‘ट्रेड युनियनले संस्कार र संस्कृति बचाउनु पर्छ’

समाधान संवाददाता २०७६ भदौ ८ गते १३:२१

समाधान संवाददाता, पाेखरा

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले तीज विशेष सभा गरेको छ । शुभकामना आदानप्रदान, नयाँ सदस्यता थप र दर खुवाउँदै नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले तीज पर्व मनाएको हो । कार्यक्रममा महिला नेतृ शारदा पौडेलले संस्कार र संस्कृतिले नेपालीलाई आपसमा बाँधेको बताइन् । पूर्व सभासद पौडेलले तीजप्रति प्रशासन आक्रामक बन्नु सरकारको रवैया भएको अथ्र्याइन् । उनले प्रशासनको कामको कुनै अर्थ नरहेको बताउँदै आगामी दिनमा यस्तो नकारात्मक हर्कत नगर्न अनुरोध गरिन् ।

कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले महिला दिदी बहिनीले रमाइलो गर्दा तीज भड्किलो भन्नु निन्दनीय भएको उल्लेख गरिन् । उनले पुरुष र महिलालाई एकै ठाउँमा राखेर हेर्दा समस्या आएको बताइन् । पुरुषले जे गरेपनि छुट हुने अनि महिलामाथि दोहन गर्न खोज्ने ? प्रस्न गर्दै नेतृ पाण्डेले निर्मला जस्ताका न्याय दिन नसक्ने सरकारले मजदुर हितमा काम गर्न नसक्ने ठोकुवा गरिन् ।

Advertisement

नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटले तीज भड्किलो भयो भनेर महिलामाथि अन्याय गर्न खोजिएको बताइन् । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्मा, केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, निवर्तमान अध्यक्ष कुलदेवी बराल, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल लगायतले बोलेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महिला समिति संयोजक पूर्णकुमारी गुरुङले स्वागत र सचिव रुद्र तिमिल्सिनाले सञ्चालन गरेका थिए । कार्यक्रममा युनियनमा आवद्ध १६ प्रतिष्ठानका नेतृत्व र महिलाको उल्लेख्य सहभागिता रहेको वरिष्ठ उपाध्यक्ष कमलबहादुर सापकोटाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया