धारिलो हतियार प्रहार गरी बाबुछाेराकाे हत्या

समाधान संवाददाता २०७६ भदौ १८ गते १२:४९

समाधान संवाददाता, स्याङ्जा

स्याङ्जाको हरिनास गाउँपालिकामा बाबु र छोराको हत्या भएको छ । हरिनास गाउँपालिका ३ चिसापानी ललहीको मिनडाडामा मंगलबार बिहान पख एकै परिवारका २ सदस्यको हत्या भएको हो ।

धारिलो हतियार प्रहारबाट २९ वर्षीय चित्रबहादुर खड्का र ४ वर्षका छोरा रिजन खड्काको मृत्यु भएको हो । अपरिचित व्यक्ति घरमा छिरी धारिलो हतियार प्रहार गरी दुवैजनाको हत्या गरेर भागेको चित्रबहादुरीकी पत्नी अनितालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बाबु छोरा सँगै सुतेका र पत्नी अर्कै खाटमा सुतेको अवस्थामा मास्क लगाएको व्यक्ति आएर आक्रमण गरेको अनिताको भनाइ छ । दुवैजनामाथि आक्रमण भएपछि अनिता चिच्याएको र त्यसपछि गाउँले जम्मा भएको स्थानीयले बताए ।

Advertisement

हत्या के कारणले, कसले गर्‍यो भन्ने अनुसन्धान भइरहेको स्याङ्जाका प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताए । हत्याको खबर लगत्तै एसपी लम्साल र डिएसपी नविनकृष्ण भण्डारी पोखराबाट कुकुर लिएर घटनास्थल पुगेको थियो ।

जाहेरी तथा अनुसन्धानका लागि प्रहरीले अनिता खड्का र चित्रबहादुरका भाइ विक्रमबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ । दुवैजनाको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया