बैठक चलाउँदा-चलाउँदै सभामुखले बच्चालाई दुध खुवाए, भिडिओ भयो भाइरल

समाधान संवाददाता २०७६ भदौ ६ गते १३:०७

एजेन्सी

संसदीय व्यवस्थामा सभामुखको काम संसद चलाउने हो । सरकार र प्रतिपक्षका सांसदलाई मिलाएर विधेयक र समयसामयिक विषयमा छलफल र बहस गराउने जिम्मा उनको हुन्छ । कहिलेकाहीँ यो भूमिका निभाउन सजिलो हुन्छ, विवादित विषय र चर्काचर्की बहस हुँदा कठिन ।

संसदमा यस्तै चर्काचर्की बहस भइरहेका बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन् ।

Advertisement

यो बुधबारको घटना हो । सांसदहरूले तर्कवितर्क गरिरहेका बेला सभामुख ट्रेभर मालार्डले आफ्नो काखमा एक बच्चा राखेका थिए र उसलाई बोतलबाट दूध खुवाइरहेका थिए ।

डेढ महिनाको ती बालक सत्तारूढ लेबर पार्टीकी सांसद तमाटी कोफीका छोरा हुन् ।

Advertisement

सांसद कोफी बच्चा समाएरै बहस गर्न थालेपछि सभामुखले  आफूले बच्चा समाइदिने बताएका थिए ।  

सभामुख मालार्ड साँझ ट्वीट गर्दै सभामुखको कुर्सीमा प्राय: जिम्मेवार अधिकारीमात्र बस्छन् । तर आज  मसँग एकजना भिआइपी पनि कुर्सीमा बसे भन्दै फोटोसहितको ट्वीट गरेका छन् ।

मालार्डले ती बच्चालाई दूध खुवाइरहेको भिडिओ पनि सार्वजनिक भएको छ । भिडिओ अहिले भाइरल बनिरहेको छ । धेरैले उनको यो कामको तारिफ गरेका छन् ।

मालार्डले दुई वर्षअघि संसदलाई बच्चामैत्री बनाउने कानुन पारित गराएका थिए ।

अहिले दर्जन बढी सांसदहरू बच्चासहित संसद आउँछन् ।

केही समयअघिमात्र न्युजिल्याण्ड प्रधानमन्त्रीले गर्भवती हुँदा विदा लिएकी ‍थिइन् । उनी प्रधानमन्त्री हुँदा बच्चा पाउने पाकिस्तानकी बेनेजिर भुट्टोपछिकी दोस्रो महिला हुन् ।

तपाईको प्रतिक्रिया