सबस्टेसन नबन्दा समस्या

समाधान संवाददाता २०७६ भदौ १९ गते १६:२४

राजन उपाध्याय
दुलेगौंडा

तनहुँको शुक्लागण्डकी ५ बेलचौतारामा विद्युत सबस्टेसन निर्माणमा ढिलाइ भएको छ । आयोजना सञ्चालनमा नआउँदा शुक्लागण्डकी र भिमाद नगरपालिकाका क्षेत्रमा कम भोल्टेजबाट हुने समस्याले स्थानीय दिक्क छन् । एसियाली विकास बैंकको आर्थिक सहयोगमा ११ वटा सबस्टेसन निर्माणका लागि ए टु जेट इन्फ्रा इन्जिनियरिङ भारतले सम्झौता गरेको हो ।

३ वर्षअघि सम्झौता गरेपनि हालसम्म ५ वटामात्र सबस्टेसन निर्माण भएको वितरण प्रणाली सुदृढीकरण आयोजना काठमाडौंले जनाएको छ । ११ वटा सबस्टेसनका लागि करिब १३ मिलियन अमेरिकी डलरमा सम्झौता भएको हो । आयोजना प्रमुख बोधराज ढकालले बाँकी ७ वटामध्ये २÷३ वटा दसैं अगाडि सम्पन्न हुने दाबी गरे । बेलचौतारामा निर्माणाधीन सबस्टेसन पनि दसैंअघि सकिने उनले बताए । ‘हालसम्म ८० प्रतिशत काम भइसकेको छ,’ उनले भने, ‘अब फिनिसिङको काममात्र बाँकी छ ।’

Advertisement

३३÷११ केभी प्रसारण लाइन विस्तारको लागि सबस्टेसनदेखि लाइन वितरण हुने क्षेत्रमा सोही क्षमता अनुसारका छुट्टै पोल, तार तथा पावर ट्रान्सर्फमर जडान गर्नुपर्ने हुन्छ । स्टेसनको मुख्य सामग्रीको रुपमा रहेको भ्याकुम सर्किट ब्रेकर र पावर कन्ट्रोल केवल जडान भएपछि सवस्टेसन सञ्चालनमा आउनेछ । हाल बेलचौतारादेखि दुलेगौंडा क्षेत्रमा पोल गाडिए पनि करिब ४०÷४५ वटा पोल गाड्न बाँकी छ । पावर ट्रासफर्मर र पावर कन्ट्रोल केवल निर्माणस्थलमा तयारी अवस्थामा राखिए पनि जडान गर्न बाँकी छ ।

बेलचौतारा सबस्टेसन जीपी कोइराला राष्ट्रि श्वासप्रश्वास केन्द्रले प्रदान गरेको करिब २५ रोपनी जग्गामा छ । सम्झौता भएपछि करिब ६÷७ महिना भोगाधिकारको प्रक्रिया सम्पन्न गर्न लागेको थियो । यसले पनि केही समय ढिला भएको आयोजनाले जनाएको छ ।

Advertisement

हाल यस क्षेत्रमा पोखराको लेखनाथ हुँदै विद्युत आपूर्ति भइरहेको छ । लेखनाथबाट यस क्षेत्रको दुरी लामो भएकाले पावर लस हुने भएकाले भोल्टेज कम हुने गरेको छ । सबस्टेसन सञ्चालनमा आएपछि कम भोल्टेजबाट हुने समस्या समाधान हुनुका साथै प्राविधिक कारणले हुने विद्युत चुहावट नियन्त्रण भई प्रसारण लाइन भरपर्दो हुनेछ । सबस्टेसन सञ्चालनमा आएपछि दुलेगौंडा, खैरेनीटार, ढोरफिर्दी, कोत्रे भिमाद लगायतका क्षेत्रमा सहज तरिकाले विद्युत आपूर्ति हुनेछ ।

सबस्टेसन निर्माण आर्थिक वर्ष ०७३÷०७४ मा सुरु गरिएको थियो । २०७३ साल भदौ १७ गते सबस्टेसन निर्माणका लागि सम्झौता भएको हो । २ वर्षभित्र काम नसकिएपछि निर्माण कम्पनीले थप १ वर्ष समय माग गरेको थियो । अहिले थपिएको समय पनि सकिएकाले करिब ४ महिना थप्नका लागि कम्पनीले आग्रह गरेको ढकालले जानकारी दिए । अलग अलग स्थानमा १२ वटा सबस्टेसन बनाउनुपर्ने भएकाले समयमै नभ्याएको बताइएको छ । सो कम्पनीले गण्डकी प्रदेशमा ४ वटा सबस्टेसन निर्माण गरेकोमा गोरखाको पालुङटारको सम्पन्न भई चार्ज भइसकेको छ । बाँकी ३ वटा निर्माणाधीन छन् ।

तपाईको प्रतिक्रिया