घरपझोङको ठिनीमा ‘फालो’ उत्साह

समाधान संवाददाता २०७६ भदौ १३ गते ११:२५

ठिनी थकाली फालो पर्वमा ऐतिहासिक नाटक प्रस्तुत गर्दै स्थानीय । फालोमा विभिन्न ऐतिहासिक नाटक प्रस्तुत गर्ने चलन छ । तस्बिरः कर्णबहादुर थकाली ।

एसके थकाली
जोमसोम

मुस्ताङका घरपझोङ ५ ठिनीका थकाली समुदायले फालो पर्व विभिन्न कार्यक्रमका साथ मनाइरहेका छन् । थकाली पात्रो अनुसार बुधबारदेखि सुरु भएको फालो बिहीबार सकिँदै छ ।

Advertisement

यस अवसरमा ठिनीका थकालीले गाउँमा परम्परागत फालो पर्व देखाएका छन् । गाउँका युवा÷युवती ,वृद्ध–वृद्धा र बालबालिकाले फालो पर्व धुमधामले मनाएका हुन् । ठिनी गाउँको फालो अवलोकन गर्न तल्लो क्षेत्रका मुस्ताङी ठिनीमा जम्मा भएका छन् ।

यसअघि लगातार ३ दिनसम्म नियमित विविध कार्यक्रम गरी मनाइँदै आइरहेको यस पर्वलाई छोट्याउँदै पछिल्लो समय स्थानीयले २ दिनमात्र कायम गरेका हुन् । बर्खायाममा खेतीपातीको कामकाज सकेर फुर्सदिलो महिनामा थकाली फालो मनाइने ठिनीका स्थानीय नारायणप्रसाद थकालीले जानकारी दिए । थकाली पात्रोको ८ औं महिनालाई फालो महिना भनिने उनले बताए । फालो पर्व भाद्र महिनामा पर्ने भएकाले यसलाई ठिनी भदौ मेला भन्ने पनि गरिन्छ ।

Advertisement

परापूर्व कालमा तिब्तीयन मुलुकका तीनआँखे राजा थर्कोचेनका दाजुभाइ चारैदिशातर्फ फैलिने क्रममा राजा थर्कोचेन ठिनी गाउँमा प्रवेश गरेको स्थानीय कुलबहादुर थकालीले सुनाए । उनका अनुसार राजा थर्कोचेन मुस्ताङ आउने क्रममा याकमा खाने, बस्ने लगायत बन्दोबस्तीका सामान लिएर ठिनी प्रवेश गरेको भन्ने भनाइ छ । त्यस समयमा ठिनी गाउँ आएका राजा थर्कोचेनले भारी बोकाएर ल्याएका याक ठिनी गाउँमै थचक्कै रोकियो । त्यसपछि लामो समय ठिनीमै बसेर उक्त याक कुछ्प तेरंगा गुम्बातर्फ मोडियो । याकले त्यही विश्राम लिएकाले त्यहाँ थर्कोचेन राजाका इतिहास अझै जीवित छन् । ऐतिहासिक ठिनीका राजाले याक लिई ठिनी गाउँ आएको सम्झना गर्र्दै ठिनीका थकाली समुदायले फालो पर्व हर्ष उल्लासका साथ मनाउने गरेको थकालीको भनाइ छ ।

फालो पर्वमा सदियौं पुरानो ऐतिहासिक विशेषता झल्कने सांस्कृतिक गतिविधि देखाउने चलन छ । फालो पर्वमा ठिनीका उमेर नाघेका थकाली समुदायका महिला र पुरुषले आफ्नो भेषभूषामा सजिएर विवाह ब्रतबन्धमा गरिने चलनचल्तीलाई थकाली भाषाकै गीति लयका माध्यमबाट उजागर गर्छन् । भदौमा मनाइने फालो पर्वपछि जाडो मौसम सुरु भएको थकालीको बुझाइ छ । ठिनीका थकालीले थकाली वर्षको आखल्हा र त्यूङ्ल्हा पर्व पनि विशेष रुपमा मनाउने गर्छन् । ठिनीका थकालीको गाउँमाथि कुलदेवता छ । त्यहाँ महिलालाई पूजा गर्न बन्देज गरिएको छ । फालो पर्व अघि स्थानीयले कुलदेवताको पूजाआजा गर्दे पितृलाई सम्झने गर्छन् ।

फालो पर्वमा तीनआँखे राजा थर्कोचेनका युद्धकला कौशल तथा याक देवताको नाच देखाउने चलन छ । फालोमा व्यंग्यात्मक याकनृत्य, जोगी नृत्य र विभिन्न प्रहसन आदि देखाइन्छ । राजा थर्कोचेनको उपस्थितिमा उनका सेनाले उ समय धनुषबाण, खुकुरी र ढाल लिएर गरिने मनोरञ्जनात्मक सांस्कृतिक नाटक अवलोकनका लागि स्थानीयको उल्लेख्य उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया