कसरी जाने ‘भाले बास्ने ताल’ ?

समाधान संवाददाता २०७६ भदौ ५ गते १३:५२

राकेश शर्मा
म्याग्दी

सामान्य ज्ञानदेखि लोक सेवाको परीक्षामा समेत भाले बास्ने ताल कहाँ पर्छ भन्ने प्रश्न सोधिन्छ । छुट्टै पहिचान बनेको ताल प्रचारप्रसारका अभावमा प्रवद्र्धन हुन सकेको छैन । नेपालका आकर्षक तालका सूचीमा रहेको उक्त तालको शिरानमा शिव मन्दिर छ ।

म्याग्दीको मालिका गाउँपालिका ६ मा पर्ने उक्त मन्दिरमा हरेक दिन प्रात कालमा एउटा भाले बास्ने गरेको र कताबाट आएर कता जान्छ भन्ने थाहा नभएकाले स्थानीयले भाले बास्ने ताल नाम राखेको बूढापाकाको भनाइ छ । मन्दिरमा बिहान भाले बास्ने समयमा पूजाआजा तथा दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

Advertisement

धामीझाँक्रीले तालमा स्नान गरेर मन्दिरमा आएर पूजाआजा गर्ने र आफ्नो शक्ति प्राप्तिका लागि साँढेको बलि दिने स्थानीयको भनाइ छ । यो तालमा देवताका अवतार छन्, यहाँ आएर भाले बास्ने बेलामा पूजा गरे मनोकामना पूरा हुने स्थानीय धनबहादुर गुरुङले बताए । ‘बाल्यकालमा जंगलमा पुग्दा भाले बासेको आवाज सुन्नेले गाउँमा पुगेर सन्देश फैलाउने गर्थे,’ उनले भने, ‘सानोमा पशुचौपाया लिएर त्यहाँ पुग्दा झरनाको फेदीमा नीलो ताल तथा आसपासका क्षेत्रमा जंगली जनावरसमेत देखिन्थे ।’

धार्मिक महत्व र पर्यटनको सम्भावना बोकेको उक्त तालको संरक्षमा कसैको ध्यान गएको छैन । ताल आसपासमा पाइने फलफूल त्यहाँ खाँदा केही नहुने तर घरमा लैजादा नराम्रो हुने गरेको जनविश्वास छ । धामीझाँक्री र लामाले आफूभित्र रहेको शक्तिलाई पुष्टि गर्न गाउँबाट खाली खुट्टा कठोर यात्रा गरी मन्दिरमा पूजाआजा र बलि दिएर स्थानीयसमक्ष आफ्नो शक्ति प्रदर्शनसमेत गर्ने गरेको गाउँका अग्रजको भनाइ छ । पहाडबाट झर्ने आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटरमा फैलिएको तालसम्म पुग्ने पदमार्ग पनि बाढीले बगाएकोे छ ।

Advertisement

तालको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि पक्की पदमार्ग आवश्यक भएकोे स्थानीय बताउँछन् । जंगलभित्र रहेका नियालोको सहारामा आन्तरिक पर्यटकले आवतजावत गर्ने गरेका छन् । जंगलमा रहेको नियालो खान आउने वन्यजन्तुसँगकोे त्रासमा नै तालसम्म पुग्नुपर्ने बाध्यता रहेको स्थानीयले नन्दबहादुर पुनले बताए । पछिल्लो समय ग्रामीण क्षेत्रमा विस्तार भइरहेका सडकबाट बग्ने लेदोले तालको अतिस्त्व संकटमा पुग्ने खतरासमेत बढेको छ । यहाँ गाउँका ९ भाइ लाहुरेमध्ये १ जनाले भरिया लिएर तालको अवलोकन गर्न गएको अवस्थामा ताल नजिक दरबार जस्तै घरमा रात बिताएर बिहान ढुंगामा सुतेको अवस्थामा भेटिएको किंवदन्ती छ ।

करिब १ सय वर्ष अगाडिसम्म नियमित पूजाआजासहित तालको संरक्षण गर्ने गरिएको स्थानीय बूढापाले भन्ने गरेको वडाध्यक्ष सन्तनाथ जैशी ‘सन्तोष’ बताए । ‘मलाई पनि बूढापाकाले भनेका हुन्, यहाँ १ सय वर्ष पहिला नियमित पूजा हुन्थ्यो,’ उनले भने, ‘मन्दिरमा आफ्नो मनोकामना पूरा गर्ने, शैक्षिक, रोजगारी तथा सेनामा भर्ती हुनेले भाकल गर्न आउने गरेका छन् ।’ पूजाआजा र भाकल गरेमा आफूले इच्छाएको पूरा हुने भएकाले पनि दरवाङ तथा बाबियौचारका स्थानीय मन्दिरसम्म पुग्ने गरेका छन् । विभिन्न जिल्लाबाट म्याग्दीको सदरमुकाम बेनीमा यातायातका साधनमा आएर बेनीबाट बेनी–दरवाङ सडकखण्ड अन्तर्गत पर्ने सहस्रधारा, दुखुबेंसी, दरुङ गाउँबाट तालसम्म पुग्ने गरका छन् ।

तपाईको प्रतिक्रिया