आरुखर्क गलेम भीरखण्डको ट्र्याक खुला

समाधान संवाददाता २०७६ भदौ २५ गते १३:४९

अर्जुन काफ्ले
स्याङजा

फेदीखोला गाउँपालिकाको सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक अन्तर्गत आरुखर्क गलेम भीरखण्डको ट्र्याक खोलिएको छ । गण्डकी प्रदेश सरकार, स्थानीय विकास पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको १ करोड २५ लाख २२ हजार ७ सय ८२ र जनस्तरमा संकलित ८० लाख १३ हजार १ सय ५१ समेत गरी २ करोड ५ लाख ४९ हजार १ सय १६ लागतमा ८ सय मिटर सडकको ट्रयाक खोलिएको हो ।

आरुखर्कतर्फको १ हजार ८ सय मिटरसमेत गरी भीर खण्डको २ हजार ६ सय मिटर ग्रामीण सडक निर्माण भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार ट्याक उद्घाटन गरे । उनले सडक स्तरोन्नतिको जिम्मा प्रदेश सरकारले लिने बताए । प्रदेशका धेरै ठाउँमा विकास निर्माणका लागि सरकारको मुख ताकिरहेको अवस्थामा यहाँका जनताले आफैं सहयोग संकलन गरेर नमुना काम गरेको उनले प्रतिक्रिया दिए । ‘ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण पञ्चासे जाने यो बाटोका लागि अब जनताले पैसा हाल्न पर्दैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेश सरकारले सबै खर्च व्यहोर्छ ।’

Advertisement

उनले गलेमका जनताको सबभन्दा प्रमुख आवश्यकता भीर खण्डको बाटो खोल्ने भएकाले जनस्तरबाट धेरै रकम उठेको उनको भनाइ छ । प्रदेश सरकारले सडकको मापदण्ड ७ मिटर कायम गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले ग्रामीण सडकको उकालो ओरालो लेबल मिलाउने र फराकिलो बनाइने आश्वासन दिए ।

फेदिखोला १ को रामकोटमा गण्डकी प्राविधिक महाविद्यालय चलाउने तयारी गरेको जानकारी दिदै उनले महाविद्यालयका लागि पहिलो चरणमा साढे ४ करोड विनियोजन गरेको उल्लेख गरे ।

Advertisement

प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीले स्थानीय जनताको एकता र सहकार्यले सफलतापूर्वक नमुना काम भएको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटी सदस्य शैलेन्द्र घिमिरेले मोटर बाटोबाट प्रत्यक्ष लाभान्वित हुने फेदीखोला ४ का गलेम, रापु र खामआहालेमा ३ सय घरधुरीका ७ मानिस रहेको बताए । गण्डकी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले बाटोको दीर्घकालीन रुपमा संरक्षण र उपयोगमा ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जा प्रमुख सीता सुन्दास, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, वडा नम्बर ४ का अध्यक्ष माधवप्रसाद शर्मा सुवेदी, सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक उपभोक्ता समिति अध्यक्ष दिलबहादुर गुरुङ, उपाध्यक्ष चूडामणि पौडेल, सचिवहरु कृष्णप्रसाद शर्मा पौडेल र विनोद पौडेल, अर्थ संकलन समिति संयोजक इन्द्रबहादुर गुरुङ, समितिका सल्लाहाकार संयोजक नारायण प्रसाद पौडेल लगायतले बोलका थिए ।

कार्यक्रममा बाराही कन्ट्रक्सनका प्रोपाइटर भीम केसी, डोजर अपरेटर दीपक नेपाली, सहायक अपरेटरहरु मिलन अधिकारी र पिताम्बर बेलवासेलाई बाटो उपभोक्ता समिति, आमा समूह र युवा क्लबहरूले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया