वडाध्यक्ष रणबहादुर हिरासत मुक्त

समाधान संवाददाता २०७६ भदौ ५ गते १२:४३

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा प्रहरी हिरासत मुक्त भएका छन् । झुठो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट २ तिब्बती शरणार्थीले नागरिकता लिएको प्रकरणमा वडाबाट सिफारिस गरेको भन्दै साउन ३१ गते पक्राउ परेका उनीसहित वडासदस्य ज्ञानबहादुर थापा समेत रिहा भएका छन् ।

नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका वडाध्यक्ष थापालाई पोखरा महानगरपालिका कार्यालयबाट हिरासत मुक्त गराइदिन जिल्ला प्रहरी कार्यालय कास्की मार्फत राष्ट्रिय अनुसन्धान हुँदै सरकारी वकिलको कार्यालयमा सिफारिस पुगेको थियो ।

Advertisement

मुलुकी फौजदारी संहिता बमोजिमनै जिम्मा जमानीमा तोकिएको मितिमा उपस्थित हुनेगरी जिम्मा जमानीमा छाड्न अनुमति दिइएको सरकारी वकीलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

साउन ३१ गते नै पक्राउ परेको स्थानीय पञ्जाधिकारी राजेन्द्र पौडेल भने हिरासतमै छन् । पोखरा महानगरबाट उपप्रमुख मञ्जुदेवी गुरुङले जमानीमा कास्की प्रहरीबाट हिरासत मुक्त गराएको प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

Advertisement

पक्राउ उपर मुद्दा दर्ता भइसकेकोले जुनसुकै बेलामा पनि वयान वा अन्य प्रक्रियाका लागि उपस्थित हुनुपर्ने छ । जनप्रतिनिधि हिरासतमै रहँदा जनताको दैनिक कार्यसम्पादन प्रभावित भएकोले महानगरले जिम्मा जमानीका लागि सिफारिस गरेको थियो ।

पोखरा २५ हेमजास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका सरु थापामगर र तासी आङ्मो थापामगरलाई आफ्नो छोरी बनाइ पोखरा १८ सराङकोटका लेखबहादुर थापाले नागरिकता दिलाएका थिए । नागरिकता दिलाउन सहयोग गर्ने ८ जनालाई साउन २४ गते पक्राउ गरिसकेको छ ।

आफ्नी छोरीका छोरीलाई वशंजको आधारमा नागरिकता दिलाउन झुटो विवरण पेस गरेका थिए । उनका आफ्ना छोरी नभई नातिनीलाई नागरिकता दिलाएको भन्दै राष्ट्रप्रेमी नेपाली समूहले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएपछि प्रशासनले छानबिन गरेको थियो ।

हप्तौसम्मको बयानपछि दोषी ठहर भएका सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने २ युवती र सर्जमिन मुचुल्कामा दस्तखत गर्ने ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया