डेंगुको प्रकोप र मेयरको विदेश यात्रा

समाधान संवाददाता २०७६ भदौ २४ गते १४:५०

झलकराज पौडेल

डेंगु र शापु रोगको प्रकोपले यति खेर पोखराका नागरिकलाई त्रासादी बनाइरहेको छ । साउन १६ गते १ जना बिरामीमा देखिएको डेंगु रोगको संक्रमण दिन प्रतिदिन नियन्त्रणमा आउनुको सट्टा महामारीको रुप लिइरहेको छ । हालसम्म उक्त रोगबाट सक्रमितको संख्या ८ सय हाराहारीमा पुगेको छ । यसो त उत्तरदायी निकाय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सक्रियतामा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गर्नुका साथै केही निरोधात्मक, प्रवर्धनात्मक तथा उपचारात्मक कार्यक्रमलाई पनि निरन्तरता दिइरहेकै देखिन्छ । तर सवाल उठ्छ, उल्लेखित कार्यक्रमको प्रभावकारिताको र तत् तत् जिम्मेवार निकायका पदाधिकारीको उत्तरदायित्व र यसप्रतिको संवेदनशीलताको ।

पोखराका मेयर साबको वैदेशिक भ्रमणप्रतिको मोह शीर्षकमा विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालले आफ्नो समाचार बनाइरहेका छन् । चीनबाट फर्केको भोलिपल्टै पुनः दोस्रो पटक दक्षिण कोरिया गएको सन्दर्भले सर्वत्र चासो बढाएको छ । मेयर मानबहादुर जि.सी. पोखराको मेयरको कूर्चीमा पदासीन पश्चात्को नवौं भ्रमणको रुपमा यो भ्रमण रहेको छ । यसभन्दा अगाडि २ पटक चीन, बेलायत, स्विजरल्याण्ड, जापान, श्रीलंका र ताइवान गइसकेका छन् ।

Advertisement

पोखरेली बासिन्दाले ठूलो अपेक्षाका साथ चुनेर पठाएका मेयर साबलाई मेयरको कूर्चीमा देख्न बिरलै पाउँछन् र वैदेशिक भ्रमणमा हुनुहुन्छ भन्ने जवाफ सुन्दा समेत आजित भइसकेका छन् । यसले सोच्न बाध्य पार्छ, किन जनप्रतिनिधिमा वैदेशिक भ्रमणप्रतिको मोह तीव्र छ, त्यसमाथि पनि दोहो¥याएर तेहे¥याएर एउटै देशमा । के उद्देश्य लिएर जान्छन् र यतिका भ्रमणको लाभ मेयर साबलाई मात्र भएको छ या समग्र पोखरेलीवासीलाई ? ती भ्रमणमा लाग्ने वित्तिय व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाको हो या व्यक्तिगत या अन्य कुनै निकायको प्रायोजन ? त्यो सन्दर्भ पनि समग्र पोखरेलीवासीको चासो नहोला भन्न सकिदैन ।

पोखरामा डेंगु रोग संक्रमणका बिरामी विगतका वर्षमा पनि छिटपुट रुपमा नदेखिएको होइन । यद्दपि यति ठूलो महामारीको रुपमा फैलिएको यो पहिलो पटक हो । यो पोखरेलीको लागि एउटा विपद एवं संकटकै रुपमा रहेको मानिन्छ । जुनसुकै संकटको कुशलता एवं बुद्धिमतापूर्वक व्यवस्थापन गर्नु स्थानीय सरकारको दायित्व र स्थानीय जनप्रतिनिधिको महत्वपूर्ण जिम्मेवारीको रुपमा रहन्छ । स्थानीय सरकारले संघीय तथा प्रदेश सरकार लगायत अन्य सरोकारवाला निकायसँगको समन्व र सहकार्यबाट यसको जिम्मेवारी ढंगले व्यवस्थापन गर्नु अनिवार्यता हुन आउँछ । तर बिडम्बना पोखरेली जनताका अभिभावकका रुपमा रहेका पोखरा महानगरपालिकाका मेयर साब समग्र पोखरा र पोखरेलीजनप्रति शुन्य संवेदनशील रहेको कुरा यस दृष्टान्तबाट प्रतित हुन आउँछ ।

Advertisement

कुनैपनि परिवारमा व्यवधान आइपरेमा वा परिवारको एउटा सदस्यमा कुनै किसिमको विचलन पैदा भएमा त्यसको समाधानको निम्ति अभिभावकले जुनसुकै चुनौतिसँग पौठाजोरी खेलेर पनि आफ्नो कर्तव्य गरिरहेको हुन्छ । यदि त्यसो गरेको पाइएन भने त्यो अभिभावक वास्तविक अभिभावक होइन । जसले आफ्नो अभिभावकत्व वहन नगरी स्वार्थ मनसायबाट प्रेरित रहेको मानिन्छ ।

२०७२ सालमा तत्कालीन सरकार प्रमुख शुशिल कोइराला इन्डोनेसियाको जाकर्ता र बाङडुङमा आयोजित एसियाली–अफ्रिकी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुँदै गर्दा नेपालमा आम विनासकारी भुकम्प गयो । सो जानकारी पश्चात् आफ्नो स्वास्थ्य परीक्षण लगायत अन्य भ्रमणका कार्यक्रम थाँती राखी स्वदेश फिर्ता भई उद्धार तथा राहतका कार्यमा लाग्ने क्रममा भनेको एउटा वाक्यांश ‘भूकम्पले गरेको विनासको जानकारी पाउने बित्तिकै मलाई देश र जनताको चिन्ताले विह्वल बनायो । देशको स्वास्थ्यका अगाडि मेरो व्यक्तिगत स्वास्थ्य गौण थियो । तत्कालै मैले आफ्नो स्वास्थ्य परीक्षण सहित सम्पूर्ण कार्यक्रम रद्द गरी स्वदेश फर्कने निर्णय लिएँ’ लाई यस सन्दर्भमा स्मरणयोग्य ठानिन्छ ।

विपद्, विपद् नै हो सानो होस् या ठूलो । तर बिडम्बना नै भन्नुपर्छ हाम्रा स्थानीय सरकार प्रमुख स्थानीय जनताका अभिभावकका रुपमा रहेका मेयर साबमा त्यो खालको भावना किन पलाउन नसकेको होला ? परिस्थितिको गाम्भिर्यता र संवेदनशिलता पहिचान गरी अगाडि बढ्ने मनोवृत्ति उहाँमा देखिएन । उहाँलाई त्यो हैसियतमा पु¥याउने तिनै नागरिक र स्वयं बिराजमान रहने समग्र क्षेत्र आज डेंगु र शापु रोगको महामारीबाट छट्पटाइरहेको अवस्थामा चीनबाट फर्केको भोलिपल्टै दक्षिण कोरियातर्फको बाटो तताउनु निजको एउटा संवेदनहीन र गैरजिम्मेवारीपन प्रस्ट बुझ्न सकिन्छ । या त त्यो महामारीको शिकार आफू पनि हुन सकिने भन्ने चिन्ताले सेफ ल्याण्डिङको माध्यम तय गर्नु भएको हो नागरिक सोच्न बाध्य छन् ।

पोखरा महानगरपालिकाभित्र यसका अलावा थुप्रै समस्या विकरालको रुपमा तेर्सिएका छन् । विभिन्न मुख्य स्थानमा जिर्ण अवस्थामा रहेका सडकका खाल्डाखुल्डी पुर्न नसकेका कारण कयौं सडक दुर्घटना भइरहेका छन् । केही दिन अगाडि लेकसाइडको सडकमा गुडिरहेको स्कूटर खाल्डामा परी उछिट्टदाँ स्कूटरमा सवार १ युवतीको ज्यान गयो । यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो ।

त्यस्तै बसपार्कको अवस्था, पार्किंङको अव्यवस्था, महानगरभित्रका प्राकृतिक, धार्मिक तथा साँस्कृतिक सम्पदाको मापदण्ड निर्धारण तथा संरक्षण लगायतका यावत् समस्या विद्यमान छन् । जे जस्ता प्रकृतिका भएपनि हाललाई यी गौण संवेदनशिल मानौंला ल । तर पोखरा महानगरपालिका र त्यहाँका बासिन्दाका कठिनाई दिनप्रतिदिन बढ्दै जाने, मेयर साब सँधैजसो वैदेशिक घुमफिरमै रमाइरहने र त्यतै टहलिने प्रवृत्तिले पोखरली जनतामाझ देखाइएको स्मार्ट सिटीको परिकल्पना केवल सपनामा मात्र सीमित रहनेछ भन्ने अनुमान लगाउन सकिन्छ ।

संघीयता कार्यान्वयनमा स्थानीय सरकारको गहन भूमिका हुन्छ । स्थानीय जनप्रतिनिधि स्थानीय स्तरमै नागरिकसँगै रहेर नागरिकको सर्वोत्तम हित अनुरुपको सेवा प्रवाहमा तल्लिन रहनुपर्ने मान्यता संघीय शासन व्यवस्थाको हो । नागरिकको खुसी र सन्तुष्टी संघीयताको सौन्दर्य हो । स्थानीय जनप्रतिनिधि घर दैलोमा पुगेर नागरिकको दुःख, पीडामा सहयोग र सहानुभूति दिने तथा सुख र खुसीमा साथ दिन सके मात्र नागरिकले वास्तविक रुपमा संघीयताको लाभांश प्राप्तिको अनुभूति गर्नेछन् । नेपालको संविधानले पनि सोही अनुरुपको संघियता परिकल्पना गरेको यथार्थ हो । तर हाम्रा निर्वाचित जनप्रतिनिधिमा त्यो किसिमको व्यवहार जनताले कुनैपनि कोणबाट प्राप्त गर्न सकेका छैनन् । चुनावताका गरेका आफ्ना बाचालाई तिलाञ्जली दिएर राज्य शक्तिको आडमा सार्वजनिक स्रोतसाधनलाई आफ्नो निजी स्वार्थको लागि मात्र उपयोग गरिरहेको र आआफ्ना सेवा सुविधामा मात्र केन्द्रित रहेको भन्ने सर्वव्यापक जनगुनासोलाई मेयरका यी र यस्ता खालका व्यवहारले थप मलजल अवश्य गर्नेछ ।

निर्वाचित भएर आएको समयदेखि वैदेशिक भ्रमणको लागि लर्को लागेको जनप्रतिनिधिको लस्कर झन तीव्र रुपमा बढ्दै गइरहेको अवस्था छ । थाहा छैन, यसको अन्त्य कहिले हुने हो । जनप्रतिनिधि वैदेशिक भ्रमणमा जाने भनेको मुख्यगरी विकसित राष्ट्रका विकासका नयाँ नयाँ मोडेल, ज्ञान, सीप, अनुभव र प्रविधि ग्रहण गर्नका लागि हो । सोही मोडेल अनुसार आफ्नो राष्ट्र र स्थानमा अनुकरण गर्दै नवीन प्रविधियुक्त उपकरणको प्रयोगमार्फत् विकास निर्माणको कार्य सञ्चालन गर्नु र उपयुक्त प्रविधि हस्तान्तरणमा सघाउ पु¥याउनु वान्छनीय हुन्छ । न कि विदेशी लक्जरियस् जीवनमा रुमल्लिने, टहलिने र लहडिनको लागि । मेयर साबको यतिका धेरैको विदेश भ्रमणलाई अब जनताले कसरी लिएका छन्, सोको यथार्थ जानकारी लिने जिम्मा स्वयं मेयर साबलाई नै रहोस् ।

जनप्रतिनिधि वैदेशिक भ्रमणमा लालयित हुने संस्कार विगतका वर्षदेखि नै नभएको भने होइन । तर भर्खरै संघीयताको टुसा पलाउँदै गर्दा आफ्नो दिलोज्यान लगाएर सरोकारवाला पक्षको साझेदारी र समन्वयबाट मलजल गरी हुर्काउँदै सफल कार्यान्वयन गर्नुपर्ने समय हो यो । यद्यपि संघीयता कार्यान्वयनका वाहकबाट नै उक्त टुसालाई हुर्काउन नपाउँदै निमोठ्ने गरी आफ्नो निहित स्वार्थ लाभमा मात्र केन्द्रित रहेमा निहत्था नागरिकका मानसपटलमा यो संघीयताको छाप कस्तो रहला ? सोच्नुपर्ने बेला आएको छ ।

फेरी मेयर साबको ९÷९ पटकसम्मको भ्रमणले पोखराको विकासको मोडेलमा के कति परिवर्तन ग¥यो ? साविकको उपमहानगरपालिकाको विकासे तौरतरिका र वर्तमानको महानगरपालिकाको शैलीमा कुन् चाँहि परिवर्तनको अनुभूति गर्न पाएका छन् जनताले ? डेंगु र शापु रोगको महामारीबाट प्रताडित पोखरेलीले सकी नसकी अस्पतालको शैयाबाट यस घडीमा पनि बाध्य भएर यहाँको वैदेशिक यात्राको सफलता र सुभेच्छाको कामना गरे । त्यस बापत मेयर साबले जनतालाई के चाँहि उपहार लिएर आउँदै हुनुहुन्छ र जनताले विपद्को क्षणमा पनि सुहानुभूति गर्दै समृद्धिको श्वास फेर्ने अवसर प्राप्त गर्नेछन् ? सो कुरा हेर्न बाँकी नै छ ।

अन्त्यमा, जुनैसुकै भ्रमणको पनि निश्चित उद्देश्य हुन्छ । बिना उद्देश्य लहडको भरमा जो कोही पनि भ्रमणमा सरिक हुँदैन र हुनुहुँदैन पनि । यहाँ जस्तो गरिमामय र जिम्मेवार निकायमा पदासीन व्यक्तिको भ्रमण पनि निश्चित उद्देश्यानुरुप हुनेछ र त्यो पोखरेली जनताको हितको निमित्त नै होस्, जनता अपेक्षा गर्छन् । यहाँका विगतका भ्रमण जे जस्ता रहेपनि यसपालीको भ्रमण किमार्थ फलदायी रहोस् । गुनासो भ्रमणको प्रभावकारिता र संवेदनशिलताको मात्र हो ।

चर्चित नेपाली उखान “मौकामा हिरा फोड्नु, बेमौकामा कौडी नछोड्नु“ लाई आत्मसात् गर्दै समय, परिस्थिति र संवेदनशिलतालाई मध्यनजर गर्दै यहाँले चुनावको बेलामा गरेका बाचा पुरा गर्ने इच्छाशक्ति प्राप्त होस् । सम्पूर्ण पोखरेली जनतालाई यी र यस्ता किसिमका प्रकोपबाट उन्मुक्ति दिनको लागि यहाँको तर्फबाट महत्वपूर्ण पहलकदमी होस् ।

जनताको अधिकाधिक मन जित्ने गरी नेपालको उत्कृष्ट र वास्तविक स्मार्ट सिटीको लक्ष्य पूरा गरेको महानगरको रुपमा विकास होस् । सम्पूर्ण पोखरेलीवासीको हृदयमा बस्नेगरी यहाँको रणनीति अगाडी बढोस् । संघीयताको सकारात्मक परिणाम दिनेगरी तपाईंको कार्यकाल सफल रहोस् ।

तपाईको प्रतिक्रिया