वारपाक सुलिकोट आफ्नै भवनमा

समाधान संवाददाता २०७६ भदौ १८ गते १६:०४

मोहसिन अली मियाँ
गोरखा

जिल्लाको बारपाक सुलिकोट गाउँपालिका कार्यालय आफ्नै भवनमा सरेको छ । गाउँपालिकाको करिब ९५ लाख लगानीमा ११ कोठ पक्की भवन बनेपछि भाडाको घरबाट कार्यालय सारिएको हो । ‘अब भाडा तिर्नुपर्ने बाध्यता हट्यो’, प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङले भने, ‘पर्याप्त नभए पनि गत बुधबारदेखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेका छौं ।’

यसअघि बारपाक सुलिकोट गाउँपालिका ६ को पाल्खुबजारमा घर भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएको थियो । गाउँपालिकाले मासिक ३७ हजार भाडा तिर्ने गरेको थियो । ‘कम्तीमा अब भाडा तिर्नुपर्ने बाध्यता हट्यो’, उनले भने, ‘अर्को कुरा आफ्नै भवन भएपछि सेवा प्रवाहमा पनि पक्कै सहज हुन्छ ।’

Advertisement

अहिले बनाइएको भवन पनि गाउँपालिकाको प्रमुख भवन होइन । करिब ३९ रोपनी जग्गा गाउँपालिकाको नाममा प्राप्ति गरेको बारपाक सुलिकोटले सुवबधा सम्पन्न कार्यालय भवन बनाउने घोषणा गरिसकेको छ । केही समयअघि पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उक्त भवन शिलन्यास गरेका थिए । ‘हामीले किनेको र स्थानीयले दान एवं सहयोग गरेको गरी झण्डै ३९ रोपनी जग्गा गाउँपालिकाले प्राप्ति गरेको थियो’ प्रमुख प्रशासकीय अधिकृत गुरुङले भने, ‘त्योमध्ये साढे २ रोपनी प्रहरीलाई दिएका छौं । बाँकीमा गाउँपालिकाले आफ्नो संरचना निर्माण सुरु गरिसकेको छ ।’

२ नगरपालिका र ९ गाउँपालिका ११ वटा स्थानीय तह रहेको जिल्लामा गोरखा नगर पालिकाकाबाहेक अन्य तहका स्थायी संरचना छैनन् । अधिकाशंको भवन निर्माणकै क्रममा छन् । केही स्थानीय तहले अहिलेको आवश्यकता परिपूर्ती गर्ने खालका भवन बनाएर काम गरिरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया