प्राविधिक विश्वविद्यालयका लागि भानुभक्त क्याम्पससँग जग्गा छैन

समाधान संवाददाता २०७६ भदौ २० गते १५:३८

राजन उपाध्याय
दुलेगौंडा

भानुभक्त बहुमुखी क्याम्पस सञ्चालक समितिले प्राविधिक विश्वविद्यालय स्थापना गर्न क्याम्पस हाताभित्र जग्गा उपलब्ध गराउन असमर्थ रहेको जनाएको छ । तनहुँको बेलचौतारामा अवस्थित क्याम्पसले भदौ १७ गते शुक्लागण्डकी नगरपालिकालाई पठाएको पत्रमा विश्वविद्यालयले मागेजति जग्गा नभएकाले उपलब्ध गराउन नसक्ने जनाएको हो । क्याम्पसले सो जानकारीको पत्र नगरपालिकामा पठाएको छ । तर, पत्र दर्ता नभएको स्रोतले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकाले प्राविधिक विश्वविद्यालयका लागि जमीन उपलब्ध गराई समन्वय गरिदिन क्याम्पसलाई गत भदौ ३ गते पत्र पठाएको थियो । सोहि विषयलाई लिएर भदौ १३ गते क्याम्पस सञ्चालक समितिको बैठक बसेको थियो । समितिका अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले क्याम्पस मातहत रहेको २ सय ५७ रोपनीमध्ये १ सय रोपनी सोलार फार्मलाई भाडामा दिएको र बाँकी जमीनपनि उपयोग भइरहेको जनाएको छ ।

Advertisement

क्याम्पस प्रमुख रमेशबहादुर अधिकारीद्वारा हस्ताक्षरित पत्रमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बिबिएस, बिए, बिएड, एमएडका कक्षाका लागि कक्षा, प्रशासन भवन, पुस्तकालय र खेलमैदानमा उपयोग भइरहेको उल्लेख छ । साथै आगामी आर्थिक वर्षभित्र प्राविधिक कक्षासमेत सञ्चालनको तयारीमा रहेको पत्रमा लेखिएको छ । १५ सदस्यीय सञ्चालक समितिको बैठकमा ६ जना भने अनुपस्थित थिए । सञ्चालक समितिका सदस्य रामचन्द्र उपाध्यायले आफू त्यो दिन अव्यवस्थित बसोबास समस्या समाधानबारे नगरपालिकाको कार्यक्रममा सहभागी भएको प्रतिक्रिया दिए । ‘म त्यो दिन बैठकमा थिइन,’ उनले थपे, के–के निर्णय भएको छ, थाहाँ भएन ।’

सञ्चालक समितिका अर्का सदस्य दुर्गाकुमार श्रेष्ठले क्याम्पसको ४ वर्षदेखिको नतिजा नगरका अरु निजी क्याम्पसभन्दा राम्रो रहेको बताए । उनले यहि क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गरि अघि बढ्नुपर्नेमा जोड दिए । यसअघि पनि प्राडा थापाले विश्वविद्यालय बनाउने विषयप्रति असहमति जनाउँदै आएका थिए । उनले नेपालमा नयाँ विश्वविद्यालय स्थापना हुनुभन्दा पनि भएकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

Advertisement

गण्डकी प्रदेश सरकारले प्राडा गणेशमान गुरुङको संयोजकत्वमा विश्वविद्यालय स्थापना अध्ययन गर्न गठित कार्यदलले तनहुँको बेलचौतारामा अवस्थित भानुभक्त बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन सिफारिस गरेको थियो ।

सोही आधारमा प्रदेश सरकारको १३ पुस २०७५ को मन्त्रिपरिषद् बैठकले बेलचौतारामा विश्वविद्यालय खोल्न जग्गा उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । बेलचौतारास्थित भानुभक्त क्याम्पस र सँगै रहेको सार्वजनिक जग्गा गरी कुल ४ सय ७५ रोपनी जग्गा हस्तान्तरण गर्न प्रदेशले संघीय सरकारसँग माग गरेको थियो । क्याम्पसको तलपट्टि सेती किनारमा सामुदायिक वन उपभोक्ता समितिको करिव ३ सय रोपनी जमीन रहेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन गरेको छ । विश्वविद्यालय स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले गत वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

विसं २०४४ सालमा स्थापित सो क्याम्पसमा स्नातक तहमा हाल ४ सय ५० विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ । स्नातक तहमा वाणिज्य र शिक्षा संकायमा अध्यापन भइरहेको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए । स्नाकोत्तर तहमा भने विद्यार्थी भर्ना नभएका कारण अध्यापन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया