कास्की २ को उपनिर्वाचनः रवीन्द्रको उत्तराधिकारी बन्न होडबाजी

समाधान संवाददाता २०७६ भदौ १५ गते १२:५०

अमृत सुवेदी
पोखरा

कास्की क्षेत्र नम्बर २ पछिल्ला निर्वाचनमा चर्चा र चासोको केन्द्रमै रह्यो । फेरि एकपटक यो क्षेत्रले सिंगो नेपालकै ध्यान खिच्दैछ । मंसिर १४ को उपनिर्वाचनमा चासोको केन्द्र बन्नुको कारण छ । त्योभन्दा पहिले २०७४ सालको निर्वाचनलाई हेरौं ।

तत्कालीन एमाले नेता रवीन्द्र अधिकारी, जो विद्यार्थी कालदेखि नै ख्याति कमाएका थिए । सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउनदेखि गायक प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्ने आन्दोलनले अधिकारीलाई चिनाएको थियो । पृथ्वीनारायण क्याम्पसदेखि त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति भए । निर्वाचन जितेर विकास समिति सभापति बनेपछि रवीन्द्रको ख्याति अझै उचाइमा थियो ।

Advertisement

२ पटक चुनाव जितिसकेका उनै नेता रवीन्द्र ह्याट्रिक गर्ने दाउमा थिए । रवीन्द्रलाई टक्कर पर्खर वक्ता र नेताका रुपमा चिनिएका कांग्रेसका देवराज चालिसे मैदानमा उत्रिए । अर्को रोचक कुरा के थियो भने ०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्ववियु जितेका चालिसेको कार्यकालपछि रवीन्द्र सभापति बनेका थिए । वौद्धिक र तार्किक नेताका रुपमा चिनिएका चालिसे टिकट पाउन योग्य तर नपाएका नेताका रुपमा सधैँ कांग्रेसभित्र चर्चामा रहे । यी दुई पूर्व विद्यार्थी नेताको लडाईंलाई निकै रोचक ढंगले हेरिएको थियो ।

यो निर्वाचनमा दुईबीचको प्रतिस्पर्धा यसै भन्न सक्ने स्थिति थिएन । धेरैको विश्लेषण थियो, कास्कीमा ठूलो मतान्तरण हुँदैन । धेरैको अनुमानलाई गलत सावित गर्दै झण्डै ९ हजार मतान्तरले रवन्द्रिले ह्याट्रिक मारे ।

Advertisement

रवीन्द्रले ह्याट्रिमात्रै मारेनन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि बने । रवीन्द्रको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भयो ।

रवीन्द्रको निधनपछि मंसिरमा हुने उपनिर्वाचनमा धेरैको चासो र ध्यान कास्की क्षेत्र नम्बर २ मै छ । एक त रवीन्द्रको क्षेत्र भएका कारण पनि चर्चामा छ । अर्को उनकै जीवनसाथी विद्या भट्टराईदेखि वामदेव गौतमसम्म उम्मेदवारीको चर्चाले पनि धेरैको चासो छ । देशकै एकमात्र प्रतिनिधि सभाको उपनिर्वाचन यही क्षेत्रमा हुने भएकाले पनि अर्थपूर्ण तरिकाले हेरिएको छ ।

ठूलो मतान्तरका साथ चुनाव जितेको नेकपाभित्र उम्मेदवारको चर्चा हुनु स्वाभाविकै हो । नेकपा नेतादेखि समर्थित कार्यकर्ताको पहिलो रोजाई रवीन्द्र पत्नी विद्या नै हुन् । रवीन्द्रको निधिनपछि पोखरा आएका वामदेवले नै पहिलो पटक विद्यालाई उम्मेदवारी दिनुपर्ने मुख खोलेका थिए ।

पछिल्लो समय विद्यालाई राष्ट्रिय सभामा पठाउने र वामदेवलाई यो क्षेत्रमा उठाउने हल्ला फैलिएपछि भने नेताहरुले मुख खोल्न सकेका छैनन् । नेकपाभित्र कुनै समय कुनामा पारिएका र आफ्नै क्षेत्रबाट चुनाव हारेका वामदेव यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष छन् । नेकपाभित्रको समीकरणमा टाढा राख्न पनि नहुने र नजिक ल्याउन पनि नसकिने नेताका रुपमा नेकपाभित्रैका केन्द्रीय नेताहरु वामदेवको ठट्टा गर्छन् । उनै नेता यतिबेला जसरी पनि संघीय संसद छिर्न चाहन्छन् ।

