पोखरा विमानस्थल ४५ प्रतिशत काम पूरा

समाधान संवाददाता २०७६ भदौ १२ गते १२:५४

समाधान संवाददाता
पोखरा

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ४५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजना प्रमुख विनेस मुनकर्मीका अनुसार उक्त प्रगति समग्र भौतिक संरचना निर्माणमा भएको जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई विमानस्थलको निरीक्षणको क्रममा उनले विमानस्थलमा भइरहेको कार्यप्रगतिबारे जानकारी दिएका हुन् ।

‘२ हजार ५ सय लामो रनवे निर्माणको काम सकेर धमाधम अन्य संरचनामा पनि निर्माण पक्षले काम गरिरहेको छ,’ उनले भने, ‘टर्मिनल भवन, ह्यांगर, कार्गो बिल्डिङ लगायत निर्माण भइरहेका छन् ।’

Advertisement

विमानस्थल क्षेत्रमा अत्यधिक माटो रहेको ठाउँमा काट्नुपर्ने र खाली रहेको ठाउँ थप्नुपर्ने भएकाले त्यसको काम समेत ८५ प्रतिशत सम्पन्न भइसकेको उनले बताए । ८ वटा कल्बर्ट निर्माणदेखि सिञ्चाई केनल, साइड (ड्रेन) नालीको समेत काम तीव्रताका साथ भइरहेको जानकारी दिए ।

यसबीचमा विमानस्थलमा आवश्यक भौतिक संरचना, प्रयोग हुने विद्युतीय उपकरण देखि फ्लाइट कम्युनिकेसनसम्मका इन्जिनियरिङ डिजाइन सकिएको बताएका थिए ।

Advertisement

निर्माण क्षेत्रमा कडा चट्टानका कारण केही समस्या देखिएको आयोजना प्रमुख मनकर्मीले जानकारी दिए । ‘समस्या समाधानका लागि ब्रेकर (मेसिन) र बिस्फोटक पदार्थको प्रयोग गरी चट्टान फोड्ने काम गरेका छौं,’ उनले भने ।

आउटर पेरीफेरीमा बन्ने रोडका लागि जग्गा अधिग्रहणमा परेका सुकुम्बासीहरुलाई हटाउन समस्या परिरहेको समेत आयोजना प्रमुख मुनकर्मीले पर्यटनमन्त्री भट्टराईलाई ध्यानाकर्षण गराएका छन् ।

आटर पेरीफेरीमा अधिग्रहणका लागि परेका घरजग्गाको हकमा भने मुआब्जा वितरणको काम ९५ प्रतिशत सकिएको उनले बताए । फ्युल र विद्युत डेडिकेटेड फिडर लाइनको व्यवस्था गर्न निगम र प्राधिकरणलाई अनुरोध गरिएको भएपनि समय लाग्ने भएको सुनाए । ‘नेपाल आयल निगमलाई हाल उपलब्ध १४ रोपनी जग्गामा काम गर्न भनी पत्राचार गरिसकिएको छ । प्रक्रिया अनुसार उक्त जग्गा अधिग्रहणको काम सुरु हुनेछ,’ उनले भने ।

अतिरिक्त ह्यांगर, तेल रिजर्भेसन, हेलिप्याड, लोकालाइजर, गाइड पाथ लगायतका अन्य आवश्यक पूर्वाधारको लागि थप जग्गा आवश्यक देखिँदा सम्भाव्यता अध्ययन गरी अधिग्रहणको प्रक्रिया अघि बढाइएको समेत आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए ।

झन्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा बन्न लागेको विमानस्थल यहीँ गतिमा काम भइरहे सम्झौताको ६ महिना अगावै सम्पन्न गर्न सकिने लक्ष्य लिइएको आयोजना पक्षले समेत दाबी गरेको छ । चिनियाँ ठेकेदार कम्पनी सिएमसिईसँग नेपाल सरकारले गरेको सम्झौता अनुसार सन् २०२१ जुलाई १० मा सम्पन्न गरी विमानस्थल हस्तान्तरण गर्नुपर्ने हुन्छ । सरकारले विमानस्थल निर्माणका लागि सन् २०१४ मे २२ मा चिनियाँ ठेकेदार कम्पनी ‘चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड’लाई ठेक्का दिएको थियो ।

विमानस्थल अन्तर्राष्ट्रिय उड्यन संस्था (आइसिएओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल सञ्चालनमा आएसँगै बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजले उडान भर्नेछन् । सन् २०१७ को नोभेम्बरदेखि विमानस्थलको निर्माण सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पोखरा झर्ने विमानको लागि भारतसँग हवाई सम्झौता भइसकेको जानकारी दिए । भैरहवा र पोखरा विमानस्थलका लागि सिमरा इन्ट्री पोइन्ट रहने बताए ।

स्थानीयका उचित माग सम्बोधन हुन्छः मन्त्री भट्टराई
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्न बुधबार पोखरा आइपुगेका मन्त्री भट्टराईले आयोजनाको प्रगतिसाथै प्रभावित क्षेत्रका बासिन्दाको समेत गुनासो सुनेका छन् ।

स्थानीय सरोकारवालाले जुन रुपले आयोजना पक्षले सिँचाइ, पानी कटानको व्यवस्था लगायत अन्य पूर्वाधारमा गरेको सहमति अनुकूल काम नगरेको बताएका थिए । पुनः जग्गा अधिग्रहणको नाममा एकै व्यक्तिलाई ४ पटकसम्म नखेद्न समेत उनीहरुले आग्रह गरे ।

विमानस्थलको भौतिक प्रगतिबारे मन्त्री भट्टराईले निर्माण र आयोजना पक्षलाई धन्यवाद दिँदै स्थानीयका समस्या छलफलबाट टुंगो लगाइने आश्वासन दिए । ‘संसारमा एकैपटकमा सबै काम भएको छैन,’ उनले भने, ‘बिस्तारै हुँदै जाने हो । कुनै पनि विमानस्थल एकैपटकमा बनेको रेकर्ड छैन । थप्दै जाने हो ।’

थप जग्गा अधिग्रहणका सम्बन्धमा मन्त्री भट्टराईले उचित मागलाई उचित निर्णयमार्फत सम्बोधन गरिने बताए । सडक, सिँचाइका विषयमा सम्बन्ध नभए पनि अन्तर मन्त्रालयको बैठकमा कुरा उठाउने प्रतिबद्धता जनाए ।

सम्बद्ध सबैको सहकार्यमा मात्रै विमानस्थलले उल्लेख्य प्रगति हाँसिल गरेको सुनाउँदै मन्त्री भट्टराईले निर्माण सम्पन्न गर्न सहयोगको निरन्तरता राख्न आग्रह गरे । विमानस्थलबाट यात्रुमात्रै बोकेर जहाज सञ्चालन नहुने भन्दै कार्गो सञ्चालनका लागि मालसामान उत्पादन गर्न सुझाव दिए । विश्वका कतिपय मुलुकका विमानस्थल कार्गो मात्रै सञ्चालन गरेर नाफामा रहेको उनले सुनाए ।

मन्त्री भट्टराईले विमानस्थल सञ्चालनका लागि अध्यागमन मार्फत जनशक्ति लगायतको आवश्यक तयारी समेत गरिरहेको जानकारी दिए । थप नेपालगन्ज र कञ्चनपुरबाट हवाई इन्ट्री पोइन्टका लागि मन्त्रालयले आन्तरिक तयारी थालेको उनले बताए ।

तपाईको प्रतिक्रिया