ओली र मोदीले मंगलबार पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै

समाधान संवाददाता २०७६ भदौ २२ गते १५:२१

समाधान संवाददाता, काठमाडाैं

मङ्गलबारदेखि पाइपलाइनबाट नियमित रुपमा तेल आउने भएको छ । मङ्गलबार नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादबले जानकारी दिए ।

उनका अनुसार भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उद्घाटन गर्नेछन् भने अमलेखगञ्जमा निगमका कार्यकारी निर्देशकले डब्बा (भाँडो) थापेर उद्घाटन गर्नेछन् ।

Advertisement

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको प्रमुख यादबले जानकारी दिए । उनका अनुसार पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २० घण्टासम्म संचालन हुन सक्नेछ ।

दैनिक रूपमा ३० हजार किलोलिटर तेल पाइपबाट आउँछ । पाइपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाइने आयल निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

Advertisement

पौडेलका अनुसार पाइपबाट ल्याइएको तेल सुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ । पछि विस्तारै देशभर फैलाइने छ ।

अहिले २५ सय किलोलिटर तेल पाइपमा भरेर राखिएको छ । अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन् । ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन् ।

ती ट्याङ्कीमा तेल भरेर राखिएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ ।

मंगलबारदेखि पाइपलाइनबाट नियमित डिजल आउने भए पनि पेट्रोल आउन भने अझै करिब १ वर्ष लाग्ने यादवले जानकारी दिए । 

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५ किलोमिटर) नयाँ पाइपलाइन बिछ्याइएको हो । नयाँ पाइपलाइनमध्ये भारतमा ३२.२५ र नेपालमा ३७।२५ किलोमिटर पर्दछ । मोतिहारीबाट पटना झन्डै दुई सय किलोमिटर टाढा छ ।

परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले २ सय करोड (भारू) अनुदान दिएको छ। नेपाल तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया