‘पिएनसीलाई नै विश्वविद्यालय बनाऔं’
विकास रोकामगर
पोखरा
कास्कीको मात्रै नभई देशकै ठूलो क्याम्पसका रुपमा चिनिन्छ पृथ्वीनारायण क्याम्पस । यही क्याम्पसले अहिलेसम्म ठूला राजनीतिज्ञ र बुद्धिजीवी जन्माइसकेको छ । जब क्याम्पसको कुरा उठ्छ तब सबैको दिमागमा एउटै नाम आउँछ, सर जर्ज जोन ।
जर्ज जोन अर्थात् पिएन क्याम्पसका संस्थापक प्रमुख । आजभन्दा ठीक ६० वर्ष पहिले जोनले पोखरामा क्याम्पसको सपना नदेखेको भए अहिले क्याम्पस यो स्थानसम्म सायदै आउने थियो । २ शिक्षक, १ कार्यालय सहायक र १३ जना विद्यार्थीबाट क्याम्पस सुरु भएको थियो ।
अहिले क्याम्पसमा देशैभरिका १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । मंगलबार क्याम्पसले ६० औं वार्षिकोत्सव मनायो । त्यसमा प्रमुख अतिथि थिए, तिनै संस्थापक क्याम्पस प्रमुख जर्ज जोन । ८७ वर्षको अन्तिम ढिकमा उभिएका उनले मञ्चमा बिस्तारै भने, ‘अर्को वर्ष रहन्छु रहन्नँ । त्यो ईश्वरको हातमा छ तर, यसपटक आफैंले सुरु गरेको क्याम्पसमा आउन पाउँदा हर्षविभोर छु । मलाई प्रमुख अतिथिको चिठ्ठा पर्यो !’
६० औं वार्षिकोत्सव कार्यक्रम सुरु हुने केही समयअघिसम्म प्रमुख अतिथिमा जर्ज जोनको नाम थिएन । आयोजककै भनाइलाई मान्ने हो भने त्यो कुर्ची कुनै मन्त्रीको नाममा थियो । अन्तिम समयमा आएर मन्त्रीले जिल्लाबाहिर भएकाले कार्यक्रममा आउन नभ्याउने खबर पठाए । प्रमुख अतिथिमा मन्त्री नआउने भएपछि मात्रै जर्ज जोन सरको नाम लिइएको रहेछ । भावुक हुँदै उनले भने, ‘हुन त नेपाल आउनु नै मेरो लागि चिठ्ठा थियो । मलाई जिन्दगीभरि चिठ्ठै चिठ्ठामात्रै परिरह्यो ।’ उनी भारतीय नागरिक हुन् । तर जिन्दगी पोखराको शैक्षिक विकासमा समर्पित गरे ।
मञ्चमा उभिएर जर्ज जोनले पुराना दिनमा फर्किए, जतिबेला क्याम्पसको सुरुआत भयो अर्थात् २०१७ भदौ १७ गते । ‘पोखरा त्यतिबेला दुर्गम जिल्लामै गनिन्थ्यो । यहाँसम्म कि पोखरा आउने सरकारी कर्मचारीले दुर्गम भत्ता खान्थे,’ उनले सम्झिए, ‘त्यतिबेला यो गाउँमा पनि क्याम्पस खुल्नुपर्छ भनेर दुस्साहस गर्यौं ।’
स्थानीय बुद्धिजीवी र सरोकारवालाको समन्वयमा क्याम्पस त खोल्ने निर्णय गरियो । तर, जग्गा र भवन थिएन । क्याम्पसको आफ्नो भवन नभएकै कारण तत्कालीन रत्नराज्यलक्ष्मी कन्या स्कुलको कक्षा कोठाबाट अध्यापन सुरु भएको थियो ।
क्याम्पस सञ्चालक समिति गठन भइसकेको थियो । विद्यार्थी दिनदिनै बढिरहेका थिए । भएका २ शिक्षक र एउटा कर्मचारीलाई तलबको समस्या पर्यो । जर्ज जोनले उपाय फुराए, ‘कम्तीमा क्याम्पसको आफ्नै जमीन भए त्यहीं बसिन्थ्यो । खाना पकाइन्थ्यो । आफू पनि खाइन्थ्यो । विद्यार्थीलाई खेल्न पनि सजिलो हुने थियो ।’
त्यसपछि जर्ज जोनले सञ्चालक समितिलाई ३ सय रोपनी जग्गा माग गरेरै पत्र लेखे । ‘विद्यार्थीले फुटबल मैदान, भलिबल मैदान उपलब्ध गराइदिनुपर्यो भनेर समितिमा माग गरें,’ उनले त्यससमयका दिन सम्झिए, ‘विद्यालयमा विद्यार्थी पढ्ने भवन नभइरहेको बेला ३ सय रोपनी जग्गामा खेलमैदान मागेपछि कस्ले देओस् ? धेरैले ममाथि प्रश्न उठाए ।’
कहिले कन्या क्याम्पस त कहिले पौवामा अध्यापन गराइहिँडेको क्याम्पसले २०१९ सालदेखिमात्रै हाल रहेको भीमकालीपाटनमा आफ्नै टहरा बनाएको थियो । त्यतिबेलासम्म क्याम्पसमा मानविकी विषयमात्रै पढाइएको जर्ज सुनाउँछन् । ‘एउटा विषयमात्रै पढाउँदा विद्यार्थीलाई गाह्रो हुने महसुस गरियो । एउटा विषयमा मात्रै विद्यार्थी कन्स्न्ट्रेट हुँदा उनीहरुको क्रियटिभिटी सकिन्छ जस्तो लाग्यो,’ उनले भने, ‘त्यसपछि म्यानेजमेन्ट र साइन्स पनि थप्यौं । त्यसरी ३ वटा विषय पढाइ हुन थाल्यो ।’
अहिले क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा छ । त्रिविको स्थापना भएको १ वर्षपछि नै खुलेको थियो पिएनसी । ‘२०१९ मा त्रिवि बल्ल पिएनको निरीक्षणमा आएको थियो, त्यो पनि हप्तौं लगाएर,’ जर्ज जोनले सम्झिए, ‘टोली पाल्पा पुगेको रहेछ । पाल्पाबाट भैरहवा गयो । प्लेनको पालो पर्खिन ३ दिन लाग्यो । १ दिनभरि क्याम्पस खोज्दै टोलीको दिन बितेछ !’
