पर्यटन मन्त्रीलाई व्यवसायीको ध्यानाकर्षण

समाधान संवाददाता २०७६ भदौ १२ गते १४:१२

समाधान संवाददाता
पोखरा

संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री योगेश भट्टराईलाई पोखरेली पर्यटन व्यवसायीले ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । पोखरा पर्यटन परिषद्ले मन्त्री भट्टराईसँग पोखराको पर्यटन क्षेत्रमा बृहत्तर विकासका लागि व्यापक सुधारसहित प्रवद्र्धन गर्न अनुरोध गरेको हो ।

फेवाताल संरक्षण, सँगरहेको हिमागृह र रत्न मन्दिर सर्वसाधारणका लागि खुलाउनुपर्ने, भारतीय सवारी व्यवस्थापन, पोखरासँग अन्य सहरको सिधा हवाई सम्बन्ध लगायतका विषयमा ध्यानाकर्षण गराइएको परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

Advertisement

पर्यटकीय हब पोखरालाई सिधा सडक सञ्जालमार्फत जोड्न काठमाडौं–पोखरा–भैरहवा दू्रत मार्ग निर्माणसम्बन्धमा समेत चासो दिन अनुरोध गरेको उनले बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन रहेकै बेला पर्यटकीय क्षेत्रबाट एयरपोर्ट पुग्ने सहज सडक निर्माण र ट्राफिक व्यवस्थापनमा अहिलेदेखि नै काम थाल्न परिषद्ले अनुरोध गरेको छ । सार्क मुलुकका नागरिकलाई नेपाल प्रवेशमा भिसा शुल्क मिनाहा गर्नसमेत परिषद्ले पत्रमा उल्लेख गरेको छ । गण्डकी प्रदेशकै ऐतिहासिक धार्मिक सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न गोरखा दरबार, मुस्ताङको लोमन्थाङ क्षेत्र र मुक्तिनाथ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन मन्त्रालयले पहल गरिदिन परिषद्ले आग्रह गरेको छ ।

Advertisement

‘ट्रेकिङ रुट र र्‍याफ्टिङका क्षेत्रलाई जोगाइराख्न चुनौती थपिरहेका बेला मन्त्रालयबाट नै नीतिगत योजना आओस् भनेर हामीले त्यसबारेमा पनि मन्त्रीज्यूलाई ध्यानाकर्षण गराएका छौं,’ परिषद् अध्यक्ष पोखरेलले भने, ‘ट्रेकिङ रुटमा जथाभावी बाटो खन्ने काम रोक्न र प्राकृतिक सुन्दरता जोगाइ राख्नुपर्ने भनेका छौं ।’

पोखरामा निर्माणकै क्रममा रहेको पर्यटकीय बसपार्क र काठमाडौंमा प्रस्तावित बसपार्क सम्पन्न गरी व्यवस्थित रुपमा सञ्चालन ल्याई पर्यटनमैत्री वातावरण तयार गर्नसमेत परिषद्ले आग्रह गरेको छ । राष्ट्रिय पर्यटन भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटकका लागि मन्त्रालयले भौतिक संरचना व्यवस्थापन लगायत नीतिगत निर्णय गरेर भए पनि पर्यटक तान्नुपर्ने पोखरेली पर्यटन व्यवसायीको माग छ । परिषद्ले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र पर्वतारोहण शुल्क सम्बन्धमा समेत ध्यानाकर्षण गराएको छ ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले मुलुकमा गणतन्त्र आइसकेको भए पनि हिमा गृह र रत्नमन्दिरमा अझसम्म गणतन्त्र नआएको मन्त्री भट्टराई समक्ष सुनाएका थिए । पूर्वराजा रानीको आश्रयस्थलको रुपमा रहेको उक्त क्षेत्र खुलाएर पर्यटकका लागि थप १ आकर्षणको गन्तव्य बनाउनुपर्ने उनको भनाइ थियो । फेवाताल संरक्षणमा समेत बिलम्ब भइरहेको सुनाउँदै सांसद पहारीले ठोस कदम चालिदिन आग्रह गरे ।

कार्यक्रममा पर्यटन व्यवसायीले अध्यागमनका कर्मचारीको व्यवहार, एअरपोर्टको स्थिति र पोखरा भित्रिने सडक सञ्जालको दुर्दशाबारे मन्त्री भट्टराई समक्ष गुनासो पोखे ।

बाहिर सुनिएको जस्तो दुर्दशा भने नभएको मन्त्री भट्टराईले जवाफका क्रममा बताएका थिए । सरकारले घोषणा गरेको राष्ट्रिय पर्यटन भम्रण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने योजना सफल हुने दाबीसमेत उनले गरे ।

‘अहिले नै १५ लाखसम्म पर्यटक आइरहेका छन्,’ उनले भने, ‘त्यसमा ५ लाख थप्ने भनेको न हो । कतिपय पर्यटन व्यवसायी साथीहरुले टेलिभिजनमा दिएको स्टेटमेन्ट हेर्छु । २० लाख पर्यटक आउन सम्भवै छैन भनेर भन्नुहुन्छ, किन भन्नुपर्यो, त्यो भनेर के तपार्इँ हिरो हुुनुुहुन्छ, नेता हुनुहुन्छ,’ उनले प्रश्न गरे । सरकारको योजना सफल नहुने भन्दैमा हिरो वा नेता नबनिने उनको तर्क थियो ।

पर्यटन व्यवसायीलाई निरुत्साही नहुनसमेत उनको सुझाव छ । आफ्नो क्षेत्रका विरुद्धमा बोलेर आफ्नै दालभात बन्द गर्ने काम नगर्न उनले सुझाए ।

‘हामी मान्छौँ, पूर्वाधार राम्रो छैन, थाहा छ नि । के फाइदा हुन्छ त्यस्तो फोटो फेसबुकमा हालेर,’ उनले प्रश्न तेर्साउँदै भने, ‘अन्य देशका पर्यटकलाई हाम्रो देशको दुर्दशाको व्याख्या किन गर्नू ? केही कमी छ भने सच्याउँला ।’

९० दिनभित्र विमानस्थलको अध्यागमनमा व्यापक परिवर्तन हुनेगरी काम भइरहेको मन्त्री भट्टराईले जानकारी दिए । म्यानुअल सिस्टम हटाएर डिजिटल सिस्टम अपडेट भएपछि अहिलेजस्तो भइरहेस को सामान्य मस्या पनि नरहने उनले बताए ।

नेपाल एयरलाइन्सका सम्बन्धमा थुप्रै टिकाटीप्पणी सुनिरहेको बताउँदै मन्त्री भट्टराईले ‘कि मृत्यु, कि जयजयकार’ हुने बताए । कार्यदल बनाई विशेष अध्ययन गरिरहेकाले उक्त निष्कर्ष अनुसार नै एयरलाइन्सलाई कम्पनीमासमेत रुपान्तरण गर्न सकिने विकल्प रहेको मन्त्री भट्टराईले उल्लेख गरे ।

हिमा गृह र रत्नमन्दिर खुला गर्न आफू सकारात्मक भएको सुनाउँदै उनले पहल थाल्ने प्रतिबद्धता जनाए । फेवाताल संरक्षणमा भने पानीमुनिको लालपुर्जा छ भन्दै सार्वजनिक सम्पति ओगटेर बस्न नमिल्ने सुनाए । उनले भने, ‘राज्यको सम्पति राज्यकै स्वामित्वमा हुन्छ । यसको नेतृत्व लिन माननीय सांसद राजीव पहारीलाई आग्रह गर्छु । त्यस्ता लालपूर्जा सबै ल्याएर सरकारलाई बुझाउनुस् ।’ समग्र पर्यटन क्षेत्र माथि पुग्ने तबरबाट आफूले काम गर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया