मुक्तिनाथ केबलकार परियोजना सुरु हुन्छः अध्यक्ष सुवेदी

समाधान संवाददाता २०७६ भदौ २० गते १५:१७

एसके थकाली
जोमसोम

नेपालको दीर्घकालीन पर्यटन विकासका लागि केबलकार परियोजना सुरु हुन लागेको मुक्तिनाथ दर्शन केबलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले बताए । परियोजना लागु भए राष्ट्रकै पर्यटन विकासमा योगदान पुग्ने सुवेदीले जनाए । मुस्ताङको जोमसोमस्थित एक्याप कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष सुवेदीले परियोजनाको ४ महिनाभित्रै डिपिआर हुने बताए ।

प्रालिका अध्यक्ष सुवेदीले केबलकार परियोजनाको वातावरण प्रभाव मूल्यांकन (इआइए) अघि बढेको जनाए । सरकारको प्रशासनिक र कानुनी प्रक्रिया झन्झटिलो भएकाले यो प्रक्रिया लम्बिएको सुवेदीले सुनाए । उनले केबलकार परियोजनाको सम्भाव्यता अध्ययन तथा प्रारम्भिक प्रतिवेदन भई केबलकार निर्माणको प्रक्रिया सुरु भएको बताए । केबलकार निर्माणका लागि अन्तर्राष्ट्रिय बैकिङ प्रणालीमा लगानीका लागि वार्ता भइरहेको र केबलकार ४ वर्षभित्र सम्पन्न गर्ने योजना सुवेदीले सुनाए ।

Advertisement

यसका लागि इआइए प्रक्रिया अघि बढाउन स्थानीय स्तरमा छलफल गर्ने उद्देश्यले मुस्ताङ आएका अध्यक्ष सुवेदीले मुस्ताङका सरोकारवालासँग छलफल अघि बढाएका हुन् । परियोजनाको उद्देश्य र यसले पुर्‍याउने पर्यटन विकासका बारेमा उनले स्थानीयलाई सुझाए । उनले परियोजना सिंगोे मुलुक, प्रदेश तथा स्थानीय निकायको हितमा रहेको दाबी गरे ।

केबलकार परियोजनाले ५ वर्षभित्र १२ अर्ब ८० करोड अर्थात बर्सेनि २ अर्ब ५६ करोड सरकारलाई राजस्व बुझाउने लक्ष्य रहेको उनले बताए । उक्त राजस्वमध्ये १ अर्ब २८ करोड संघ, ६४ करोड प्रदेश र ६४ करोड स्थानीय तहलाई उपलब्ध हुने अध्यक्ष सुवेदीले बताए । स्थानीय तहलाई प्राप्त हुने राजस्वबाट हरेक स्थानीय तहको भागमा बर्सेनि १२ करोड ८० लाख प्राप्त गर्न सक्ने उनको अनुमान थियो ।

Advertisement

परियोजनाले वित्तीय मुद्दा आर्जनमा योगदान पुर्‍याउने जनाइएको छ । यसका लागि सार्क मुलुकबाट २ अर्ब ८७ करोड र तेस्रो मुलुकबाट २ करोड ३९ लाख अमेरिका मुद्दा आर्जन गर्ने केबलकारको लक्ष्य अध्यक्ष सुवेदीले सुनाए । परियोजनाले बर्सेनि आम्दानी गरेको कुल रकमको १ प्रतिशत सामाजिक विकासका लागि खर्च गर्नेछ । परियोजनाले ५ वर्षमा ११ करोड ९३ लाख अमेरिकी डलर र १४ अर्ब ३२ करोड भारतीय रुपैयाँ संकलन आँकलन सुनाए ।

केवलकारले वार्षिक १० लाख ८० हजार यात्रुलाई सेवा दिनसक्ने र उक्त संख्याको ५० प्रतिशत विदेशी पर्यटक हुने अनुमान सुवेदीको छ । केबलकार सूर्योदयदेखि सूर्यास्तसम्म हुने र केबलकार यात्रुले तोकिएको स्टेसनमा बस्नुपर्ने भएकाले स्थानीय पर्यटन व्यवसायी यसबाट हतोत्साही हुन नपर्ने अध्यक्ष सुवेदीले प्रष्ट्याए । केबलकार यात्रु सूर्यास्तपछि जुनसकै स्टेसनमा बास बस्नुपर्ने भएकाले साविकका होटलले थप ३५ सय कोठा थप्न आवश्यक भएको उनको भनाइ थियो ।

मुक्तिनाथ केबलकार परियोजनाको अनुमानित लागत ५० अर्ब रुपैयाँ हुनेछ । जसमा ८० प्रतिशत वैदेशिक वा स्वदेश ऋण सहयोग र बाँकी २० प्रतिशत स्वैच्छिक पुँजी रहनेछ । उक्त पँुजीको परियोजनाले जग्गा खरिद गर्दा इच्छुक शेयरकर्ता र अन्य स्थानीय तहको सेयर जुटाउने छ । परियोजनाले योग्यता र दक्षताका आधारमा स्थानीय युवालाई रोजगार उपलब्ध गराउने र परियोजनामा करिब १ हजार जनशक्ति परिचालन हुने परियोजना अध्यक्ष सुवेदीले जनाए । परियोजनाले पर्यटन, उद्योग र कृषि उत्पादन तथा बजारीकणमा योगदान पु¥याउने उनले बताए । केबलकारले प्रकृतिको विनाश रोक्ने, पर्यावरण र जैविक संरक्षणमा समेत योगदान दिने सुवेदीले दाबी गरे ।

परियोजनाले समुन्द्री सतहदेखि ९४८ मिटर उचाइको कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ ३६४२ मिटरको उचाइमा ८३ दशमलव ८७ किमी लामो केबलकार निर्माण गर्न लागेको हो । विश्वकै लामो केबलकार वीरेठाँटीदेखि मुक्तिनाथसम्मको उचाइ २ दशमलव ६४ किमी हुने जनाएको छ । केबलकारको १९ वटा सबस्टेसन हुनेछन् जसमा ८ वटा अनिवार्य यात्रु उक्लने र ओर्लने स्टेसन र १० वटा यात्रुले चाहे अनुसार झर्न र चढ्न सक्नेछन् । केबलकारको यात्रा ४ घन्टाको हुनेछ भने जसको १ स्थानमा मात्र केबलकारको प्राविधिक स्टेसन रहने छ ।

केबलकार परियोजनाले वीरेठाँटीदेखि तिखेढुंगा, घोडेपानी, सिखा, पोखरेबगर, तातोपानी, काभ्रे, घासा, लेते, कोवाङ, चोखोपानी, मार्फा, जोमसोम, कागबेनी हुँदै १९ वटा स्टेसन क्रस गराएर मुक्तिनाथ पुर्‍याउने छ । केबलकार प्रणालीमा १७ वटा अलग अलग केबलकार प्रणालीको एउटै रुप सञ्चालन हुने जनाइएको छ । एउटाबाट अर्को स्टेसनसम्म पुग्न १५ मिनेट लाग्नेछ ।

केबलकारमा ४ सय ७६ वटा विभिन्न आकारका टावर जडान हुनेछन् भने ७ सय ७० वटा गोन्डुला रहनेछन् । केबलकारको वार्षिक ३६ लाख यात्रु ओसारपसार गर्ने क्षमता हुनेछ । परियोजनाले वार्षिक क्षमताको ३० प्रतिशत यात्रुलाई सेवा दिने र बर्सेनि २ प्रतिशतले वृद्धि गर्दै जाने लक्ष्य बनाएको परियोजनाका अध्यक्ष सुवेदीले उल्लेख गरे । केबलकारले पहिलो चरणमा चढेका ३२ सय यात्रुमध्ये ३ सय २० यात्रुले मात्र एकै दिनमा मुक्तिनाथ दर्शन गरी फर्कन सक्ने र बाँकी २ हजार ८ सय ८० यात्रु बीचको कुनै स्टेसनमा बस्नुपर्ने सुवेदीले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया