कार्यकक्षमै थुनिए सडक कार्यालय प्रमुख

कृष्ण न्यौपाने
दमौली
डिभिजन सडक कार्यालय दमौलीका प्रमुख विष्णुप्रसाद काफ्ले १ घन्टा कार्यकक्षमा थुनिएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्ड मर्मत गर्ने सहमति कार्यान्वयन नभएको भन्दै शुक्लागण्डकी २ गाछेपानी क्षेत्रका स्थानीयवासीले कार्यालय प्रमुख काफ्लेलाई बुधबार १ घन्टा कार्यकक्षमा थुनेका हुन् ।
स्थानीयवासीले १ बजेदेखि २ बजेसम्म कार्यालय प्रमुख काफ्लेसहित इन्जिनियर सचिन श्रेष्ठलाई प्रमुखको कार्यकक्षममा चुकुल लगाएर थुनेका हुन् । राजमार्ग भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले गत चैत २४ गते राजमार्ग अवरुद्ध गरेपछि सरोकारवालाको बैठकले ३ महिनाभित्र सडक मर्मत थाल्ने प्रतिबद्धता जनाएको थियो । तर सहमति भएको ४ महिना बिते पनि मर्मतको काम सुरु नभएपछि बाध्य भएर कार्यालय प्रमुखलाई कार्यकक्षमै थुन्नुपरेको स्थानीयवासी हरि रिमालले बताए ।
घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या स्थानीयले भोग्नुपरेको छ । ‘सडक मर्मत गर्न माग गर्दै विगतदेखि नै आन्दोलन गर्दै आएका छाैं, तर सम्बन्धित निकायले यसमा चासो दिएको छैन,’ उनले भने, ‘आज बाध्य भएर कार्यालयमै आएर धर्ना दिएका हौं ।’ रिमालले कार्यालय प्रमुख र ठेकेदारको मिलेमतोका कारण काम हुन नसकेको शंका व्यक्त गरे ।
२ वर्ष अघि कालोपत्रे गरिएको सडकखण्ड भत्किएर खाल्डो परेपछि सोही खाल्डोमा दैनिकजसो दुर्घटना बढेको स्थानीयवासी शंकर पन्तले बताए । ‘धुलो र हिलोबाट आक्रान्त त भएका छांै नै, दिनदिनै दुर्घटनाको दृश्य हामीले देखिरहेका छांै,’ उनले भने, ‘विगतमा पनि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि माग पूरा हुन सकेको छैन ।’
सडकमा भएको खाल्डोका कारण २÷३ महिनामा धेरैको ज्यान गइसकेकाले सम्बन्धित निकायले अब पनि आफूहरुको माग पूरा नगरे अझ कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने पन्तले आक्रोश व्यक्त गरे ।
सडक खाल्डो परेर धुलोको समस्याले स्थानीयवासी बिरामी पर्न थालेको अर्का स्थानीयवासी कृष्ण भुजेलले बताए । उनले भने, ‘धुलोको समस्याले बिरामी नपरेको यहाँको एउटा पनि घर छैन, धुलोबाट साह्रै आजित भइयो ।’
स्थानीयवासीले सोही क्षेत्रका संघीय सांसद केदार सिग्देलको रोहवरमा कार्यालय प्रमुख काफ्लेलाई कार्यकक्ष बाहिर निकालेका थिए । संघीय सांसद सिग्देलले सडक डिभिजन कार्यालयले गम्भीरतापूर्वक स्थानीयवासीको माग पूरा गर्नुपर्नेमा जोड दिए ।
कार्यालय प्रमुख काफ्लेले यही भदौ १५ गतेबाट सडक मर्मतको काम सुरु गरिने प्रतिबद्धता जनाए । ‘ उक्त समयभित्र काम सुरु नभए ठेकेदार कम्पनीलाई कारबाही गरेर अर्को ठेक्का लगाउँछौ,’ काफ्लेले भने । सडकमा बग्ने पानी व्यवस्थापन नभएकाले कालोपत्रे गरे पनि सडक टिकाउ हुन नसकेको उनले जानकारी दिए । ‘सडकको पानी कटाउन नसकेकाले यो समस्या भएको हो,’ उनले भने, ‘सडकको समस्या समाधान नगरीकन दीर्घकालीन हुँदैन ।’
सडक डिभिजन कार्यालयले पुनस्र्थापना कार्य अन्तर्गत २०७३ साउन १२ गते रोशन सिद्धगढी जेभीसँग कालोपत्रेको सम्झौता गरेको थियो । २०७४ कात्तिक १२ गतेसम्म सम्पन्न गर्ने गरी दोस्रो पटक म्याद थप गरिएको थियो । कार्यालयका इन्जिनियर सचिन श्रेष्ठका अनुसार २ करोड ७१ लाख ८८ हजार ८ सय २ मा ठेक्का लगाइएकोे उक्त कार्यको १ करोड ४१ लाख ५३ हजार ५ सय ३० मात्रै भुक्तानी गरिएको छ ।
‘बेससम्मको काम सम्पन्न भएबापत भुक्तानी भएको छ, कालोपत्रेको रकम भुक्तानी गरिएको छैन,’ उनले भने, ‘काममा कैफियत भएको कारण नै भुक्तानी रोकेका छौं ।’ श्रेष्ठका अनुसार २०७५ चैत २५ गते ठेकेदार कम्पनीलाई सार्वजनिक सूचना जारी गरेर स्पष्टीकरण माग गरिएको थियो ।
१ हप्ताभित्र ठेकेदार कम्पनीले स्पष्टीकरण दिँदै वर्षा लगत्तै काम गर्ने प्रतिबद्धता जनाए पनि काम सुरु नभएपछि कार्यालयले २०७६ साउन २९ गते पत्र काटेर चाँडो काम गर्न नत्र शर्त अनुसारको कारबाही गरिने ठेकेदारलाई जानकारी गराएको थियो । ‘ठेकेदार कम्पनीले १५ गतेभित्र काम सुरु गर्छु भनेको भएर हामीले कुरेर बसेका हौं । त्यसभित्र पनि काम नभए ठेक्का तोडेर अर्को ठेक्का लगाउँछौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया