उडान भर्ने गरिएको भए पनि सराङकोट र तोरीपानीबाट उडान गर्ने तयारी भइरहेको राउतले जानकारी दिए ।

प्रशिक्षणका लागि आउजाउ गर्न सवारी साधनकै सबैभन्दा बढी समस्या रहेको उनको भनाइ छ । २२ जना पुरुष र ६ जना महिला प्याराग्लाइडिङको प्रशिक्षणमा छन् भने ४ जनाले प्रशिक्षण दिइरहेका छन् ।

निर्माणाधीन प्राकृतिक मैदानमा महिला फुटबल
महिला फुटबल प्रतियोगिता हुने पोखरा रंगशलाको खेल मैदान केही समयअघिबाट बल्ल निर्माण सुरु भएको छ । प्राकृतिक बनाउने कि कृत्रिम खेल मैदान बनाउने भन्ने लामो समयदेखि अन्योल थियो ।

पोखरा रंगशालाको फुटबल मैदान पनि साग अगाडि नै सम्पन्न हुनेमा विश्वस्त रहन खेलकुदमन्त्री विकको आग्रह छ । यो फुटबल मैदानको अहिले धमाधम काम भइरहेको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस् इन्फ्रा प्रालि र नेपाली कम्पनी एमए कन्सट्रक्सन प्रालिले मैदान निर्माणको जिम्मा पाएको छ ।

१ अर्ब २८ करोड रुपैयाँमा निर्माण सम्झौता भएको मैदान ६ महिनाभित्रै काम सक्ने गरी गत साल फागुन २६ गते शिलान्यास भएको थियो । तर, अन्योलका बीच गएको महिनामात्रै प्राकृतिक मैदान बनाउने निर्णण् भएको हो । निर्माण कम्पनीले समयमै कामसकेर हस्तान्तरण गर्ने बुधबार पनि प्रतिवद्धता जनाएकोे छ ।

काठमाडौंमा भइरहेको फुटबलको बन्द प्रशिक्षणबाट पहिलो चरणको छनोट हुने प्रशिक्षक कृष्ण थापाले जानकारी दिए । ४० जना महिला फुटबलको बन्द प्रशिक्षणमा छन् । पोखरा रंगशालाभित्रको मैदान निर्माणाधीन अवस्थामै रहेकाले अबको बन्द प्रशिक्षण विजयपुर ब्यारेक, दोबिल्लास्थित सहारा क्लब मैदान र भण्डारढिकमा रहेको खेलमैदानलाई प्रशिक्षणका लागि विकल्पका रुपमा हेरिएको थापाले जानकारी दिए ।

भलिबलको काठमाडौंमा बन्द प्रशिक्षण
भलिबलको उर्वर भूमिका रुपमा चिनिएको क्षेत्रमा सागको प्रतियोगिता हुन लागेकोमा खुसी व्यक्त गर्छन्, पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष भीम पराजुली । पोखरामा हुने साग भलिबल प्रतियोगिता भलिबलमा नेपालले आफूलाई अब्बल सावित गर्ने एउटा अवसरका रुपमा उनले लिएका छन् ।

यतिबेला साग भलिबल प्रतियोगिताका लागि खेलाडी बन्द प्रशिक्षणमा छन् । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र काठमाडौंमा खेलाडीहरुले अभ्यास गरिरहेका छन् । पुरुषतर्फ १४ जना खेलाडी छनोट भइसकेका छन् भने महिलातर्फ २५ जनाले बन्द प्रशिक्षण लिइरहेको नेपाल भलिबल संघको वरिष्ठ उपाध्यक्ष याम गुरुङले जानकारी दिए । बन्द प्रशिक्षणका लागि थाइल्याण्ड जाने तयारी भइरहेको तर सबै टुंगो लागिनसकेको उनले बताए ।

साग भलिबल प्रतियोगिता पोखराको निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हालमा हुँदैछ । हलको निर्माण कार्य भने सकिइसकेको छैन । खेलकुदमन्त्री विश्वकर्माले बहुउद्देश्यीय कभर्ड हल भदौभित्रै सक्न निर्देशन दिएको बताए । भदौ १८ गतेभित्र महिला भलिबलको पनि अन्तिम छनोट भइसक्ने र त्यसपछि मात्रै पोखरामा बन्द प्रशिक्षणमा ल्याउने गुरुङले जानकारी दिए ।

बिच भलिबल प्रतियोगिताको भने यही हप्ताभित्र पोखरामा बन्द प्रशिक्षण हुँदैछ । महिलातर्फतको बिच भलिबल प्रतियोगिता पोखरामा गर्ने तयारी भइरहेको तर पुरुषतर्फको भने काठमाडौंमा हुन सक्ने उनको भनाइ थयो । ६ जना महिला र ६ जना पुरुष बिच भलिबलको बन्द प्रशिक्षणमा छन् ।

क्वाटरिङमा भारत्तोलन
पोखरामा हुने अर्को खेल हो, भारत्तोलन । तर, अझैसम्म भारत्तोलन हुने स्थान पक्का भइसकेको छैन । पोखरा सभागृहमा खेलाउने सुरुको योजना थियो । पोखरा महानगरपालिकाले मंसिरको पहिलो हप्तादेखि नै मर्मत गर्न लागेकाले सभागृहमा खेल नहुने पक्काजस्तै भइसकेको छ ।

सभागृह नपाउने भएपछि भारत्तोलय क्याटरिङमा खलाउने तयारी भइरहेको कास्की भारत्तोलन संघका अध्यक्ष राजन बड्गानेले जानकारी दिए । ‘सभागृहमा खेलाउने तयारी थियो । तर, महानगरले मर्मत गर्ने भन्दै दिएन,’ राजनले भने, ‘अब माटेपानीमा रहेको केसी क्वाटरिङमा भारत्तोलन खेलाउने तयारी गरेका छौं ।’

क्वाटरिङमा सबै पूर्वाधार भएकाले पनि सजिलो हुने उनको भनाइ थियो । भारत्तोलनमा ४० जना काठमाडौंमा बन्द प्रशिक्षणमा छन् । भदौ १५ गतेबाट पोखरामा प्रशिक्षण हुने उनले जानकारी दिए ।

खेल सामग्रीबिना ह्यान्डबलको तयारी
सागमा हुने प्रतियोगितामध्ये पोखरामा ह्यान्डबल पनि एक हो । पोखरा रंगशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हालमा ह्यान्डबल प्रतियोगिता हुने छ । त्यही कबर्ड हलमा अहिले बन्दसत्र चलिरहेको छ ।

कबर्ड हल निर्माणधीन अवस्थामै रहेकाले प्रशिक्षणमा समेत अप्ठेरो परिरहेको ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । ह्यान्डबलमा महिला, पुरुष गरी २८ जना बन्द प्रशिक्षणमा छन् । खेल सामाग्रीको अभावमा बन्द प्रशिक्षण भइरहेको संघका सचिव केशव पाठकले जानकारी दिए । खेलको बजेट नआएका कारणले खेल सामाग्री उपलब्ध हुन नसकेको हो ।

फेवातालमा ट्रायथलन
पोखरामा हुने ट्रायथलन खेलको अहिले काठमाडौंमा बन्द प्रशिक्षण चलिरहेको छ । काठमाडौं आर्मी ट्रेनिङ सेन्टर लगनखेलमा १२ जना खेलाडी बन्द प्रशिक्षणमा छन् । ट्रायथलनमा स्विमिङ, साइक्लिङ र रनिङ पर्छ । केही समयअघि पनि पोखरामा ट्रायथलन भएकाले यसको समस्या नरहेको ट्रायथलन संघका अध्यक्ष मिलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

रनिङ, साइक्लिङ र फेरि रनिङ हुने डुवाथलन पनि ट्रायथलनभित्रै खेलाइने श्रेष्ठको भनाइ छ । अर्को महिनादेखि पोखरामा प्रशिक्षण सुरु हुने छ । स्विमिङ पुल बनिनसकेकाले अहिले निजी ठाउँमा जहाँ उपलब्ध हुन्छ त्यहीँ प्रशिक्षण भइरहेको श्रेष्ठले बताए ।

आर्चरीको तयारीमा कोही जापान, कोही नेपाल
साग खेल अन्तर्गत पोखरामा हुने आर्चरीको तयारी भने जापान र नेपालमा चलिरहेको छ । आर्चरीमा पोखराबाट ४, कञ्चनपुरबाट १ र काठमाडौंबाट ७ जना गरी सहभागी हुने छन् ।

तीमध्ये ४ जना जापानमा प्रशिक्षण लिइरहेको आर्चरी संघ केन्द्रीय सचिव योगेन्द्र शेरचनले जानकारी दिए । बाँकीको पोखरामा प्रशिक्षण चलिरहेको छ । भदौ १७ गतेबाट पोखरामा बन्द प्रशिक्षण सुरु हुने शेरचनले बताए ।

पोखरा रंगशालाभित्रको आर्चरी मैदानमा प्रतियोगिता तयारी हुँदैछ । दुबो रोप्ने, मर्मत र रङरोगन गर्ने काम बजेटको अभावले प्रभावित भएको शेरचनको भनाइ छ ।

तपाईको प्रतिक्रिया