पिएन क्याम्पसको जग्गामा गिद्धे नजर

समाधान संवाददाता २०७६ भदौ १३ गते १२:३०

विवेक देवकोटा
अध्यक्ष, अनेरास्ववियु, कास्की

विसं २०१७ भदौ १७ गते विधिवत् रूपमा आफ्नो यात्रा सुरू गरेको पृथ्वीनारायण क्याम्पस पोखराले आजसम्म ५९ वर्ष पुग्यो । तत्कालीन समयमा शिक्षाका लागि शिक्षालयहरू निर्माणको काम प्रारम्भ विन्दुमै थियो । त्यही लहरलाई छोप्दै पोखरा र आसपासका नागरिकहरूले गरेको जोडबलका कारण पृथ्वीनारायण क्याम्पस पनि पोखराको भिमकालिपाटन बगरमा २ शिक्षक र ३ कर्मचारीका साथ सेती किनारको तिनपाटे जमिन ७ सय २२ रोपनीलाई अंगालेर स्थापना भएको भयो ।

स्थापना अगावै क्याम्पस परिसरको जग्गामध्येमा बिना कागज, आदेशका भरमा केही भाग (४ सय रोपनी) जुन ठाउँमा आज कक्षा भवनहरू छन् त्यति मात्रै जमिन भोगचलनमा थियो भन्ने कुराको यथेष्ट लिखित र मौखिक प्रमाणहरू छन् ।

Advertisement

बाँकीको ३ सय २२ रोपनी जमिन बिना भोगचलन सार्वजनिक गौचरणका रूपमा रहेको थियो भन्ने कुरा हामीले सुन्दै आइरहेका छौँ । त्यसो त त्यो बेलाको सरकारी कार्यलयले यी दुबै प्रकारका जमिनलाई क्याम्पसले उपयोग गर्ने भनी भोगचलन वालाहरू सहितको मञ्जुरीमा पृथ्वीनारायण क्याम्पसलाई उपलब्ध गराएको इतिहास छर्लङ छ ।

तर यतिबेला भने यो यथार्थ इतिहासलाई भुलेर भिमकालिपाटन वरपरका स्थानीय पराजुलीहरू क्याम्पसको तल्लो पाटोको जमिन २ सय ७० रोपनीमाथि आफ्नो हकदाबी गरिरहेका छन् । जुन जमिन क्याम्पस स्थापना भन्दा पहिला नै भोगचलन नगरिएको ३२२ रोपनी भित्र पर्दछ । स्थानीय पराजुलीहरूको यो हर्कदलाई जमिन माथिको गिद्धे नजर बाहेक अरू भन्न सकिदैन ।

Advertisement

पृथ्वीनारायण क्याम्पसले आफ्नो स्थापनाको मितिदेखि नै उक्त २ सय ७० रोपनी जग्गालाई भोगचलन गर्दै आईरहेको छ । प्रत्येक बर्षको वर्षायाममा क्याम्पसले पुरै ७ सय २२ रोपनी भरीको घाँस बेच्ने गरेको छ । कहिले वृक्षरोपण, कहिले तारबार त, कहिले खेलकुदका कार्यक्रमहरू आयोजना गर्ने क्याम्पसले उक्त सबै जमिनलाई आफ्नो आवश्यकताको आधारमा प्रयोग गरिरहेको छ ।

भोगचलन कै हकमा पनि उक्त जग्गा पिएन क्याम्पस कै हुन्छ । सारा नेपालीहरूको ज्ञान पुञ्जको रूपमा उभिएको शिक्षाको मन्दिर पृथ्वीनारायण क्याम्पसमा गिद्धे नजर लगाउने केही पराजुली परिवारहरूले बाँकीका अरू परिवारहरू जसले क्याम्पसको हित चाहन्छन् र त्यो सबै ७ सय २२ रोपनी जग्गा पिएन कै हो भन्ने तर्क गर्छन् ती परिवार हरूको समेत नाम मुछेर पराजुलीका ८६ घरधुरीलाई हकदाबीवाला बनाएका छन् । यस्ता समाजका कुपात्रहरूलाई समयले माफी दिनेवाला छैन ।

पृथ्वीनारायण क्याम्पसको यो २ सय ७० रोपनी जमिनमाथि धेरै पटक भु–माफियाहरूको नजर लागेको छ । एकपटक २०६२÷६३ तिर रातारात जग्गाका दलालहरूले सुकुम्बासीका नाममा टहराहरू बनाएका थिए तर ती टहराहरूले घामको उज्यालो देख्न पाएनन् । क्याम्पसका प्रगतिशील जुझारु विद्यार्थीहरूले जमिन रक्षाका लागि कुनै कसुर बाँकी राखेनन् । पृथ्वीनारायण क्याम्पस लाई जबजब अप्ठ्यारो पर्छ तबतब विद्यार्थीहरू त्यो परिघटना उलट्याउन पनि सक्छन् । किनकि प्रायः सबै बिद्यार्थीहरूलाई आफ्नो विद्या मन्दिरको सधैं माया हुन्छ । त्यसमाथि पिएन क्याम्पस एउटा सामाजिक, राजनीतिक परिवर्तनको आधार थलो हो

पक्कै पनि जग्गाको आकाशिदोँ मूल्यले पोखराका पराजुलीहरूलाई पिएन क्याम्पसको जग्गाप्रति र्याल काँढ्ने बनाएको हुनुपर्छ । तर सबै पराजुलीहरू पनि यसमा सहमत छैनन् । अर्को तर्फ पिएनको इतिहासमा पराजुलीहरूलाई सधैं सम्मानको अक्षरले लेख्ने गरिन्छ । किनकि उनीहरूले भोगचलन गरेको केही जमिन सजिलै शिक्षाका लागि क्याम्पसलाई दान गरेका थिए । त्यो महानतालाई पराजुलीहरूले गौरवको रूपमा लिनु पर्छ र यस्ता पार नलाग्ने ‘छुचा’कामबाट हात झिक्नु पर्छ हैन भने बाजेहरूले गरेको दान कर्मलाई खरानी बनाउने काम हुनेछ र लाखौं क्याम्पसबाट शिक्षित भएका विद्यार्थीहरूले पनि धिक्कार्ने छन् ।

भोलिका दिनमा शिक्षाको विशिष्टिकरण वैज्ञानिक तवरबाट हुँदै जाँदा पृथ्वीनारायण क्याम्पस को ७ सय २२ रोपनी जमिन पनि थोरै हुन जान्छ । त्यसमाथि क्याम्पसलाई विश्वविद्यालयको रूपमा निर्माण गर्ने सपना पूरा हुन बाँकी नै छ । विश्वविद्यालय बन्ने बित्तिकै नयाँ भवनहरू र अन्य क्रियाकलापहरूका लागि जमिन नपुग्ने निश्चित छ । यो यथार्थलाई गर्भमा राखेर जग्गाको विषयमा विवाद आउँदा चुप लागेर बस्न सकिदैँन ।

अन्तमा, पृथ्वीनारायण क्याम्पसको निर्माणका लागि पोखराबासी र यस क्याम्पसको वृद्धि विकासमा सारा नेपालीहरूको योगदान अतुलनीय छ । यस क्याम्पसबाट अध्ययन नगरेको विद्यार्थी सायदै नेपालको कुनै पनि क्षेत्रमा छैन । यस क्याम्पसको ऐतिहासिक पाटो बडो गौरवान्वित छ । मैले क्याम्पसका सन्दर्भमा केहीँ अक्षरहरू भेला गर्नुको कारण पिएन क्याम्पसलाई पटकपटक जग्गाका नाममा जिस्क्याउने तत्वलाई निस्तेज पारेर क्याम्पसलाई ७ सय २२ रोपनी जमिन सहित स्वतन्त्र पार्नका खातिर हो । यसपटक क्याम्पसमाथि हकदाबीको मुद्दा दायर गर्ने निहित अभिष्ट बोक्ने केही पराजुलीहरूलाई पाठ सिकाउन जरुरी छ । यसका लागि सम्पूर्ण पृथ्वीनारायण क्याम्पसलाई माया गर्ने महानुभावहरूलाई क्याम्पसको पक्षमा आ–आफ्नो ठाउँबाट भूमिका खेल्न हार्दिक अपिल गर्दछु ।

तपाईको प्रतिक्रिया