धर्म प्रचार गर्न स्वास्थ्य शिविर

समाधान संवाददाता २०७६ भदौ १९ गते १५:०९

समाधान संवाददाता
जोमसोम

मुस्ताङको घरपझोङ ५ ठिनीस्थित नयाँ आशा मण्डली चर्चमा मंगलबारदेखि ३ दिने हाडजोर्नी अकुपञ्चर स्वास्थ्य शिविर सञ्चालन भएको छ । क्रिस्चियन धर्मालम्बीको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नयाँ चर्चले शिविर आयोजना गरेको धर्मगुरु मंगल विकले जानकारी दिए ।

हिमाली जिल्ला मुस्ताङमा ९० प्रतिशत स्थानीय जनजाति समुदायका बासिन्दा छन् । यहाँका अधिकांश बासिन्दा बौद्ध धर्ममा आस्था र विश्वास राख्छन् । बुद्ध धर्मले जरो गाडेको मुस्ताङमा धर्म प्रचारकै लागि शिविर भएको स्थानीयले बताएका छन् । ‘शिविरमा नेपाली चिकित्सक नहुनुले थप आशंका जन्माएको छ,’ ती स्थानीयले भने ।

Advertisement

शारीरिक व्यायाम पद्धतिबाट मानव शरीरको हाडजोर्नी सम्बन्धी उपचार गर्न चर्चले ४ जना कोरियाली र २ जना चिनिया चिकित्सक मुस्ताङ ल्याएको हो । उपचार टोलीको अगुवाइ कोरियाली चिकित्सक किम योनजोकले गरेको विकले जनाए । उपचार पद्धतिमा सहजीकरण गर्न एक दोभाषे पनि खटिएको धर्म गुरु विकले बताए । ‘चर्चले क्रिस्चियन अनुयायीका निम्ति शिविर गरेको हो । शिविर बसेको थाहा पाएपछि अरु पनि आए । चर्चले कुनै गलत मनसायले कार्यक्रम गरेको होइन,’ विकले भने ।

उनका अनुसार नयाँ आशा मन्डली ठिनीले विगत वर्षमा पनि यस प्रकारको शिविर सञ्चालन गर्दै आइरहेको छ । हाडजोर्नी उपचार सम्बन्धीका बिरामीलाई लक्ष्य गरी सञ्चालन गरिएको शिविरको पहिलो र दोस्रो दिन करिब २ सयजना बिरामीले स्वास्थ्य लाभ लिएको धर्मगुरु विकले जानकारी दिए । क्रिस्चियन अनुयायीका लागि मात्र भएपनि अन्यको पनि उपचारमा सहयोग पु¥याइएको उनको भनाइ छ । चर्चले आयोजना गरेको हाडजोर्नी शिविर बिहीबार सकिने जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया