तिब्बती शरणार्थी नागरिकता प्रकरण थुनछेक बहस सुरु

समाधान संवाददाता २०७६ भदौ २० गते १४:०१

समाधान संवाददाता
पोखरा

नागरिकता प्रकरणमा मुछिएका वडाध्यक्ष, तिब्बती युवतीसहित १४ जनाविरुद्ध परेको मुद्दामा जिल्ला अदालत कास्कीमा बिहीबारबाट थुनछेक बहस सुरु भएको छ ।

बिहीबार पक्षबाट सहायक जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद शर्माले बहस गरे । पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापाको तर्फबाट वरिष्ठ अधिवक्ता हरि सुवेदीले बहस गरे ।

Advertisement

बाबु बनेर सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगरको तर्फबाट अधिवक्ता सुरेन्द्र थापामगरले बहस गरेका छन् । अधिवक्ता कृष्ण तिमिल्सिनाले बाबु बनेर सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगर, सर्जमिन मुचुल्कामा दस्तखत गर्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगरको तर्फबाट बहस गरे । मुद्दा न्यायाधीश दण्डपाणि शर्माको इजालसमा परेको छ ।

पोखरा १८ सराङकोट निवासी लेखबहादुर थापाले हेम्जाको तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका आफ्ना २ नातिनीलाई छोरी बनाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता उपलब्ध गराएको प्रकरणमा मुछिएका १४ जना विरुद्ध १७ गते मुद्दा दायर भएको थियो ।

Advertisement

बाबु बनेर सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगर, सर्जमिन मुचुल्कामा दस्तखत गर्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगरविरुद्ध मुद्दा दायर भएको हो । पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत ऋषिराम आचार्य, नायव सुब्बा डाँसीराम लामिछाने, खरदार परशुराम पौडेल र रामचन्द्र थापा विरुद्ध पनि मुद्दा परेको हो ।

यसमा मुछिएका २ कर्मचारी विष्णुप्रसाद पौडेल र राजेन्द्र पौडेलविरुद्ध भने मुद्दा दायर भएको छैन । उनीहरु दुवै तत्कालीन पञ्जिकाधिकारी हुन् । जेठ २६ गते र असार ६ गते जारी भएका २ नागरिकता भने जिल्ला प्रशासन कार्यालयले यस अघि नै खारेज गरिसकेको छ ।

तपाईको प्रतिक्रिया