बार र बेञ्चको आचरण

समाधान संवाददाता २०७६ भदौ १५ गते १३:०४

न्याय सम्पादनमा बार र बेञ्चको सम्बन्ध अन्योन्याश्रित छ । तर कुनै सार्वजनिक समारोहमा न्यायाधीश र कानुन व्यवसायी सहभागी भएमा आरोप प्रत्यारोप सुरु भइहाल्छ । न्यायाधीशले गर्न नहुने काम गरे । कानुन व्यवसायी र मुद्दाका पक्षको अनुहार हेरेर फैसला र आदेश गरे । अनि भित्री अनियमिततामा संलग्न भए जस्ता आरोप कानुन व्यवसायीले लगाउने गरेका छन् ।

आखिर कानुन व्यवसायीलाई भन्न न्यायाधीशले पनि किन बाँकी राख्थे । बाहिरी रुपमा कानुन व्यवसायीजस्तो देखिए पनि भित्री रुपमा विचौलियाको काम गरेको आरोप लागेको धेरै भइसक्यो । मुद्दामा सेटिङ मिलाउन न्यायाधीशका निवासमा पुग्ने पनि आखिर कानुन व्यवसायी नै हुन् । त्यति मात्र कहाँ हो र ? मेलमिलाको लागि ठिक्क भएका मुद्दामा भाँजो हाल्ने काम पनि कानुन व्यवसायीबाटै हुँदै आएको सार्वजनिक कार्यक्रमहरुमा न्यायाधीशले नै भन्दै आएका छन् । अरु त अरु नाम चलेका कानुन व्यवसायीले समेत मिसिलमा आवश्यक पर्ने कागजात पूरा नगरिदिने । यो चाहियो भन्दा बरु उल्टै चर्को स्वर गर्ने गरेको पनि सुनिएकै हो ।

उच्च बार पोखरा र जिल्ला बार कास्कीले शुक्रबार पोखरामा न्यायाधीशका लागि गरेको स्वागत र बिदाइ कार्यक्रममा कानुन व्यवसायी र न्यायाधीशबीच यस्तै जुहारी चल्यो । जिल्ला बारका अध्यक्ष मुक्तिनाथ सापकोटाले सहज रुपमा स्वागत गरेका कतिपय न्यायाधीशको व्यवहारकै कारण बिदाइ कार्यक्रम नगरिएको भन्दै औंला ठड्याए । अनि मर्यादामा रहेर काम गर्न निर्देशनात्मक आग्रह पनि गरे । पछि बोल्ने पालो आयो उच्च अदालतबाट सरुवा भएका न्यायाधीश तेजबहादुर कार्कीको ।

Advertisement

उनले पनि के बाँकी राख्थे र ? न्यायाधीशबाट गुणस्तरीय नतिजा चाहने कानुन व्यवसायीले अदालतमा पेस गर्ने लिखत पनि त्यही स्तरको हुनुपर्ने जवाफ उनको थियो । वहस उत्कृष्ठ नै हुने गरे पनि कानुन व्यवसायीले लिखतमा उच्चतम सिप प्रयोग नगरेको उनले बताए । फैसलाको स्तर कानुन व्यवसायीले पेस गर्ने कागजातमा निर्धारित हुन्छ भन्ने उनको भनाइप्रति सबैजसो कानुन व्यवसायीले मौन सहमति जनाए ।

जिल्ला वा उच्च अदालतमा आउने वा जाने न्यायाधीशलाई बारले स्वागत गर्नुलाई अन्यथा लिनु हुँदैन । अनि यस्ता कार्यक्रममा हुने आरोप प्रत्यारोपलाई पनि त्यही रुपमा ग्रहण गर्नुपर्छ । सवाल के हो भने कानुन व्यवसायी कानुन व्यवसायीको स्थानमा रहनुपर्छ ।

Advertisement

न्यायाधीश न्यायाधीशको ठाउँमा रहनुपर्छ । दुवै पक्षका आआफ्ना सीमा क्षेत्र छन् । कसैले आफ्नो रेखा पार गरेमा न्याय मर्न सक्छ । कानुन व्यवसायी र न्यायाधीशलाई आचरणमा बाँध्न कानुन र आचारसंहिता पर्याप्त छन् । तर किताबका पानामा रहेका आचरणका लाइन भन्दा पनि कोही व्यक्ति आफूले महसुस गर्ने कुरा ठूलो हो । यदि सदाचारलाई ख्याल नगर्ने हो भने कानुन र आचारसंहितामा देखिएका प्रसंग नै फितलो भइदिन्छन् ।

अघिल्लो साता लमजुङबाट समाचार आयो उद्योग वाणिज्य संघको स्वागत ग्रहण गर्न जिल्ला न्यायाधीश पुगे । अनि न्याय सम्पादनमा सहयोग गर्न आग्रह समेत गरे । त्यो कार्यक्रममा जान हुन्थ्यो हुन्थेन भन्ने विषय न्यायाधीश आफैले मनन गर्नु पर्छ । उता कानुन व्यवसायी पनि आफ्नो व्यावसायिक मर्यादा मिचिनेखालका कामबाट जोगिएमा मात्र पीडितलाई न्याय पर्छ ।

तपाईको प्रतिक्रिया