शिक्षामा राजनीतिक भर्ती हुनु हुँदैनः मुख्यमन्त्री

समाधान संवाददाता २०७६ भदौ १९ गते १५:५२

कृष्ण न्यौपाने
दमौली

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको १० औं साधारण सभा ३३ औं वार्षिकोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले विद्यालय र क्याम्पस राजनीतिक भर्ती केन्द्रको रुपमा विकास भइरहेकोले शिक्षा क्षेत्र धारासायी हुँदै गएको बताए ।

क्षमताका आधारमा भन्दा राजनीतिक आस्थाका आधारमा विद्यालय र क्याम्पसमा पदाधिकारी र प्राध्यापक नियुक्त हुने परम्परा अन्त्य गर्नुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए । ‘शिक्षा क्षेत्रमा राजनीतिक आस्था हेर्नुहुँदैन, क्षमता हेर्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘तबमात्र शिक्षा क्षेत्रको विकास सम्भव हुन्छ ।’

Advertisement

मुख्यमन्त्री गुरुङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रमा सबैको सहमति र सहकार्य आवश्यक रहेको चर्चा गरे । ‘धेरै राजनीति भयो भने जुन क्षेत्र पनि ध्वस्त हुन्छ, शिक्षा क्षेत्रको राजनीतिकरण अन्त्यका लागि सबै जुट्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने ।

अध्ययन, अनुसन्धान नगरी शिक्षण संस्था खोल्ने लहड चलेको भन्दै मुख्यमन्त्री गुरुङले आवश्यकताको आधारमा मात्रै शिक्षण संस्था खोल्नुपर्नेमा जोड दिए । नेताको लहड, अहंकार र अस्वस्थ प्रतिस्पर्धाले अन्धाधुन्ध विद्यालय र क्याम्पस खोल्ने प्रवृत्ति बढेको र त्यसले समाजलाई बोझ थोपरेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । ‘यसको अन्त्य नभएसम्म हाम्रो समाजको उत्थान पनि धेरै राम्रो हुँदैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘शिक्षाको गुणस्तर पनि वृद्धि हुन सक्दैन ।’

Advertisement

धेरै क्याम्पसमा विद्यार्थीको अभाव, शिक्षाको अभाव र गुणस्तर अभाव रहेपनि यी सबै चुनौतिका बाबजुद आदिकवि क्याम्पसले उल्लेख्य प्रगति हासिल गर्न सकेकोमा मुख्यमन्त्री गुरुङले खुसी व्यक्त गरे । समुदायले यति राम्रो क्याम्पस चलाउन सक्ने रहेछ भन्ने उदाहरण आदिकविले प्रस्तुत गरेकोमा मुख्यमन्त्री गुरुङले प्रशंसा गरे ।

मुख्यमन्त्री गुरुङले अहिलेको आवश्यकता प्राविधिक शिक्षा रहेकोले त्यही आवश्यकतालाई मनन गर्दै गण्डकी प्रदेश सरकारले शुक्लागण्डकीमा गण्डकी विश्वविद्यालय स्थापना गर्ने प्रकृया अगाडि बढाइसकेको जानकारी दिए । गुरुङले भ्रष्टाचार नियन्त्रण नगरी समृद्धि सम्भव नरहेकोले तीन तहकै सरकार भ्रष्टाचार नियन्त्रणमा कठोर बन्नुपर्ने बताए ।

समृद्ध नेपाल निर्माणका लागि सबै सरकारको एउटै दिशा हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले एकीकृत रुपमा काम गर्न सके नेपालमा १०÷१५ वर्षमा चमत्कार हुने दावी गरे । ‘छुट्टाछुट्टै हिँडेर कोही पनि गन्तव्यमा पुग्न सकिँदैन, विकासका लागि सत्तापक्ष र प्रतिपक्ष आवश्यक छैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘सबैको मूल ध्येय आर्थिक समृद्धि नै हो ।’

संघीय सांसद केदार सिग्देलले समुदायको अग्रसरतामा स्थापित क्याम्पसले शैक्षिक क्षेत्रमा उल्लेख्यनीय योगदान पुर्‍याएको बताउँदै प्राविधिक शिक्षा अबको आवश्यकता रहेको बताए । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले क्याम्पसले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै क्याम्पसको विकासका लागि प्रदेश सरकारको सहयोग रहने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद आशा कोइराला, डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगायतले विद्यार्थी, अभिभावक र प्राध्यापकको लगावका कारण क्याम्पसले सफलता प्राप्त गरेको बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले शैक्षिक बजारको माग अनुसारको जनशक्ति उत्पादनलाई जोड दिइएको बताउँदै महिला, जनजाति, दलित, अल्पसङ्ख्यक, विशेष क्षमता भएका विद्यार्थीहरुको भरोसाको केन्द्रको रुपमा क्याम्पस स्थापित हुन सफल भएको बताए । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले क्याम्पसको सफलताको मुख्य श्रेय स्थानीयवासीलाई दिनुपर्ने बताए ।

त्यस अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । सोही अवसरमा मुख्यमन्त्री गुरुङले क्याम्पसलाई सहयोग गर्ने व्यास नगरपालिका–२ निवासी रमेशदत्त वाग्ले, व्यास नगरपालिका–१० निवासी विष्णु ढकाल, म्याग्दे गाउँपालिका–२ निवासी विष्णुबहादुर अधिकारी, व्यास नगरपालिका–१२ निवासी वेदनाथ कैनी, व्यास नगरपालिका–२ निवासी सन्तकुमार श्रेष्ठलाई सम्मान गरे ।

विसं २०४४ सालमा समुदायबाट सञ्चालित क्याम्पसमा ८० प्रतिशत छात्रा अध्ययन गर्ने गरेका छन् । कुल २ हजार ५ सय विद्यार्थीमध्ये २ हजार विद्यार्थी छात्रा रहेको क्याम्पसले जनाएको छ । विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् । विद्यार्थीको १८ प्रतिशत विद्यार्थी दलित छन् भने ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् । क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ ।क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थीहरु क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेको क्याम्पसले जनाएको छ ।

उद्घाटन शत्रपछि बन्द सत्र सञ्चालन हुनेछ । साधारणसभाले क्याम्पसको नयाँ नेतृत्व चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया