चितुवाबाट मारिएकाको परिवारलाई १० लाख प्रदान

समाधान संवाददाता २०७६ भदौ २० गते १४:२७

कृष्ण न्यौपाने
दमौली

चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको परिवारलाई १० लाख रुपैयाँ प्रदान गरिएको छ । वन तथा वातावरण मन्त्रालयमार्फत् प्राप्त उक्त रकमको चेक बिहीबार पीडितका आमा दुर्गा अधिकारीलाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र भानु नगरपालिकाका उपप्रमुख आशा थापाले संयुक्त रुपमा प्रदान गरेका हुन् । जेठ २४ गते पुष्पालाई चितुवाले आक्रमण गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी पण्डितले पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व निकै जटिल समस्या रहेको हुँदा द्वन्द्वबाट मानव पनि जोगिने र वन्यजन्तु पनि जोगिने गरी काम गर्नुपर्ने बताए । पण्डितले मानिसको जीवन पैसासँग तुलना गर्न नमिल्ने भएपनि राहत रकमले पीडित परिवारलाई केही सहयोग हुने बताए ।

Advertisement

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिसको मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने नीति बमोजिम पीडित परिवारलाई राहत रकम प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । कार्यालयले गत जेठ २६ गते तत्कालका लागि ५० हजार रुपैयाँ प्रदान गरेको थियो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा पचास हजारसम्म, गम्भीर घाइते भए २ लाखसम्म र मृत्यु भए अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।

Advertisement

चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भइसकेको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो । यसअघि सबै पीडितका आफन्तलाई १० लाखको दरले राहत वितरण भइसकेको छ ।

तपाईको प्रतिक्रिया