खरको छाना हटाउँदै वडा

समाधान संवाददाता २०७६ भदौ १३ गते ११:३८

कृष्ण न्यौपाने
दमौली

व्यास नगरपालिका–५ ले वडाभित्र खरले छाएको छानो विस्थापित गर्ने भएको छ । खरको छानामुक्त वडा बनाउने उद्देश्यले खरको छानो भएको घरमा जस्तापाताको छानो राख्न वडा कार्यालयले बजेट विनियोजन गरेको छ ।

खरको छानो विस्थापित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । वडा कार्यालयले खरको छानो विस्थापितका लागि खरको छानो भएका घरहरुको तथ्यांक संकलन थालेको छ । ‘हालसम्म २ सयभन्दा बढी घरको तथ्यांक आइसकेको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘पूरै तथ्यांक प्राप्त भएपछि खरको छानो विस्थापित कार्यक्रम सुरु गर्छौ ।’

Advertisement

वडाध्यक्षका श्रेष्ठका अनुसार वडाभित्र रहेका सबै खरको छानो विस्थापित गरेर जस्तापाताको छानो हालिने र चालु आर्थिक वर्षको बजेट अपुग भए आगामी वर्षमा पनि बजेट विनियोजन गरिनेछ ।

संघीय सरकारको नीति बमोजिम जिल्लाका २ सय ५० घरधुरीमा चालु आर्थिक वर्षमा खरको छानो विस्थापित गरिँदैछ । व्यास नगरपालिकाको ७ देखि १४ वडा, भीमाद नगरपालिका र रिसिङ गाउँपालिका अन्तर्गतका वडाहरुमा खरको छानो विस्थापित गर्ने सरकारको कार्यक्रम छ ।

Advertisement

संघीय सरकार मार्फत् व्यास नगरपालिका–५ मा खरको छानो विस्थापित गर्न बजेट नपरेपछि वडाकै सक्रियतामा खरको छानो विस्थापित गर्न लागिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार खरको छानो भएको सबै घरधुरीको तथ्यांक संकलन भएपछि विपन्न रहेकालाई प्राथमिकता दिएर छानो विस्थापित गरिनेछ । ‘जो बढी गरिब र विपन्न छ उसलाई पहिलो प्राथमिकता दिएर जस्तापाता छाउन रकम प्रदान गर्छौं,’ श्रेष्ठले भने, ‘क्रमशः सबैको घरको खरको छानो विस्थापित गर्छौ ।’

मानहुँको पर्यटन प्रबद्र्धनका लागि ६० लाख
पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको मानहुँकोटको पर्यटन प्रबद्र्धनका लागि वडाले चालु आर्थिक वर्षमा ६० लाख विनियोजन गरेको छ । मानहुँकोटमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यसहित वडाले प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।

मानहुँकोट पर्यटन प्रबद्र्धनका लागि ४० लाख, मानहुँ पैदलमार्ग र आमा समूहको अधुरो भवन निर्माणका लागि १० लाख र मानहुँकोटको भित्तामा मानहुँकोट व्यासल्यान्ड लेख्न १० लाख विनियोजन भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मानहुँडाँडा आन्तरिक पर्यटनको गन्तव्यको रुपमा विकास हुन थालेपछि यहाँ पूर्वाधार निर्माणको आवश्यकता खड्किएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार चापाघाटदेखि अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको छ । सवारी गुड्ने बाटोका अलवा पैदल हिँडेर मानहुँसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको र त्यसलाई विस्तार गर्दै मानहुँसम्म पुर्‍याउने लक्ष्य छ ।

सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा पर्दै आएको मानहुँकोट अहिले भने पर्यटकको आकर्षणको केन्द्रबिन्दुको रुपमा विकास हुन थालेको छ । मानहुँकोटबाट दमौली बजार छर्लङ्ग देखिन्छ । यसले गर्दा पछिल्लो समयमा यहाँ पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । मानहुँकोटबाट माछापुच्छ्र‍े, अन्नपूर्ण लगायतका हिमश्रृंखला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया