स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

समाधान संवाददाता २०७६ भदौ ८ गते १२:१५

कृष्ण न्यौपाने
दमौली

सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण बढेको छ । सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सरकारले यातायात खर्चस्वरुप राहत रकम उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको आकर्षण बढेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित आँबुखैरेनी स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी गराउनेको संख्या गत वर्षको तुलनामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७४÷७५ मा ८६ जनाले सुरक्षित सुत्केरी गराएको उक्त स्वास्थ्यचौकीमा आर्थिक वर्ष ०७५÷७६ मा १०५ जनाले सुरक्षित सुत्केरी गराएको स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब अगमराज उपाध्यायले जानकारी दिए ।

Advertisement

सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेलाई संघीय सरकारले यातायात खर्चस्वरुप २ हजार उपलब्ध गराउँदै आएकोमा आँबुखैरेनी गाउँपालिकाले गत आर्थिक वर्षदेखि थप १ हजार उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको आकर्षण बढेको उपाध्यायले बताए ।

त्यसबाहेक सरकारी स्वास्थ्य संस्थामा नियमित ४ पटक गर्भवती जाँच गराउनेलाई थप ८ सय र नवजात बच्चाआमा दुवैलाई २÷२ जोर कपडा उपलब्ध गराइएको छ । उपाध्यायका अनुसार सरकारी स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी गराउँदा हुने सुरक्षाका बारेमा सचेतना बढेका कारण पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिला बढेका हुन् ।

Advertisement

पृथ्वीराजमार्गसँगै जोडिएको स्वास्थ्यचौकीमा चौबिसै घन्टा सुत्केरी सेवा सञ्चालन गरिएको छ । जुनसुकै समयमा आए पनि सेवा दिने भएका कारण गाउँपालिका बाहेक गोरखाका केही महिलाले समेत यहाँबाट सेवा लिने गरेका छन् । ठूलो बजार क्षेत्र ओगटेको उक्त स्वास्थ्यचौकीमा कोठा र उपकरण भने अभाव छ ।

तपाईको प्रतिक्रिया