रेबान साधारण सभामा प्रहरीको प्रश्नः लेकसाइडमा चोरी, याैन दुर्व्यवहार, ग्याङफाइट र धम्की छ ?

समाधान संवाददाता २०७६ भदौ ६ गते १५:४७

समाधान संवाददाता, पोखरा

साँच्चीकै सुरक्षा थ्रेट छ ? कसैको रेस्टुरेन्ट तोडफोड भएको छ ? व्यक्तिगत रुपमा कसैलाई थ्रेट आएको छ ? वा चोरी भएको छ ? यी प्रश्न वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कोमल शाहका हुन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराको २५ औं साधारण सभामा बुधबार लेकसाइडको शान्ति सुरक्षा र २४ सै घन्टा खुला गर्ने वा नगर्ने भन्ने बहस उठेपछि डिएसपी शाहले यी प्रश्न सोधेका हुन् ।

डिएसपी शाहले लेकसाइडमा शान्ति सुरक्षाको स्थिति बलियो रहेको तर्क गरे । उनले भने, ‘लेकसाइडमा कोही महिलालाई अभद्र व्यवहार भएको छ ? बलात्कार भएको छ ?’ कसैको स्वार्थमा लेकसाइडको शान्ति सुरक्षाबारे प्रोपोगान्डा मच्चाइएको उनको भनाइ थियो । ‘शान्ति सुरक्षा छैन नभन्नोस्, शान्ति सुरक्षाको स्थिति बिग्रेको छैन, मजबुद गरिरहेका छौं,’ उनले भने, ‘कुनै समस्या आउन दिँदैनौं ।’

Advertisement

करोडौं रुपैयाँ लगानीमा व्यवसाय गर्नेले ध्वनि प्रदूषण रोक्ने उपाय आफै गर्नुपर्ने डिएसपी शाहको भनाइ थियो । उनले फेरि अर्काे प्रश्न राखे, ‘लाखौंको व्यापार हुन्छ, जिम्माचाहिँ प्रहरीले लिनुपर्ने ?’ लेकसाइडमा कतै चोरीका घटना पनि नभएको भन्दै डिएसपी शाहले वडा कार्यालयमा भएको चोरीको एउटा घटनाका दोषीलाई पनि प्रहरीले तुरुन्तै समातेको उदाहरण पेस गरे । ‘शान्ति सुरक्षाको स्थिति डगमगाएको छैन, चोरी भएको छैन, हुन दिन्नौं, ग्याङफाइट हुन दिन्नौं, गुन्डागर्दी गर्न दिन्नौं,’ उनले भने, ‘तपाईंहरुको व्यवसाय सुरक्षाको जिम्मा पनि हाम्रो हो । त्यस कारण हामीसँग समन्वय गरेर अगाडि बढ्नोस् । तपाईंहरुलाई बेवास्ता गरेर म एसीमा सुत्न आएको होइन ।’

अघिल्ला वक्ताहरुले लेकसाइड २४ सै घन्टा खुला गर्ने नगर्नेबारे पछिल्लो समय उठेको बहसकै वरिपरि विचार राखेका थिए । त्यसै क्रममा डिएसपीले प्रतिउत्तरात्मक भनाइ राखे । त्यही सभामा प्रमुख अतिथि रहेका गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भने त्यस प्रसंगमा बोलेनन् । उनले सदाझैं पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढेको बताए ।

Advertisement

मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्षको बाँकी ४ महिनाभित्रै १५ लाख पर्यटक पुर्‍याउने अठोट जाहेर भने गरे । ‘भ्रमण वर्ष घोषणा गर्‍यो, मन्त्रीले बस लिएर गएर पर्यटक ल्याइदिओस् भन्ने अपेक्षा छ भने त्यो गर्ने होइन, तपाईंहरु कार्यक्रम बनाउनोस्, गुनासो गर्न होइन काम कार्यक्रम लिएर आउनोस्,’ पर्यटन व्यवसायीसँग गुनासो गर्दै उनले भने, ‘राजा आए, राजा आए भन्दा त पल्लाघरे माइलो रहेछ भने झैं मन्त्री आयो भन्दा त्यही पृथ्वीनारायण क्याम्पसमा पढेको विद्यार्थी रहेछ भने झैं मलाई कम आँकेको महसुस गरेको छु ।’ संघ सरकारले घोषणा गरेको भ्रमण वर्ष कार्यान्वयन समितिमा मनोनीत व्यवसायीतर्फ उनले संकेत गरेको सभाका सहभागीको बुझाइ थियो ।

पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले निर्वाध रुपमा व्यवसाय गर्न पाउनुपर्ने तर शान्ति पनि कायम हुनुपर्ने धारणा राखे । उनले भने, ‘सबैले जित्नेखालको बाटो बनाउन सबै लाग्नुपर्छ ।’ पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले आचारसंहिता बनाएर हुबहू कार्यान्वयन हुनुपर्ने खाँचो औंल्याए । उनले सिसिटिभी, सुरक्षागार्ड लगायत व्यवस्था हुनुपर्नेमा जोड दिए ।

होटल संघका अध्यक्ष विकल तुलाचनले रात्रिकालीन व्यवसाय सम्बन्धी धेरै विकल्पका लागि पहल गर्दा सफल नभएपछि अदालत पुगेको बताए । ‘२४ घन्टा खोलिनुपर्छ, तर मापदण्ड बनाएर,’ उनले भने, ‘समाजलाई कोलाहलमुक्त बनाउनुपर्छ ।

यो बहस शान्ति चाहने र नचाहनेको हो ।’ सामुदायिक सेवा केन्द्र बैदामकी अध्यक्ष मीना भट्टराईले डिस्को, डान्स र बारहरुमा विदेशी पर्यटकभन्दा पनि स्थानीय युवाहरु जाने गरेको बताइन् । ‘हाम्रा युवा बिग्रन दिनु हुँदैन,’ उनले भनिन्, ‘मर्निङ वाकमा निस्कदा हेर्न नसक्ने दृश्य देख्नुपरेको छ ।’ रेबानका पूर्वअध्यक्ष सूर्य भुजेलले सिसिक्यामेरा र सडक बत्तीका लागि बजेट छुट्याइदिन प्रदेश सरकारसँग आग्रह गरे ।

रेबान पोखरा अध्यक्ष भीमसेन भुजेलको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन् समारोहमा पर्यटनविज्ञ जुद्ध गुरुङ, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी, उद्योगी व्यवसायी सञ्जीवबहादुर कोइराला लगायतले भनाइ राखेका थिए । रेबान महासचिव गणेशबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण बरालले स्वागत गरे ।

तपाईको प्रतिक्रिया