आदिकवि क्याम्पस प्रशासनको ध्यानाकर्षण

समाधान संवाददाता २०७६ भदौ ६ गते १२:३८

समाधान संवाददाता
दमौली

तनहुँको व्यास नगरपालिका १ स्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् । क्याम्पसले आर्थिक वर्ष ०७६÷७७ देखि मासिक शुल्क वृद्धि गरेपछि स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस इकाइले मासिक शुल्क घटाउन माग गर्दै बिहीबार क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई ज्ञापनपत्र बुझाएको छ ।

युनियन अध्यक्ष दुर्गा भण्डारीले मासिक शुल्क वृद्धिले विद्यार्थीलाई मार पर्ने भएकाले शुल्क घटाउन माग गरिएको बताइन् । ‘चालु आर्थिक वर्षर्मा शुल्क वृद्धि भएका कारण गरिब तथा जेहेन्दार विद्यार्थीमा आर्थिक भार पर्ने देखिएको छ,’ उनले भनिन्, ‘विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै न्यायोचित शुल्क दर कायम गर्न क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका हौ ।’

Advertisement

भण्डारीका अनुसार २० प्रतिशतसम्म शुल्क बढाउँदा विद्यार्थीलाई कुनै आपत्ति नभए पनि एकैचोटि ५० प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरिएकाले क्याम्पस प्रशासनमा ज्ञापनपत्र बुझाइएको हो ।

क्याम्पस सञ्चालक समितिले विषय अनुसार मासिक शुल्कमा वृद्धि गर्ने निर्णय गरेको थियो । जसअनुसार व्यवस्थापनतर्फ १ हजार २ सय, गणिततर्फ १ हजार ५ सय, विज्ञानतर्फ १ हजार ८ सय शुल्क वृद्धि गरिएको छ ।

Advertisement

क्याम्पस सञ्चालक समिति उपाध्यक्ष श्रीराम कार्कीले प्रत्येक वर्ष मासिक शुल्क वृद्धि गर्ने प्रचलन भए बमोजिम चालु आर्थिक वर्षमा पनि केही शुल्क वृद्धि भएको जानकारी दिए । ‘आर्थिक वर्ष फेरिएसँगै शुल्क वृद्धि हुनु नियमित र स्वाभाविक हो,’ उनले भने ।

क्याम्पसले चालु आर्थिक वर्षदेखि अपांगता भएका विद्यार्थीलाई भने सबै तहमा ७५ प्रतिशत छुटसहित अध्यापनको व्यवस्था मिलाएको छ । क्याम्पसमा २ हजार ५ सय विद्यार्थीमध्ये २ हजार विद्यार्थी छात्रा छन् ।

कुल विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् । कुल विद्यार्थीको १८ प्रतिशत विद्यार्थी दलित छन् भने ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् । क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थीहरु क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले शैक्षिक गुणस्तर मापन (क्युएए) को मान्यता प्राप्त गरिसकेको छ । क्याम्पसले एमबिएस र एमएड तहमा नेपालकै उत्कृष्ट क्याम्पस र नेपालकै दोस्रो उत्कृष्ट सामुदायिक क्याम्पसको उपाधि प्राप्त गरिसकेको छ ।

अमेरिकाको मिजौरी सदन विश्वविद्यालयसँग दौत्य सम्बन्ध कायम गरेको क्याम्पसमा आधुनिक र पर्याप्त पाठ्यसामग्रीसहितको व्यवस्थित पुस्तकालय, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, छात्रा विद्यार्थीका लागि छात्राबासको व्यवस्था रहेको छ । क्याम्पसले गरिब, जेहेन्दार, दलित, जनजाति, सीमान्तकृत, सहिद परिवार, भूकम्प पीडित विद्यार्थीका लागि अक्षयकोषबाट छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया