सुरम्य दृश्य हेर्न मानहुँकोट

समाधान संवाददाता २०७६ भदौ २६ गते १३:००

कृष्ण न्यौपाने
दमौली

पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको व्यास नगरपालिका ५ मानहुँकोटमा बुधबार सरसफाइ गरिएको छ । तनहुँ इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गरेको मिस क्विनका प्रतिस्पर्धीले मानहुँकोटमा सरसफाइ गरेका हुन् ।

व्यास नगरपालिका ५ को समन्वयमा गरिएको सरसफाइमा मिस क्विनका १५ भन्दा बढी प्रतिस्पर्धी सहभागी थिए । आयोजक संस्थाकी सरिता गरन्जा मगरले सहभागीले मानहुँकोटमा यत्रतत्र फालिएका बोत्तल, प्लास्टिक लगायत संकलन गरेको बताइन् । सरसफाइबाट १० बोरा फोहर संकलन भएको छ ।

Advertisement

व्यास ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोटमा आन्तरिक पर्यटक बढ्दै गएको बताए । श्रेष्ठले भने, ‘दिनप्रतिदिन पर्यटकको आगमन बढेसँगै फोहर पनि हुन थालेको छ । फोहर व्यवस्थित गर्नका लागि वडा कार्यालयमार्फत् पहल गर्छौ ।’ सरकारले घोषणा गरेको पर्यटन वर्षलाई मानहुँकोटले सहयोग पुर्‍याउने श्रेष्ठको भनाइ छ । मानहुँकोटमा पर्यटक आवागमन बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

मानहुँकोटसम्म पुग्ने बाटो कालोपत्रेका लागि काम भइरहेको छ भने मानहुँडाँडामा रेलिङ हालिएको छ । चापाघाटदेखि अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको छ । सवारी गुड्ने बाटोका अलवा पैदल हिँडेर मानहुँसम्म पुग्ने पर्यटकलाई लक्षित गरी अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको छ । त्यसलाई विस्तार गर्दै मानहुँसम्म पुर्‍याउने लक्ष्य छ ।

Advertisement

मानहुँकोटबाट दमौली बजार छर्लङ देखिन्छ । यसले गर्दा पछिल्लो समयमा यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ । मानहुँकोटबाट माछापुच्छ्रे, अन्नपुर्ण लगायतका हिमशृंखला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्य देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया