लाखे नाचमा पोखरा विजेता

समाधान संवाददाता २०७६ भदौ १८ गते १७:०१

समाधान संवाददाता
दुलेगौंडा

भीष्म नेवार समाज भीमादको आयोजनामा सोमबार भएको प्रथम खुला लाखे नाच प्रतियोगितामा बाल गोपाल सेवा समिति पोखरा प्रथम भएको छ ।

नेवारी भाषा, कला संस्कृतिको पहिचान, यसको संरक्षण र सम्वद्र्धन हाम्रो राष्ट्रिय अभियान भन्ने नाराका साथ भएको प्रतियोगितामा छंगेली नेवार समाज, दमौली द्वितीय भयो । देउराली नेवा खल कास्की र विश्वकर्मा लाखे समाज भक्तपुरले सान्त्वना पाए । उत्कृष्ट भेषभुषामा भीमसेन सेवा समाज, रिसिङ र अनुशासनतर्फ मैबल नेवार समाज, भानु घोषित भयो । प्रतियोगितामा प्रथम र द्वितीयले क्रमशः ४० हजार र २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । सान्त्वना स्वरुप २ समूहले नगद ४÷४ हजार रुपैयाँ र प्रमाणपत्र पाए ।

Advertisement

प्रतियोगितामा तनहुँसँगै कास्की, पाल्पा, स्याङ्जा, काठमाडौ र भक्तपुरका २५ समूहको सहभागिता रहेको प्रतियोगिता संयोजक एवं भीष्म नेवार समाजका संस्थापक अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस अवसरमा नेवा देव दबुका केन्द्रीय अध्यक्ष नरेशमान ताम्राकारले नेवार समुदायका संस्कृति वैज्ञानिकतामा आधारित रहेको उल्लेख गरे । उनले भाषा संस्कार कुनै पनि देशको गहना भएको बताउदै नेवारी समुदाय यसको संरक्षणमा जुट्नुपर्नेमा जोड दिए ।

Advertisement

उनले स्थानीय तहलाई आधारभूत तहमा मातृ भाषामा कक्षा सञ्चालन गर्न सक्ने अधिकार भएको जानकारी दिँदै यसको उपयोग गर्न सके स्थानीय भाषा संरक्षणमा टेवा पुग्ने बताए । रिसिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिका अध्यक्ष रनबहादुर राना, नेवा देव दबुका केन्द्रीय उपाध्यक्ष शंकरनारायण श्रेष्ठ लगायतले पहिचान नभएमा कुनैपनि जातिको महत्व नहुने भएकाले संरक्षणको आवश्यकता औंल्याए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले नेवारी भाषा र संस्कृतिप्रति सबै नेवार एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष राजकुमार श्रेष्ठले लाखेनाचको प्रचारप्रसार र संरक्षणका लागि प्रतियोगिता गरिएको बताए । ‘युवापुस्ताहरुमा भाषा संस्कृति सोचे अनुरुप हस्तान्तरण हुन सकेको छैन,’ उनले थपे, ‘यस्ता विभिन्न कार्यक्रमले उनीहरुलाई आफ्नो संस्कृतिबारे ज्ञान दिलाउन सहयोग पुग्छ ।’

तपाईको प्रतिक्रिया