व्यक्तिका घरमा सरकारी कार्यालय

समाधान संवाददाता २०७६ भदौ १५ गते १२:३३

राजन उपाध्याय
दुलेगौंडा

म्याग्दे गाउँपालिकाले घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ । प्रमुख प्रशासनिक कार्यालय, विषयगत कार्यालयको शाखा र वडा कार्यालयसमेत भाडाको घरबाट सञ्चालन हुँदै आएका छन् । गाउँपालिका केन्द्रबारे विवाद हुँदा कार्यालय बनाउनेबारे निर्णय हुन सकेको छैन । हाल गाउँपालिका केन्द्र म्याग्दे ४, छाङमा छ ।

यसअघि बस्दै आएको घर साँघुरो भएपछि हाल गाउँपालिकाले नयाँ घर भाडामा लिएको छ । गाउँपालिका सञ्चालनका लागि ३ वटा घर भाडामा प्रयोग भइरहेको छ । कार्यालयका लागि मासिक करिब ६० हजार रुपैयाँ घरभाडा खर्च हुने गरेको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । उनका अनुसार केन्द्र र वडा सञ्चालनका लागि करिब ९० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

Advertisement

७ वटा वडा रहेको गाउँपालिकामा वडा नम्बर २ बाहेक सबै कार्यालय भाडाका घरमा छन् । वडा नम्बर २ जामुनेको तत्कालीन गाविस भवनलाई हाल वडाले प्रयोग गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षमा १ र ५ नम्बरको वडा भवन बनाउन लागेको छ । यसका लागि ५०÷५० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष रानाले जानकारी दिइन् । बाँकी ३, ४, ६ र ७ नम्बरको वडा कार्यालय बनाउन जग्गा व्यवस्थापनका लागि रकम छुट्याइएको छ । उनका अनुसार ४ वटा वडा कार्यालयका लागि जग्गा व्यवस्थापन गर्न प्रत्येक वडालाई १० देखि १२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वडा नम्बर ५ का अध्यक्ष शिवबहादुर आलेले आफ्नै भवन नहुँदा सेवा सञ्चालनमा समेत कठिनाइ भएको बताए । ‘३ वटा कोठा लिएर काम भइरहेको छ, प्रशस्त ठाउँ नहुँदा सेवाग्राही आउँदा बस्ने ठाउँसमेत हुँदैन ।’

Advertisement

भवन निर्माण स्थलमै विवाद उत्पन्न हुँदा गाउँपालिका भवन निर्माणका लागि अघि बढ्न नसकेको गाउँपालिकाले जनाएको छ । ‘केन्द्रका लागि २÷३ ठाउँमा पहिचान भएको छ, ‘गाउँपालिका अध्यक्ष रानाले भनिन्, ‘निर्णय भइसकेको छैन ।’ उनले केन्द्रमा सहमति भए विशेष गाउँ सभा बोलाएर निर्णय गर्न सकिने बताइन् ।

त्यसो त गाउँपालिकामा स्थापनाकालदेखि नै केन्द्र विवाद कायमै छ । अध्यक्षसहित पश्चिम भाग छाङ र मनपाङका जनप्रतिनिधि थर्पु बजार नजिकै केन्द्र बनाउनुपर्ने पक्षमा छन् । तर उपाध्यक्ष बालकृष्ण घिमिरेसहित जामुने क्षेत्रका प्रतिनिधि भने बेल्टारी क्षेत्रमा संरचना बनाउनुपर्ने पक्षमा छन् ।

निर्वाचनपछि केन्द्र तोक्ने प्रयास गरिएको थियो । तर विरोधकै कारण सफल हुन सकेको थिएन । गाउँपालिका उपाध्यक्ष घिमिरे पक्षले समथर ठाउँ र धेरै खुला जमीन भएकाले बेल्टारी क्षेत्रमा केन्द्र कायम गरिनुपर्ने माग गर्दै आएका छन् । तर साविक छाङ र मनपाङ क्षेत्रका स्थानीय भने थर्पुमै केन्द्र कायम भएमा सबैलाई पायक पर्ने र त्यहीं नै ठाउँ उपलब्ध भएको तर्क गर्छन् ।

स्थानीय तह लागु भएपछि साविकका गाविसहरु छाङ, जामुने र मनपाङलाई समायोजन गरी गाउँँपालिका गठन गरिएको हो । म्याग्देको क्षेत्रफल १ सय १५ वर्ग किलोमिटर छ । २०६८ सालको जनगणना अनुसार ५ हजार ६ सय २८ घरधुरीमा कुल जनसंख्या २२ हजार ५ सय २ रहेको छ ।

तपाईको प्रतिक्रिया