बन्दै गरेकाे पर्यटन बसपार्ककाे काम २ सातादेखि ठप्प

समाधान संवाददाता २०७६ भदौ २४ गते १२:२९
dav

समाधान संवाददाता
पोखरा

पोखरामा बन्न लागेको पर्यटन बसपार्कको काम २ सातादेखि रोकिएको छ । राष्ट्र बैंकचोक नजिकै निर्माणाधीन बसपार्कको डिजाइनअनुसार काम हुँदा आफ्नो भवनको निकास बन्द हुने भन्दै स्थानीयबाट अवरोध भएको हो ।

पर्यटन विभागमार्फत आशिष÷सिएम÷मिसन जेभीले ठेक्का पाएको उक्त आयोजनाको २ सातायता काम प्रभावित बन्दा समयमै सकिनेमा समस्या देखिएको छ । निर्माण जिम्मा पाएपछि जेठदेखि काम थालेको कम्पनीले हाल ८ इन्च स्ल्याब ढलान गरिसकेको छ । तर डिजाइनमा उल्लेख भएअनुसार ढलानको काम गरिरहँदा सामुन्नेमा रहेको निर्माण व्यवसायी संघ कास्कीले आफ्नो निकास रोकिने भन्दै काममा अवरोध सिर्जना गरेको निर्माण पक्षले बताएको छ ।

Advertisement

निर्माण कम्पनीका प्रोजेक्ट डाइरेक्टर इन्जिनियर असीम बरालले विभिन्न बहाना देखाएर आयोजना प्रभावित बनाउने काम भएको जानकारी दिए । ‘बसपार्कको उत्तरतर्फ २० फुटको बाटो छोड्नुपर्छ भन्ने अडान उहाँहरुको छ,’ उनले भने, ‘डिजाइनमा नभएको कुरा हामीले गर्न सक्दैनौं ।’

बसपार्कको डिजाइन अनुसार बीचमा आइल्यान्ड राखेर दायाँबायाँ वारपार हुने गरी बसहरु पार्किङ गर्न मिल्ने स्ल्याब बनाउने काम भइरहेको थियो । उक्त स्ल्याब निर्माण गर्ने क्रममा संघले आफ्नो भवन अगाडि अवरोध सिर्जना गरेको उनको भनाइ छ । ‘उहाँहरुले भनेअनुसार गर्ने हो भने बसपार्कको औचित्य नै हुँदैन । दुवैतर्फ बस पार्किङ गर्न मिल्ने गरी डिजाइन छ । डिजाइन अनुसार काम भएन भने पर्याप्त बस अटाउन सक्दैनन् र अन्ततः बसपार्कको योजना नै असफल हुन्छ,’ उनले भने ।

Advertisement

पर्यटकीय नगरीमा थालिएको महत्वपूर्ण योजनाको कामलाई समयअगावै सम्पन्न गर्न निर्माण कम्पनीले रफ्तारमा काम गरिरहेको उनले सुनाए । बसपार्कको काम थालेसँगै पर्यटक बोक्ने बस अहिले नाजुक अवस्थामा सञ्चालनमा आइरहेको छ । गत फागनु २८ गते पर्यटन विभागसँग सम्झौता गरेको कम्पनीले २०७७ असोज २ मा सम्पन्न गर्नुपर्ने हुन्छ । काम थालेको ८ महिनामा भवन बाहेक संरचना निर्माण सम्पन्न गरी बस सञ्चालन योग्य बनाउने प्रयास अवरोधकै कारण असफल हुन लागेको इन्जिनियर बरालले चिन्ता व्यक्त गरे । ७ हजार ९ सय वर्गमिटरमा बन्ने बसपार्कको लागत ७ करोड ५० लाख रुपैयाँ छ ।

डिजाइन नै परिवर्तन गर्न चलखेल
निर्माण व्यवसायी संघको भवनमा व्यापारिक प्रयोजनका लागि केही सटर भाडामा चलेका छन् । आफ्नै कार्यालयसमेत सोही भवनबाट सञ्चालनमा आएको छ । उक्त भवनका लागि छेउपट्टिबाट सिधैं राष्ट्रबैंकको मुख्य गेटअगाडि निस्कन सकिन्छ । तर पर्यटन बसपार्कको निश्चित डिजाइन अनुसार नै काम भए भवनले हाल पाइरहेको सार्वजनिक जग्गादेखिको निकास रोकिने छ ।

बसपार्कको डिजाइन अनुसार काम रोक्न संघले भरपूर शक्तिको प्रयोग गर्न खोजेको देखिएको छ । पर्यटन विभागमा बसपार्कको योजना नै असफल बनाउने गरी डिजाइन परिवर्तन गराउन लागि परेको देखिएको हो । डिजाइन परिवर्तन गर्न नहुने भन्दै स्थानीयस्तरबाट पोखरा महानगरपालिकाले विभागलाई पत्र पठाएको छ । भदौ १७ गते महानगरको योजना शाखाले पत्र पठाएको हो ।

‘पोखरा पर्यटन बसपार्कको डिजाइन परिवर्तन सम्बन्धमा कुनै पनि काम र डिजाइन परिवर्तन नहुने गरी बसपार्क निर्माण प्रक्रिया अघि बढाउनु हुन,’ पत्रमा उल्लेख छ ।

डिजाइन परिवर्तन भएमा पोखराकै नमुना बसपार्कको योजना सम्पन्न नहुने निर्माण पक्षको चिन्ता छ । संघका कार्यवाहक अध्यक्ष रामराज अधिकारीलाई यस विषयमा सम्पर्क गर्न खोज्दा उपलब्ध भएनन् ।

तपाईको प्रतिक्रिया