‘समृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

समाधान संवाददाता २०७६ भदौ २५ गते १३:४२

कृष्ण न्यौपाने
दमौली

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समृद्ध मुलुक बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । दमौलीमा समाधान अस्पताल मंगलबार उद्घाटन गर्दै मन्त्री गुरुङले निजी क्षेत्र लगानी गर्न तयार नभए मुलुक नबन्ने बताए ।

निजी क्षेत्रको लगानीमा स्वास्थ्य संस्था खुल्नु खुसीको कुरा भएको बताउँदै मन्त्री गुरुङले स्वास्थ्य संस्थाले गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकाले सेवा प्रवाहका क्रममा गम्भीर हुनुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

Advertisement

मानिस स्वस्थ हुनुपर्ने र स्वस्थ मानिस भएमात्रै राष्ट्र निर्माणमा जोडिन सक्ने बताए । हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने बताउँदै मन्त्री गुरुङले प्रत्येक व्यक्तिमा देशको लागि केही गर्छु भन्ने भावना हुनुपर्ने बताए । ‘राज्यको एकल प्रयासले मात्रै समृद्ध मुलुक बन्न सक्दैन,’ मन्त्री गुरुङले भने, ‘निजी क्षेत्र, सहकारी क्षेत्र र आम सर्वसाधारणको प्रयासले मात्रै सुखी नेपाली, समृद्ध नेपाल बन्छ ।’

मन्त्री गुरुङले नकारात्मक सोचलाई त्याग्दै सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा लाग्नुपर्ने बेला आएको चर्चा गरे । ‘अबको समय नकारात्मक कुरा गरेर बिताउने समय होइन,’ गुरुङले भने, ‘हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्छ, त्यसको लागि प्रदेश सरकार सहयोग गर्न तयार छ ।’

Advertisement

मन्त्री गुरुङले मागेर देश बन्दैन भन्दै भएका स्रोत, साधन उपयोग गरी देश बनाउनुपर्नेमा जोड दिए । ७ प्रदेशमध्ये गण्डकी प्रदेश सबैभन्दा धनी प्रदेश हुने र त्यसका लागि प्रदेशमा भएका प्राकृतिक स्रोत, साधनलाई उपयोग गरिने उनले बताए ।

कार्यक्रममा संघीय सांसद कतिला खानले अस्पतालले गुणस्तरीय सेवा प्रवाह गरेर सर्वसाधारणको मन जित्नुपर्नेमा जोड दिइन् । दमौली आसपासका सर्वसाधारणलाई सुलभ मूल्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यसहित अस्पताल स्थापना गरिएको अस्पताल सञ्चालक समिति अध्यक्ष समिम खानले जानकारी दिए ।

अस्पताल शुभारम्भको अवसरमा स्वास्थ्य परीक्षणमा छुटसमेत दिइएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया