जस्ट इन टाइम पूरा गरेन ‘टाइम’मा सम्झौता

समाधान संवाददाता २०७६ भदौ ६ गते १३:२८

सुरेशराज अधिकारी
पोखरा

विजयपुरदेखि तालचोकसम्मको बाटो आवधिक निर्माण गर्न २०७३ साल फागुन २९ गते सम्झौता भयो । निर्माणको जिम्मा जस्ट इन टाइम कम्पनीले लिएको छ । सम्झौता अनुसार ०७४ जेठ ३० मै सडक मर्मत सक्नुपर्ने हो ।

तर, सम्झौता सकिएको २ वर्ष भइसक्दा पनि सो सडकको निर्माण कार्य हालसम्म सुरु भएको छैन । पृथ्वी राजमार्ग अन्तर्गत गर्ने उक्त खण्ड ४ किलोमिटर निर्माण गर्नुपर्ने जिम्मा ठेकेदार कम्पनीलाई थियो । डिभिजन सडक कार्यालयका इन्जिनियर आशिक रिजालका अनुसार काम सम्पन्न गर्न १ करोड १२ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

Advertisement

सम्झौताअनुसार भएको कालोपत्रे सडकमाथि पुन अलकत्रा राखेर मसिनो गिटी बिछ्याउने हो । अहिले भइरहेको कालोपत्रेमाथि पुन अलकत्र राखेर पुन मसिनो गिट्टी राखेर मर्मत गरिने हो । तर, निर्माणको ठेक्का पाएको कम्पनीले काममा चासो नदिँदा हालसम्म सो काम सुरु भएको छैन । जसको मारमा पोखरा लेखनाथ यात्रा गर्ने हजारौं यात्रु छन् ।

सम्झौताअनुसार काम नहुँदा सडक डिभिजन कार्यालयले पटक पटक ताकेता पनि गरेको दाबी गर्छ । तर, ठेकेदार कम्पनीको अटेरीका कारण काम सुरु हुन सकेको छैन । रिजाल भन्छन्, ‘पटक पटक गरेर लिखित तथा मौखिक रुपमा र विभिन्न सञ्चार माध्यममा सूचना निकालेरै पनि हामीले निर्देशन दिइरहेका छौं ।’

Advertisement

उक्त बाटो आवधिक निर्माण नहुँदा बाटोभरि ठूलाठूला खाल्डाखुल्डी भएका छन् । जसका कारण दुर्घटनाको हुने सम्भावना रहेको सरोकारवाला बताउँछन् । सडकको खाल्डाखुल्डीका कारण दुर्घटना बढेको भन्दै असार १० गते सडक डिभिजन कार्यालय पोखराले पुन ताकेता पनि गरेको थियो । ‘सडकको आवधिक निर्माण के कति कारणले ढिलाइ भइरहेको हो त्यसबारे कारणसहित कार्यालयमा उपस्थित हुन कम्पनीलाई निर्देशन दिएका थियौं,’ रिजालले भने, ‘तर, निर्माण कम्पनीले हाम्रो निर्देशन बेवास्ता गरिरहेको छ ।’

आगामी असोजसम्म काम सक्छौंः ठेकेदार कम्पनी
विजयपुर–तालचोक सडक खण्ड आवधिक निर्माण गर्न जिम्मा पाएको ठेकेदार कम्पनी जस्ट इन टाइमले सामानको मूल्य वृद्धि भएका कारण काममा ढिलाइ भएको बताएको छ । कम्पनीका सुरेन्द्र बस्नेतका अनुसार सामानको मूल्य वृद्धि र अघिल्ला ठेक्काको रकम ढिलो आएका कारण काम सक्न समस्या भएको जिकिर गरे ।

‘केही मेसिनमा समस्या आएको छ । अघिल्ला ठेक्काको रकम पनि ढिलो आइपुग्यो,’ बस्नेतले भने, ‘अब हामीले काम आगामी असोज १० गतेसम्म सक्छौं ।’ उनले गगनगौंडाको बाटो निर्माण गरेको बजेट ढिलो निकासा हुँदा समयमै काम सक्न गाह्रो भएको बताए ।

तपाईको प्रतिक्रिया