१ वर्षभित्र पुम्दीभुम्दीका सबै घरमा धारा

समाधान संवाददाता २०७६ भदौ २२ गते १२:४२

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले आगामी १ वर्षमा प्रदेशका सबै जनताको घर घरमा धारा पुर्‍याउने बताएका छन् । पोखरा २२ मा रहेको पुम्दीभुम्दी खानेपानी तथा सरसफाइ आयोजनाको नवौं साधारणमा मन्त्री बस्नेतले प्रदेश सरकारले अबको १ वर्षमा सबै नागरिकको घरमा पानी पुर्‍याउने जनाएका हुन् ।

प्रदेश सरकारले पहिलो मन्त्री परिषदको बैठकले नै २ वर्षभित्र प्रदेशमा आधारभूत खानेपानीको व्यवस्था मिलाउने निर्णय गरेको स्मरण गर्दै सरकारका प्रवक्तासमेत रहेका बस्नेतले त्यसलाई कान्वयन गर्न सरकार लागेको उल्लेख गरे । कृषि फार्ममा युवा आकर्षण गरी कृषिमा अनुदान दिने र विदेशमा भएका युवालाई स्वदेशमा फर्कायर गाउँ ठाउँमा उत्पादन गर्नेतर्फ प्रोत्साहन गर्ने रणनीति बनाइने जनाए ।

Advertisement

पुम्दीभुम्दीको सडक निर्माण गर्ने जिम्मा प्रदेश सरकारले लिने उनको भनाइ छ । बस्नेतले भने, ‘प्रदेशका ३६ वटा निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण गर्ने योजना बनाएको छ, यस क्षेत्रका लागि हामीले सडकमा लगानी गर्छौं ।’ विकासको मोडल यस्तो हुन्छ भनेर देखाउने गरी गुणस्तरीय सडक निर्माणमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको मन्त्री बस्नेतले जनाए ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराल (जीवन) ले पुम्दीभुम्दीमा १ घर, १ धारा पु¥याउन बाँकी घरमा चाडै खानेपानीको सुविधा पुग्ने गरी काम गर्न आग्रह गरे । अर्का प्रदेशसभा सदस्य राजीव पहारीले वाँदरको समस्याले केही बस्ती नै खाली र जमिन बाँझो हुने अवस्थामा पुगेकाले यसको समाधान गर्न सरकारलाई आग्रह गरे ।

Advertisement

पोखरा २२ का अध्यक्ष मित्रलाल बरालले वडाको विकासका लागि महानगर र प्रदेश सरकारले पहल लिनुपर्नेमा जोड दिए । नेकपा पोखरा २२ अध्यक्ष चण्डीकाप्रसाद बरालले हाल जडान भएका धारामा करिब ९५ प्रतिशत उपभोक्ता सन्तुष्ट रहेको दाबी गरे । कांग्रेस पोखरा २२ सभापति देउकाजी गुरुङले तिलाहार तारेभिर सडक निर्माणमा भएको अवरोध हटाउन आग्रह गरे ।

कार्यक्रममा ठूलढुंगा खानेपानी योजना अध्यक्ष गोपीनाथ बराल, शुक्रराज माविका अध्यक्ष नरहरि बराल, विद्यालयका प्राचार्य नरनाथ बराल, कालाबाङ घरेडी होमस्टे अध्यक्ष प्रकाश गुरुङ, समाजसेवी बुद्धिमाया गुरुङ लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

पुम्दीभुम्दीमा १ घर १ धारा जडान अभियानमा सुरुदेखि हालसम्म महत्वपूर्ण सहयोग गर्ने प्राविधिक खडानन्द बराल र इन्जिनियर शिवहरि आचार्यलाई सम्मान गरिएको छ । पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीका मा हालसम्म ६८ प्रतिशत घरमा १ घर १ धारा जडान भएका छन् ।

तपाईको प्रतिक्रिया