मिडिया कपकाे उपाधि आयोजकलाई नै

समाधान संवाददाता २०७६ भदौ १२ गते १४:२१

समाधान संवाददाता
पोखरा

पहिलो संस्करणको पोखरा मिडिया कप आयोजक ‘जक्सन १६’कै पोल्टामा परेको छ । फाइनल राउन्डमा आयोजक ‘जक्सन १६’ को तर्फबाट खेलेका ‘ए’ र ‘बी’ समूहमध्ये समूह ‘ए’ विजेता बन्यो । खेलमा दुवै पक्षबाट १–१ गोल भएपछि निर्णय टाइब्रेकरले गरेको थियो । टाइब्रेकरका क्रममासमूह ‘ए’का गोलकिपरले गौसब गुरुङले उत्कृष्ट बचाऊ गर्दै आफ्नो समूहलाई जिताए ।

विजेता बनेसँगै जक्सन ‘ए’ले नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता ‘बी’ले २० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विजेतालाई साझा पार्टीका गण्डकी संयोजक महेश भण्डारी, नेपाली फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङ र म्याट्रिक्स एरेनाका सञ्चालक अमनविक्रम थापाले पुरस्कार प्रदान गरेका थिए ।

Advertisement

प्रदेश सांसद बिन्दुकुमार थापाले सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे । उनले यो प्रतियोगिताले पत्रकारिता जगत नै खेलप्रति आकर्षित भएको उल्लेख गरे । ‘यो खेलकुद र पत्रकारिता क्षेत्रकै लागि राम्रो सन्देश हो,’ सांसद थापाले भने, ‘आपसमा भाइचारा बढाउनुसँगै स्वास्थ्यप्रति सचेतना पनि जगाउने यस्ता खाले प्रतियोगिताले निरन्तरता पाउनुपर्छ ।’

प्रतियोगितामा सुशान्त गाहामगर उत्कृष्ट खेलाडी घोषित भए । विजय नेपालीले उत्कृष्ट गोलकिपरको पुरस्कार प्राप्त गरे । प्रतियोगिता अवधिभर सबैभन्दा धेरै गोल गर्दै निकोलस गुरुङले ‘हाइ स्कोरर’को उपाधि पाए ।सबैभन्दा अनुशासित खेल खेलेको भन्दै ‘भोग स्टुडियो’ पुरस्कृत भयो । प्रतियोगिता संयोजक अरुण गिरीले खेलमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

Advertisement

सेलिब्रिटी टिमले पत्रकारलाई हरायो

पोखरा मिडिया कप अन्तरगत बुधबार भएको ‘महिला पत्रकार’ र ‘महिला सेलिब्रिटी’को मैत्रीपूर्ण खेलमा कलाकार टोली विजयी बनेको छ । १–० गोल अन्तरले कलाकारले नतिजा आफ्नो पोल्टामा पारे । खेलका लागि अभिनेत्री सुरविना कार्की, सम्पदा बानियाँ र मोडल सोनिका रोकाया पोखरा आएका थिए । उनीहरुसँगै पोखराका चर्चित महिला कलाकारले महिला पत्रकारसँग फुटसल खेलेका थिए ।

आगामी दिनमा पनि यस्तै प्रतियोगिता हुनुपर्ने महिला पत्रकार समूहका क्याप्टेन सरिता तिमिल्सिना पंगेनीले बताइन् । महिला पत्रकारसँग खेल्न पाउँदा आफूहरु निकै खुसी भएको अभिनेत्री सुरविना कार्कीको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया