इटिकेटिङ सुरु नगर्ने ८ गाडी कारबाहीमा

समाधान संवाददाता २०७६ भदौ १९ गते १२:५३

समाधान संवाददाता
पोखरा

विद्युतीय टिकट (इटिकेटिङ) लागु नगर्ने ८ गाडीलाई पोखरा महानगरले बुधबार कारबाही गरेको छ । पोखरा १३ का वडाध्यक्ष दर्शन लामाको संयोजकत्वमा खटिएको अनुगमन टोलीले इटिकेटिङ प्रणाली लागु नगरेका गाडीलाई कारबाही गरेको हो ।

अनुगमन टोलीले पृथ्वीचोकदेखि चिप्लेढुंगा रुटमा चल्ने गाडी अनुगमन गरेको महानगर ट्राफिक व्यवस्थापन संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘आइतबारसम्म सबै गाडीमा इटिकेटिङ लागु गरिसक्न समय दिएका थियौं । तर, कुनै कुनै बसले अटेरी गरेको पाइयो ।’ उनले पहिलोपटकका लागि नियन्त्रणमा लिएका बसलाई अर्को आइतबारसम्म इटिकेटिङ सुरु गर्ने गरी छोडिएको र अटेरी गरे जरिवाना गरिने बताए ।

Advertisement

पोखरा १३ वडाध्यक्ष दर्शन लामाले विद्युतीय टिकट सुरु नगर्ने सवारी साधनलाई कुनै पनि हालतमा नछोड्ने बताए । उनले भने, ‘महानगरमा स्मार्ट यात्रा सुरु भइसकेको छ । कुनै पनि सवारी धनीले यसमा अटेरी गर्नुहुँदैन । त्यसो गरेको पाइए कारबाहीको दायरामा पर्नेछन् ।’ उनले रुट अनुसार प्रत्येक सवारी साधनको नियमित अनुगमन गरिने जानकारी दिए ।

भदौ १ गतेदेखि इटिकेटिङ सिस्टम लागु भएको छ । इटिकेटिङ सुरु भएपछि यात्रुले महानगरभित्र छोटो दूरीका बसमा समेत टिकट यात्रा गर्नुपर्छ । इटिकेटिङका लागि महानगरले ओम डेभलपमेन्ट बैंकको सहकार्यमा स्मार्ट कार्ड वितरण गरेको छ । पहिलो चरणमा बैंकले महानगरभित्र चल्ने करिब ८ सय सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्षभित्र ३ लाख स्मार्टकार्ड वितरण गर्ने लक्ष्य राखेको छ । इटिकेटिङ प्रणाली लागु गर्न पोखरा महानगरका बस व्यवसायीलाई महानगरले १ महिने तालिमसमेत दिइसकेको छ ।

Advertisement

महानगरभित्र सवारीसाधनमा विद्युतीय टिकट (इटिकेटिङ) प्रणाली लागु गर्न पोखराका बस व्यवसायी र एन्क्लाउड कम्पनी र ओम डेभलपमेन्ट बैंकबीच चैत ३ गते श्रीपक्षीय सम्झौता भएको थियो । वैशाखदेखि इटिकेटिङ लागु गर्ने सम्झौता भएपनि करिब ४ महिनापछिमात्रै योजना लागु गरेको हो ।

काठमाडौंको एनक्लाउड कम्पनीले विद्युतीय टिकट प्रणाली लागु गर्न स्रोत र प्रविधि उपलब्ध गराउने महानगरको सम्झौता छ । उक्त सम्झौताम बस व्यवसायीहरु पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसायी समितिसँग महानगरले विद्युतीय टिकट प्रणाली लागु गर्न सम्झौता गरेका छन् ।

तपाईको प्रतिक्रिया