काठमाडौंमा आफूनिकट सांसदलाई राजीनामा गराएर चुनाव उठ्ने उनको महत्वकांक्षा व्यापक विरोधपछि तुहेको थियो । कास्कीका एक नेकपा सांसद भन्छन्, ‘वामदेव नै उठ्ने भए हुँदैन भनेर मुख फोर्न पनि नसकिने र सहयोगै गर्दा पनि खासै मन खुसी नहुने ।’ यहाँका अधिकांश नेता तथा सांसद रवीन्द्र पत्नी विद्यालाई उठाएमा सीट सुरक्षित पनि हुने र न्याय पनि हुने पक्षमा छन् ।

रवीन्द्र पत्नी विद्याले भने चुनाव उठ्ने विषयमा अझसम्म मुख खोल्न सकेकी छैनन् । उनी भन्छिन्, ‘राजनीतिबाट टाढामात्रै भएकी हुँ । राजनीतिमा सक्रिय हुने सम्भावना त छँदै छ । पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने अवसर आए पछि पर्दिन ।’

प्यासीदेखि रवीन्द्रका सहपाठीसम्मको चर्चा
विद्या र वामदेवको च्याप्टर क्लोज भएमात्रै टिकट लिने दाउमा छन् अरु नेता । यो निर्वाचन क्षेत्र तत्कालीन एमालेको भागमा परेको थियो । यसकारण पनि तत्कालीन माओवादीबाट टिकट पाउने सम्भावना छैन ।

पूर्व सांसद तथा नेकपा नेता सोमनाथ प्यासी पनि कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चाहन्छन् । जनपक्षीय उम्मेदवार बनेर चुनाव जितेका प्यासी कुनै बेला प्रखर र चर्चित नेताका रुपमा चिनिन्थे ।

रवीन्द्र अधिकारीका सहपाठी धनराज आचार्यलाई पनि प्रमुख दाबेदारका रुपमा हेरिएको छ । पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति आचार्य यसअघिको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा आकांक्षी थिए । रवीन्द्र प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका आचार्य तत्कालीन एमालेनिक राष्ट्रिय वाणिज्य संघका अध्यक्ष हुन् । पार्टीभित्र र जनताबीच प्रभाव पनि भएकाले आचार्यले टिकट लिन लबिइङ गरिरहेका छन् ।

नेकपा कास्कीका सहइन्जार्च श्रीनाथ बराल पनि आकांक्षी छन् । माधवकुमार नेपाल निकट भनेर चिनिने बराल प्रदेश सभा सदस्यको आकांक्षी थिए । पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति रश्मि आचार्यले पनि समूह, सर्कलमा आफू पनि उम्मेदवार हुने बताइरहेका छन् ।

कांग्रेसमा आधा दर्जनको होडबाजी
अघिल्लो निर्वाचनमा निरासाजनक हार बेहोरेको नेपाली कांग्रेसमा यसपटक पनि उम्मेदवारको चाहाना गर्नेहरुको कमी छैन । रवीन्द्रकै प्रतिस्पर्धी देवराज चालिसे यसको अघिल्लो पंक्तिमै छन् ।

‘अघिल्लो चुनावको प्रतिस्पर्धी भएकाले पनि ५ वर्ष म नै उम्मेदवार हुँ,’ चालिसे भन्छन्, ‘मैले पाएको जनमतको कदर गर्न पनि म उम्मेदवार हुनै पर्छ ।’ कांग्रेस पार्टीभित्र उम्मेदवारको विषयमा छलफल सुरु नभए पनि कांग्रेस उम्मेदवारका आकांक्षीले चाहना राख्ने, आफ्नो माहोल बनाउन थालेका छन् ।

अघिल्ला निर्वाचनमा पटकपटक उम्मेदवारको चर्चामा आएर पनि टिकट नपाएका वीरेन्द्रनारायण बिजुक्छे कास्की क्षेत्र नम्बर २ का आकांक्षी छन् । कांग्रेसको पकट रहेको वडा नम्बर ८ का बासिन्दा बिजुक्छे टिकट पाए कंग्रेसका नयाँ र पुराना दुबै पुस्ताले सहयोग गर्ने दाबी गर्छन् ।

संविधान सभाको निर्वाचनमा रवीन्द्र अधिकारीसँग पराजित भएका सोभियतबहादुर अधिकारी यसपटकको निर्वाचनमा जसरी पनि टिकट लिने दाउमा छन् । सोभियतबहादुर जम्मा २ हजार ३ सय २ मतले रवन्द्रिसँग हारेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पत्याएका कास्कीका केही नेतामध्ये पर्छन्, उनी । त्यसो त उनका अग्रज देउवा पक्षकै कास्की जिल्ला अध्यक्ष बनेका खेमराज पौडेल पनि आकांक्षी होडमा छन् ।