त्रिवि सम्बन्धन दिन निरीक्षणमा आएको टोली केही दिन क्याम्पसमै बसेर काठमाडौं फर्किए । बल्लतल्ल ३ विषय सुरु गरेको क्याम्सपलाई टोलीले नयाँ धक्का दियो । ‘मानविकीमात्रै पढाउनू, बाँकी विषय पढ्ने विद्यार्थी काठमाडौं पठाउनू,’ टोलीले भनेको उनले सम्झिए, ‘त्यो बेला उहाँहरुको विचार ठीक थियो । तर, घरबाट मानाचामल बोकेर आएका विद्यार्थी काठमाडौं जान सक्ने अवस्था थिएन । कोही पनि काठमाडौं गएनन् । पढाइ निरन्तर चल्यो ।’
१३ जना विद्यार्थीबाट सुरु भएको क्याम्सपमा जर्जकै पालामा २५ सय विद्यार्थीसम्म पुगे । यसलाई पनि उनी चिठ्ठा परेकै भन्छन् । ‘त्यतिबेला क्याम्पस चलाउनु चुनौतीको कुरा थियो । तर हेर्दाहेर्दै विद्यार्थी बढेको बढ्यै गरे । योभन्दा अर्को गर्वकोे कुरा मलाई के हुन सक्छ ?’ उनले भने । कुनैबेला १९ हजार विद्यार्थी पुगेको सम्झँदा पनि आफैंलाई विश्वास लाग्न अप्ठेरो हुने उनी सुनाउँछन् ।
विद्यार्थीले बनाएको पिएन क्याम्पस !
क्याम्पस गत वर्ष त्रिविको आंगिक क्याम्पसमध्येबाट सर्वोत्कृष्ट ठहरियोे । गत वर्ष नै क्याम्पस अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) सम्मानबाट विभूषित भयो । क्याम्पस यो सफलतासम्म आइपुग्नुमा जर्ज जोन विद्यार्थीको देन ठान्छन् ।
‘सुरुआती समयमा क्याम्पसको भवन थिएन । अहिले हर्लक्क बढेका रुखहरु थिएनन्,’ जर्ज सम्झन्छन्, ‘त्यतिबेला विद्यार्थी आफैं जागरुक भएर भवन पनि बनाए । घरघरबाट बिरुवा लिएर प्रांगणमा रोपे । अहिले त पूरै हरियाली भएको छ ।’ उनले पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी र शिक्षकबीच राम्रो सम्बन्ध सुरुआती अवस्थादेखि हालसम्म कायम रहेको विश्लेषण गरे ।
पृथ्वीनारायण विश्व विद्यालय बन्ने प्रसंग ०२५ सालदेखि उठेको हो !
गण्डकी प्रदेशले आफ्नै विश्वविद्यालय खोल्ने तयारी गरिरहेको छ । तर वार्षिकोत्सव समारोहका अधिकांश वक्ताले पिएनलाई नै विश्वविद्यालय घोषणा गर्नुपर्ने माग राखे । क्याम्पससँग जनशक्ति र पूर्वाधार पर्याप्त रहेकाले पिएन विश्वविद्यालयका लागि उपयुक्त रहेको उनीहरुको तर्क थियो ।
जर्ज जोनले पनि सोही कुरामा सहमति जनाए । उनले भने, ‘पिएनलाई विश्वविद्यालय बनाउने कुरा अहिलेमात्रै उठेको होइन । २०२५ सालदेखि नै लिखित रुपमा उठिरहेको छ । तर, सरोकारवालाले ध्यान नदिँदा सधैं छायाँमा पर्यो ।’ उनले क्याम्पसले उत्पादन गरेका विद्यार्थी राज्य सञ्चालनको प्रमुख ओहोदामा पुगे पनि बेवास्ता गरेको आरोप लगाए ।
‘सबैका आआफ्नै दृष्टिकोण र स्वार्थ मिसिँदो रहेछ । कहिले राजनीतिको, कहिले व्यापारीको,’ जोनले भने, ‘विश्वविद्यालय बनाउने कुरा उठेदेखि नै ओहोदामा हाम्रै विद्यार्थी छन् । किन प्रयास गरेनन् थाहा छैन ।’ उनले मद्दत गर्नुपर्ने सरोकारवाला निकायले मद्दत नगर्दा विश्वविद्यालय घोषणा हुन नसकिरहेको विचार राखे ।
क्याम्पसमा अहिले ५ संकायमा ब्याचलर तहमा १० र मास्टर तहमा २१ विषय पढाइ भइरहेको छ । क्याम्पसमा ५ सय शिक्षकसहित ६ सय कर्मचारी छन् । क्याम्पस प्रमुख डा. चन्द्रबहादुर थापाले चाँडै एमफिल र पिएचडीको कक्षा सञ्चालन गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया