डेंगुको चुनौती चुलिँदाे, पोखरामा १११७ डेंगु बिरामी

समाधान संवाददाता २०७६ भदौ २५ गते १२:२६

समाधान संवाददाता
पोखरा

पोखरामा डेंगुका बिरामी १ हजार नाघेका छन् । साउन १६ गते पहिलोपटक पोखरा ८ शिवालयचोकबाट १ जनामा देखिएको डेंगु मंगलबारसम्म १ हजार १ सय १७ जनामा देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले बिरामीको पोखराकै सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

सबैभन्दा धेरै पोखराको ९ नम्बर वडामा डेंगुका बिरामी देखिएका छन् । कार्यालयको अन्तिम रिर्पोट अनुसार उक्त वडामा २ सय ७० जना डेंगुबाट संक्रमित छन् । वडा ८ उस्तै जोखिममा छ । उक्त वडामा २ सय ३१ जनामा डेंगु देखिएको छ ।

Advertisement

डेंगुबाट संक्रमितमध्ये सबैभन्दा धेरै गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचाररत छन् । जिएमसीमा मात्रै ३ सय ८९ जनाले उपचार गराइरहेको बरालले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७९, फेवासिटीमा १ सय ८७, फिस्टेलमा १ सय २५, मनिपालमा ७४ जनाले उपचार गराइरहेको उनले बताए । अन्य निजी र सामुदायिक अस्पतालमा समेत बिरामीको चाप थपिँदै गएको छ ।

खोज्ने र नष्ट गर्ने अभियान निरन्तर चलाइरहेको भएपनि दिनप्रतिदिन डेंगुका बिरामी थपिँदै जाँदा नियन्त्रणमै चुनौती चुलिएको छ । अस्पतालमा बिरामीको चाप समेत बढ्दा उपचारमा समेत समस्या देखिने निश्चित प्रायः छ ।

Advertisement

कार्यालयले सम्पूर्ण स्रोत साधन लगाएर डेंगु नियन्त्रणमा प्रयास गरिरहेको भेक्टर निरीक्षक यम बराल बताउँछन् । ‘डेंगु नियन्त्रणकै लागि कार्यालयमा १ रुपैयाँ बजेट समेत छैन्,’ उनले भने, ‘तर कार्यालयका तर्फबाट व्यवस्थापन गर्दै अहिलेसम्म काम चलाइरहेका छौं ।’

गण्डकी प्रदेश सरकारले २१ लाख रुपैयाँ विनियोजन गरेको भए पनि प्रक्रियागत रुपमा आइपुग्न बिलम्ब भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ मेडिकल अफिसर डा. भोजगार गौतमले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डेंगु परीक्षण किट अभावमा बिरामीले निजी क्लिनिक र अस्पतालमा मँहगो परीक्षण गरिरहनु परेको छ । प्रदेशको २१ लाख बजेटमध्ये ५ लाख रुपैयाँ किट खरिदका लागि प्रस्ताव गरिएको भए पनि हालसम्म खरिद प्रक्रियामै समय लागिरहेको डा. गौतमले बताए ।

‘बजारमा किटको माग अत्यधिक भएकाले पैसा भए पनि किट पाइहाल्ने अवस्था देखिएको छैन्,’ उनले भने, ‘अहिलेसम्म म्यानेज भइरहेको छ । खरिद प्रक्रिया मार्फत ५ लाख रुपैयाँ बराबरको किट प्रदेशमा आउँछ ।’

निजी क्लिनिक तथा अस्पतालले किट अभावको बहानामा बिरामीबाट १ हजारदेखि माथिसम्म असुल्दै आएका छन् । गत वर्षसम्म सरकारले निशुल्क उपलब्ध गराउँदै आएको उक्त किट यसवर्ष उपलब्ध गराएको छैन ।

प्रयोगशालाबाट रक्त परीक्षण गराउँदा रिपोर्ट आइपुग्न समय लाग्ने र बिरामी बढी हतोत्साही हुने हुँदा किट सरल माध्यमको रुपमा प्रयोगमा आएको थियो । प्रदेशकै ठूलो गण्डकी अस्पतालमा किट अभाव हुँदा उपचारमा समेत समस्या भइरहेको चिकित्सकहरुले गुनासो पोखेका छन्

तपाईको प्रतिक्रिया