मध्य मुस्ताङमा ‘र्याफ्टिङ’ सफल

मध्यमुस्ताङमा गरिएको र्याफ्टिङ सफल परीक्षण सुरु हुनुअघि सहभागीहरु । तस्बिरः समाधान
एसके थकाली
जोमसोम
प्रशिक्षक चन्द्र आलेसहितको टोलीले मुस्ताङमा र्याफ्टिङको सफल परीक्षण गरेका छन् । घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको संयुक्त आयोजनामा र्याफ्टिङ परीक्षण गरिएको हो ।
परीक्षणको जिम्मा इनिसिएटिभ आउटडोर प्रालिले लिएको हो । र्याफ्टिङमा उक्त कम्पनीका ७ जना गाइड टोली खटिएका थिए । आइतबार र सोमबार २ दिन मध्यमुस्ताङ क्षेत्रको कालीगण्डकी नदीमा र्याफ्टिङ परीक्षण तथा प्राविधिक अध्ययन भएको हो ।
आइतबार बिहान र दिउँसो गरी २ पटक र्याफ्टिङ प्रशिक्षण गरिएको हो । सुरुआती चरणमा चन्द्र आले र उनका गाइडले कालीगण्डकीमा र्याफ्टिङको प्रारम्भिक परीक्षण गरेका हुन् । परीक्षण टोलीले करिब २५ किलोमिटर दूरी २ घन्टा ३० मिनेटमा पार गरे । परीक्षणको दोस्रो र तेस्रो चरणमा स्थानीय जनप्रतिनिधि, कर्मचारी र स्थानीयले र्याफ्टिङ गरे ।
सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ प्रवद्र्धन तथा कालीगण्डकीमा र्याफ्टिङको सम्भाव्यता पहिचान गरी नयाँ पर्यटकीय गन्तव्य विकास गर्न वारागुङ र घरपझोङ गाउँपालिकाले र्याफ्टिङको पहल गरेका हुन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र छुसाङ गेटदेखि घरपझोङ गाउँपालिकाको जोमसोम पक्की पुलसम्म र्याफ्टिङ गरिएको हो । समुन्द्री सतहदेखि करिब ३ हजार मिटर उचाइको हिमाली क्षेत्रमा भएको र्याफ्टिङले पर्यटकलाई र्याफ्टिङ गर्न उत्साही तुल्याउने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले दाबी गरे । उनले र्याफ्टिङ कुनै रहर र कहर नभई विशुद्ध पर्यटन प्रवद्र्धनका लागि भएको उल्लेख गरे ।
घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले २ गाउँपालिकाको संयुक्त पहलमा र्याफ्टिङ सम्भाव्यता अध्ययन भएको बताइन् । उनले कालीगण्डकी नदीमा र्याफ्टिङको सफल परीक्षणले भावी दिनमा अन्य स्थानीय तहसँग सहकार्य गरी अघि बढ्ने बाटो खुलेको उल्लेख गरिन् । र्याफ्टिङ सम्भाव्यताका लागि २ स्थानीय तहले यसअघि नै बजेट विनियोजन गरे अनुसार कार्यक्रम भएको उनको भनाइ छ ।
मध्यमुस्ताङ क्षेत्रमा २ दिनसम्म भएको र्याफ्टिङ परीक्षणपछि वरिष्ठ प्रशिक्षक चन्द्र आलेले मध्यमुस्ताङ क्षेत्रमा र्याफ्टिङ सम्भावना अधिक रहेको बताए । सिजनेबल बेस बनाएर उपल्लो मुस्ताङ र राउन्ड अन्नपूर्ण गरी थोरङलापास गरेका विदेशी पर्यटकलाई र्याफ्टिङ गराउन सकिने आलेले सुझाए ।
र्याफ्टिङका लागि कालीगण्डकी नदीमा सामान्य पूर्वाधार सुधार गर्ने र नदीको पर्यावरणीय संरचनालाई चुस्त राख्न आवश्यक भएको उनको भनाइ छ । उनका अनुसार मुस्ताङ गेटदेखि जोमसोममात्र नभई थासाङको लेतेसम्म मध्यान्ह १२ बजेसम्म र्याफ्टिङ गर्न उपयुक्त समय हो ।
सन् १९९० देखि र्याफ्टिङ गाइडको काम थालेका प्रशिक्षक चन्द्र आलेले सन् २००३ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त र्याफ्टिङ कम्पनी दर्ता गराएका हुन् । उनले नेपालका करिब ६ हजार १ सय खोलामध्ये २० वटा खोलामा र्याफ्टिङ गराउने गर्छन् । उनले कायाकिङ, र्याफ्टिङ, रक क्लाइमिङ र माउन्टेनेरिङ प्रशिक्षण दिने गर्छन् ।
तपाईको प्रतिक्रिया