डेंगु नियन्त्रणका प्रयास

समाधान संवाददाता २०७६ भदौ १० गते १८:२७

राजुरमण न्यौपाने

पोखरा महानगरपालिकामा विगतका वर्षमा डेंगु रोगको खासै प्रभाव थिएन । आव २०७२÷७३ मा एउटा केस रेकर्ड भएको थियो । त्यसभन्दा अगाडिका वर्षहरुमा रेकर्डिङ तथा रिपोर्टिङ भएको पाइँदैन । साथै आव २०७३÷७४, २०७४÷७५ मा पनि एक÷एक केस भएको तथ्यांक पाइन्छ भने आव २०७५÷७६ मा डेंगु रोगीको संख्या बढेर ५ सय ७१ पुगेको विभिन्न अस्पतालको प्रतिवेदनले देखाउँछ ।

यस आवमा साउन १६ गते फेवासिटी अस्पतालबाट २ जना डेंगुरोगका बिरामी ल्याव परीक्षण बाट पत्ता लागेको प्रतिवेदन आएपछि पोखरा महानगरको वडा नम्बर ८, शिवालय टोलबाट पोखरामा डेंगु रोगको संक्रमण सुरु भएको हो । भदौ ९ गतेसम्म २ सय ८० जना डेंगु रोगी भएको तथ्यांक महानगरपालिकासँग छ ।

Advertisement

डेंगु रोग के हो ?
डेंगु एडिज लामखुट्टेको टोकाइबाट सर्नेे सरुवा रोग हो । यो रोग १ मानिसबाट अर्को मानिसमा संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेंगु रोग लागेपछि निम्न लक्षणहरु देखिन्छन् ।

लक्षणः
उच्च ज्वरो आउनु आँखाको गेडी वरिपरि तथा टाउकाको पछाडिको भाग दुख्ने
जिउ दुख्ने
जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने
छालामा बिमिरा आउने
शरीरका कुनै पनि भागमा रक्तश्राव हुने

Advertisement

डेंगु रोगको उपचारः
डेंगु रोग भाइरसको कारणबाट हुनेहुँदा खास उपचार र खोप नभएकाले समयमै स्वास्थ्य सस्था वा अस्पताल गई लाक्षणिक उपचार गर्नु नै यसको उपचार हो ।

डेंगु रोगबाट बच्ने उपायः
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ
लामखुट्टेको टोकाइबाट बच्न दिनको समयमा पूरै शरीर ढाकिने गरी लुगा लगाउने
सुत्दा झुलको प्रयोग गर्ने
जम्मा भएको सफा पानीमा डेंगु रोग लगाउने लामखुट्टेको बासस्थान हुने भएकाले घर वरिपरिको पानी जम्ने स्थान जस्तैः खुला पानी ट्यांकी, टायर, गमला तथा कुनै पनि भाडामा लामो समयसम्म पानी जम्न नदिने र प्रत्येक ३ वा ४ दिनमा खाली गर्ने, पानी जम्न नदिने ।
घरायसी प्रयोजनका लागि संकलन गरिएको पानीको भाडा राम्रोसँग ढाक्ने ।
नियमित वातावरणीय सरसफाई गर्ने ।
माथिका लक्ष्यणहरु देखिएका तल्काल स्वास्थ्य सस्थामा जाने र
चिकित्सकको सल्लाह बिना कुनै पनि औषधी प्रयोग नगर्ने ।

प्रयास
साउन १६ गते प्रदेश स्वास्थ्य कार्यालय, कास्की तथा प्रदेश स्वास्थ्य आपत्कालीन समन्वय केन्द्र मार्फत् पोखरा महानगरपालिका – ८, शिवालय चोकका २ जनामा डेंगु रोग लागेको निश्चित भएको सूचना प्राप्त भएको थियो । सोका आधारमा उक्त स्थानमा गइ वास्तविकता बुझेपछि सोको नियन्त्रणका लागि तत्काल पहल भएको छ ।

सोही दिन पोखरा ८ का वडाध्यक्ष, स्वास्थ्य महाशाखा प्रमुखसहितको टोली बिरामीको घरमा पुगेको थियो । वस्तुस्थिति बुझेपछि वडाध्यक्षको संयोजकत्वमा सरोकारवालाको बैठक बसी समुदाय परिचालन गर्ने निर्णय भएको हो । १७ गते सोही वडाका जनप्रतिनीधि, महिला स्वास्थ्य स्व्यंसेविका, टोल सुधार समिति र अन्य व्यक्तिलाई अभिमूखीकरण गरी नियन्त्रणको पहल थालिएको हो ।

१८ र १९ गते डेंगु नियन्त्रण गर्न लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियान सञ्चालन थालिएको हो । उक्त अभियान अहिले पनि जारी छ । पोखरा महानगर क्षेत्रमा थप डेंगु रोगका बिरामी भए नभएको यकीन गर्न पोखरास्थित निजी तथा सरकारी अस्पतालको सर्भिलेन्स सुुरु गरिएको छ ।

डेंगुबाट बच्ने र नियन्त्रणका उपायसहितका सन्देश आमसञ्चार माध्यमबाट प्रकाशन÷प्रशारण गरेर समेत जनचेतना फैलाइएको छ । पोखरामा रहेका सबैजसो सरकारी र निजी अस्पतालहरुसँग नियमित रुपमा समन्वयसमेत हुँदै आएको छ । पत्रकारसँग अन्तक्र्रियाका साथै जनप्रिय क्याम्पसका विद्यार्थीलाई समेत योग रोगबारे छलफल भइसकेको छ ।

स्वास्थ्य सस्था प्रमुखहरुलाई अभिमूखीकरण, माइकिङका साथै राजनीतिक उच्च तह, प्रदेश मन्त्रालय अन्र्तगतका निकायहरु तथा संघीय मन्त्रालयका निकायसँग लगातार समन्वय, छलफल तथा बैठक हुँदै आएका छन् ।

यसका अतिरिक्त जाप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेवक, नगरवासी, गण्डकी मेडिकल कलेज, मनिपाल मेडिकल कलेजका विद्यार्थीसमेत यो अभियानमा जुटिरहेका छन् । जनप्रिय कलेजका विद्यार्थी, सामुदायिक प्रहरी तथा सुरक्षाकर्मी, पत्रकार र स्थानीय स्वयं सेवकहरुको सहभागितामा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियान सञ्चालन भइरहेको छ ।

नियमित वातावरणीय सरसफाइमा ध्यान दिई डेंगु रोग लाग्नबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउन सके हाल पोखरा महानगरपालिका र आसपासका क्षेत्रहरुमा देखिएको डेंगु रोग नियन्त्रण गर्न सकिने छ । डेंगु रोग नियन्त्रण गर्ने कुनै एक पक्षको मात्र दायित्व नभई सबै पक्षले समान रुपले जिम्मेवारी महसुस गरी आ आफ्ना क्षेत्रबाट सक्दो सहयोग गरौं ।
(न्यौपाने पोखरा महानगर स्वास्थ्य महाशाखामा कार्यरत छन् ।)

तपाईको प्रतिक्रिया