कास्की प्रदेश सभा ‘क’ मा नेकपा नेता कृष्ण थापासँग चुनाव हारेका गुरु बराल यसपालि पनि टिकट पाउनुपर्ने लबिइङमा छन् । कांग्रेस सहासमिति सदस्य ऋषि काफ्ने पनि टिकट हत्याउने क्याम्पेनिङमा छन् । उनले टिकटका लागि सशांक र शेखर कोइरालामार्फत लबिइङ गरिरहेको उनीनिकट स्रोत बताउँछ ।

कास्कीका नभए पनि कांग्रेस नेता धनराज गुरुङलाई उम्मेदवार बनाउने चर्चा भइरहेको छ । कार्यकर्तामाझ गुरुङलाई टिकट दिनुपर्ने आवाज उठिरहेको छ । गुरुङले स्याङ्जाबाट चुनाव लड्ने चर्चा चलेपनि अन्तिममा टिकट पाएका थिएनन् ।

आलोचित सरकारको फाइदा उठाउन चाहन्छ कांग्रेस
नेकपा दुई तिहाईको सरकारले जनताको मन जित्न नसकेको भन्दै आलोचना भइरहेको छ । नेपाली कांग्रेस सरकारको त्यो आलोचनाको फाइदा उठाउन चाहन्छ । नेकपा सरकारले जनअपेक्षा पूरा गर्न नसकेको र उसको कार्यकालमा भएका असफल मुद्दा लिएर जनताको दैलोमा जाने कांग्रेसको योजना छ ।

‘नेकपा सरकारले गर्छु भनेका थुप्रै काम गर्न सकेन । यही बेला भएका थुप्रै काण्डहरुमा सरकार फस्यो,’ नेपाली कांग्रेस कास्की अध्यक्ष कृष्ण केसीले भने, ‘जनताले यो कुरा बुझेका छन् । हामीले अझ बुझाउन सक्यौं भने अघिल्लो चुनावमा नेकपाले पाएको मत तान्न सकिन्छ ।’

उम्मेदवारका आकांक्षी देवराज चालिसे अघिल्लो चुनावमा जनताले स्थायी सरकारको आशमा मत दिएको बताउँछन् । ‘जनतामा स्थायी सरकारको सपना थियो । स्थायी सरकारले जनताका धेरै आशा पूरा गर्न भन्ने थियो,’ चालिसेले भने, ‘तर, यो सरकारले एउटा पनि जनताको मन जित्ने काम गरेको छैन । अबको चुनावमा यही नै हामीलाई सबैभन्दा फाइदाको विषय हो ।’ कांग्रेसले पनि जनताको मन जित्न नसकिरहेको आफूहरु सचेत रहेको तर जनताले नेकपा सरकार मन नपराएको नेताहरु बताउँछन् ।

कास्की क्षेत्र नं. २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । यसको अधिकांश वडामा नेकपाले नै जित्यो । यो क्षेत्रमा रवीन्द्रले नै ठूलो मतान्तरले चुनाव जितेका हुन् । त्यसैले पनि चुनाव जित्ने कुरा नेकपा ढुक्क छ ।

सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७० हजार ६ सय ५१ थियो । अहिले ७२ हजार २ सय मतदाता पुगेका छन् । ८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज पछि परे । अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए ।

यो क्षेत्रमा तेस्रो स्थानमा विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी पार्टी पनि यो क्षेत्रमा प्रतिस्पर्धामा थियो ।

अहिले रवीन्द्र अधिकारी नेतृत्वको साझा विवेकशील पार्टीले उम्मेदवार घोषणा तयारी गरिरहेको गण्डकी प्रदेश संयोजक महेश भण्डारीले जानकारी दिए । ‘समाजमा चिनिएका र प्रभाव पार्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएर घोषणा गर्ने तयारीमा छौं,’ भण्डारीले भने, ‘हामीले ल्याउने मतले पनि निर्वाचनमा पार्छ ।’ नयाँ शक्ति र संघीय समाजवादी एकीकरण भएपछि रणनीतिक हिसाबले निर्वाचनमा जाने समाजवादी पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष हेमबहादुर थापाले बताए ।

जिल्ला निर्वाचन कार्यालय कास्कीले साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएको संख्या अद्यावधिक गरेर केन्द्रमा पठाइसकेको छ । ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको यो क्षेत्रमा निर्वाचन कार्यालयले तयारी थालिसकेको छ ।

तपाईको प्रतिक्रिया